Comments Add Comment

पोखरा उद्योग बाणिज्य संघको चुनावी सरगर्मीः नेकपा भर्सेस कांग्रेस

१५ भदौ, पोखरा । पोखरा उद्योग वाणिज्य संघमा चरम राजनीतिकरण भएको छ । अघिल्लो चुनावबाट उद्योगी ब्यबसायीहरुको साझा संस्था पोखरा उद्योग वाणिज्य संघमा घुसेको राजनीति यसपटक नाङ्गो रुपमा देखिएको हो ।

अघिल्लो पटक अध्यक्षका चार प्रत्यासी कांग्रेसकै भएपनि कास्की कांग्रेसको नेतृत्वले देव क्षेत्रीलाई सघाउने निर्णय गरेपछि राजनीतिले प्रवेश पाएको थियो । उक्त रणनीति चुनावको नतिजासम्म पुग्दा फेल खायो ।

पार्टीको आधिकारिक उम्मेदवार क्षेत्रीको प्यानल अधिकांश पदमा पराजित भयो भने एमाले निकटका उद्योगी/व्यवसायीसँग संयुक्त प्यानल बनाएका विश्वशंकर पालिखेको प्यानल नेतृत्वसहित अधिकांश पदमा बिजयी भयो । त्यसबेला नारायण कोइराला र हिरा भट्टराईले स्वतन्त्र रुपमा प्यानल बनाएर चुनावमा उत्रेका थिए ।

यसपटक भने उद्योगी/व्यवसायीको संस्था पोखरा उद्योग वाणिज्य संघमा दलगत प्यानल बन्ने पक्का भएको छ ।

आगामी असोज ५ र ६ गते हुने संघको ३२ औं महाधिवेशनमा कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को छुट्टाछुट्टै प्यानल बन्ने भएको हो । प्यानल बनाउन पार्टीकै नेतृत्व लागि परेका छन् । नेतृत्वले प्यानल बनाइरहँदा नेतृत्वका आकांक्षी प्रजू र अधिकारी दुबैले घरदैलो गरिरहेका छन् ।

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कांग्रेसबाट रबिन्द्रबहादुर प्रजू उम्मेदवार बन्ने भएका छन् । उनको प्रतिद्वन्द्वीका रुपमा एमाले निकटबाट दामु अधिकारी उम्मेद्वार बन्ने पक्का भएको छ ।

कांग्रेसबाट उम्मेद्वार बन्न लागेका प्रजू संघका वर्तमान बरिष्ठ उपाध्यक्ष हुन् भने नेकपाबाट उम्मेद्वारी घोषणा गरेका अधिकारी वर्तमान महासचिव हुन् ।

पदीय हिसाबले बरिष्ठ उपाध्यक्ष अध्यक्षका स्वाभाविक दाबेदार मानिन्छ । त्यतिमात्र हैन उनी २ कार्यकाल सदस्य, उपमहासचिव, कोषाध्यक्ष, महासचिव हुँदै हाल बरिष्ठ उपाध्यक्ष छन् ।

यसअघिको चुनावमा पालिखे प्यानलबाट चुनाव जितेका उनीहरु अहिले नेतृत्वका लागि फरकफरक पार्टीको समर्थनमा मैदानमा उत्रिएका हुन् ।

त्यसबेला प्रजूलाई भावी अध्यक्षका रुपमा अघि सारेर प्यानल मिलाइएको थियो । तर, त्यसलगत्तै प्रजू स्थानीय सरकारका रुपमा लिइने वडाध्यक्षमा निर्वाचित भएपछि सहमति टुंगिएको भन्दै अधिकारीले अध्यक्षको रुपमा आफू लड्ने घोषणा गरेका हुन् ।

उसो त प्रजू आफैले पनि पोखरा महानगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा निर्वाचित भएपछि संघको अध्यक्षमा चुनाव नलड्ने सोंच बनाएका थिए ।

सोही सोंच अनुरुप उनले वडाध्यक्ष निर्वाचित भएपछि आफू निकटकालाई संघको आजिवन मानार्थ सदस्य लिनका लागि बरिष्ठ उपाध्यक्षमा राजीनामा नदिइ तटस्थ बस्ने बताएका थिए ।

संघको कार्य समितिमा १२ वर्ष बिताएकालाई आजिवन मानार्थ सदस्य दिइने भएकाले उनले यस्तो रणनीति लिएका थिए ।

यसबिचमा अघिल्लो पटक अध्यक्षमा चुनाव लडेका नारायण कोइराला अध्यक्षका लागि अघि बढेका थिए । तर, प्रजू अध्यक्ष नबन्दा उनी निकटका बरिष्ठ व्यक्तिहरु अर्को प्यानलमा जाने संकेत पाएपछि कांग्रेस कास्की नेतृत्वले प्रजूलाई अध्यक्ष बनाएर उनी निकटका बरिष्ठ व्यक्तिहरुलाई एउटै प्यानल बनाउन कम्मर कसेको हो । कांग्रेस सफल पनि भएको छ ।

अधिकारी भने नेकपाबाट सर्वसम्मत अध्यक्षका प्रत्यासी बनेका छन् । २ कार्यकाल निर्वाचित सदस्य, एक कार्यकाल मनोनित र एक कार्यकाल महासचिव गरी ४ कार्यकाल संघमा बिताएका अधिकारी आफै भने अघिल्लो पटकको बाचाले नैतिकतामा बाँधिएको महसुष गरेपनि बाचा गरिएकै व्यक्ति जनप्रतिनिधि भइसकेकाले अध्यक्षको दाबेदार बन्न कस्सिएको उनी निकट बताउँछन् ।

पदाधिकारीमा को-को भिड्दैछन् ?

संघको बरिष्ठ उपाध्यक्षमा प्रजू प्यानलबाट नारायण कोइराला र अधिकारी प्यानलबाट यदुनाथ अधिकारी भिड्ने भएका छन् ।

अघिल्लो पटक अध्यक्षमा चुनाव लडेका कोइराला यसपटक पनि अध्यक्षका दाबेदार थिए । उनले तयारी पनि सुरु गरेका थिए । तर, कांग्रेसले उनलाई हतार गर्दा अर्को पक्षले चुनाव जित्ने डर देखाउँदै एक ढिक्का भएर जानका लागि बरिष्ठ उपाध्यक्षमा कन्भिन्स गराएको हो ।

उसो त अधिकारी पनि बरिष्ठ उपाध्यक्षका दाबेदार थिएनन् । अधिकारी प्यानलबाट बरिष्ठ उपाध्यक्षमा चुनाव लड्ने भनिएका व्यक्ति प्रजू प्यानलमा छिरेपछि नेकपाले उनलाई उम्मेद्वार बनाएको हो ।

संघको उद्योगतर्फको उपाध्यक्षमा त्रिपक्षीय भिडन्त हुने भएको छ । प्रजू प्यानलबाट विन्दु कोइराला सुबेदी र अधिकारी प्यानलबाट गीता तिवारी गौतम तथा स्वतन्त्र रुपमा वसन्तराज गौतम आमनेसामने हुने भएका छन् ।

विन्दु वर्तमान उपाध्यक्ष नै हुन् भने गीता कार्यकारिणी सदस्य हुन् । बिस्कुट कम्पनीका सञ्चालक गौतम संघमा नयाँ अनुहार हुन् ।

वाणिज्यतर्फको उपाध्यक्षमा प्रजू प्यानलबाट पवन प्रजापति र अधिकारी प्यानलबाट देवकृष्ण काफ्ले भिड्ने भएका छन् । प्रजापति वर्तमान कोषाध्यक्ष हुन् भने काफ्ले कार्यकारिणी सदस्य हुन् ।

संघको महासचिवमा प्रजू प्यानलबाट अर्जुन पोखरेल र अधिकारी प्यानलबाट किसान सुनार चुनावमा होमिएका छन् ।

पोखरेल वर्तमान उपमहासचिव हुन् भने सुनार कार्यकारिणी सदस्य हुन् । अधिकारी प्यानलबाट पोखरेलले चुनाव लडे पोखरेललाई निःशर्त छाडेर अन्य पदमा जान सुनार राजि भएपनि पार्टीगत राजनीति घुसेर दुवै पक्षमा प्यानल बन्ने भएपछि यी दुई युवा व्यवसायी आमनेसामने भएका हुन् ।

संघको कोषाध्यक्षमा प्रजू प्यानलबाट सुरेन्द्रमान बिजुक्छे र अधिकारी प्यानलबाट प्रेम भुजेल चुनावी मैदानमा उत्रिने भएका छन् । दबै वर्तमान कार्यकारिणी सदस्य हुन् ।

उपमहासचिवमा भने दुवै प्यानलबाट महिला भिड्ने भएका छन् । उपमहासचिवमा प्रजू प्यानलबाट चिनु गुरुङ र अधिकारी प्यानलबाट सीता बराल उम्मेद्वार बन्न लागेका हुन् । व्यूटीपार्लरमा ख्याती कमाएकी चिनु र बुटिकबाट प्रसिद्धी कमाएकी सीता दुबै उद्योगी/ब्यबसायीबीच चर्चित छन् ।

सदस्यमा प्रजू प्यानलबाट केशवबहादुर खत्री, बलराम आचार्य, किर्तीबल्लभ त्रिपाठी, दिनेशचन्द्र बास्तोला, बुद्धिसागर गहतराज, मुना बास्तोला, बिनायक रञ्जित, रामेश्वर अधिकारी, हर्कबहादुर अधिकारी ‘मिरज’ र शोभा गौतम चुनाव लड्ने पक्कापक्की भएको श्रोतको दाबी छ ।

त्यस्तै अधिकारी प्यानलबाट डिबी भुजेल, तारानाथ ढुंगाना, सञ्चार उद्यमी तेजेन्द्र पौडेल, नगेन्द्रप्रसाद सुबेदी, कमलप्रसाद न्यौपाने, कमल बस्नेत, नारायण पौडेल, सोवित पौडेल, घनश्याम शर्मा, अनुपराज ढुंगेल, नगेन्द्रप्रसाद पोखरेल, गिरधारी शर्माको नाम चर्चामा छ ।

यसैगरी हरिहर सापकोटा, कालिदास पौडेल र कृष्ण रानाभाटले स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

यस्तो छ निर्वाचन कार्यतालिका

संघको आगामी असोज ५ र ६ गते हुने महाधिवेशनका लागि निर्वाचन तालिका सार्वजनिक भइसकेको छ ।

तालिका अनुसार मतदाता नामावली भदौ १९ गते पूर्वाहृन ११ बजे प्रकाशन गरिनेछ । भदौ २० गते पूर्वाहृन ११ बजेदेखी भदौ २१ गते दिउँसो १ बजेसम्म मतदाता नामावली उपर दाबी बिरोध, नाम सच्याउने र छुट भएका नाम थप्न निवेदन दिने समय तोकिएको छ ।

सोही दिन दिउँसो १ बजेदेखी अपराहृन ४ बजेसम्म मतदाता नामावली दाबी बिरोध उपर छानविन, नाम सच्याउने र छुट भएमा नाम थप गर्ने समय छुट्याइएको छ भने सोहि दिन अपराहृन ५ बजे अन्तिम नामावली प्रकाशन गरिने संघले जनाएको छ ।

तालिका अनुसार भदौ २४ गते पूर्वाहृन ११ बजेदेखी अपराहृन ५ बजेसम्म उम्मेद्वारी पदाधिकारीसहित सम्पूर्ण कार्यकारिणी सदस्यका लागि उम्मेद्वारी दिने उम्मेद्वारले मनोनन पत्र लिनसक्ने समय तोकिएको छ ।

भदौ २५ गते पूर्वाहृन ११ बजेदेखी अपराहृन ४ बजेसम्ममा अघिल्लो दिन लगेका मनोनयनपत्र दाखिला गर्ने समय दिइएको छ । सोहि दिन अपराहृन ५ बजे उम्मेद्वारहरुको नामावली प्रकाशन गरिनेछ ।

भदौ २६ गते पूर्वाहृन ११ बजेदेखी दिउँसो २ बजेसम्म उम्मेद्वारबिरुद्ध दाबी बिरोधको समय छुट्याइएको छ भने सोही दिन दिउँसो २ बजेदेखि अपराहृन ४ः३० बजेसम्म उम्मेद्वारबिरुद्ध परेका उजुरीको छानविन गर्ने र सोही दिन अपराहृन ५ बजे उम्मेद्वारहरुको नामावली प्रकाशन गरिनेछ ।

भदौ २७ गते पूर्वाहृन ११ बजेदेखी भदौ २८ गते दिउँसो १ बजेसम्म उम्मेद्वारी फिर्ता लिने समय दिइएको छ । सोही दिन अपराहृन ५ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिनेछ । भदौ ३० गते दिउँसो १ बजेदेखी उम्मेद्वार परिचय कार्यक्रम राखिनेछ ।

निर्वाचन तालिका अनुसार असोज ६ गते विहान ८ बजेदेखी अपराहृन ४ बजेसम्म मतदान समय तोकिएको छ । मतदानलगत्तै मतगणना सुरु गरिनेपनि संघले जनाएको छ ।

संघमा अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उद्योगतर्फको उपाध्यक्ष, वाणिज्यतर्फको उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र उपमहासचिव गरी ७ सदस्यीय पदाधिकारी हुनेछ । संघमा २१ जना सदस्य रहनेछन् ।

खुल्लातर्फ १०, वस्तुगत ४, २ कर्पोरेट र १ औद्योगिक सदस्य रहनेछन् । निवर्तमान अध्यक्षसहित २९ सदस्यीय कार्य समितिमा ४ सदस्य निर्वाचित अध्यक्षले मनोनित गर्ने प्रावधान रहेको छ ।

संघमा साधारण सदस्य ३ हजार १ सय ७७ जना, कर्पोरेट सदस्य ६८ जना, औद्योगिक सदस्य १ सय १० जना र बस्तुगत सदस्य २८ जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment