Comments Add Comment

गुन्डा नाइके दावा लामामाथि नक्कली नोट कारोबारको आरोप

१७ भदौ, काठमाडौं । नेपालमा प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गुण्डा नाइके दावा लामालाई भारतीय प्रहरीले नक्कली नोट कारोबार गरेको सूचना पाएपछि पक्राउ गरेको खुलेको छ ।

दूबईबाट भारत ओर्लिएका लामालाई सिलिगुडीस्थित बागडोग्रा विमानस्थलमा आउने क्रममा दिल्लीमै प्रहरीले पक्राउ गरेको हो । लामा तरुण दल, काभ्रेका अध्यक्ष समेत हुन् ।

तरुण दलका केन्द्रीय कार्यबहाक अध्यक्ष उत्तम चापागाईंका अनुसार लामालाई ‘फेक करेन्सी’ को कारोबारको अभियोगमा पक्राउ गरिएको जानकारी गराइएको छ ।

‘कसैले दिएको बयानको आधारमा उहाँलाई समातिएको हो । तर, यो कुराको उहाँले इन्कार गर्नु भएको छ’, उनले अनलाइनखबरसँग भने, ‘यदी विना कारण पक्राउ गरिएको हो भने उहाँको रिहाइ गरिनुपर्छ ।’

नेपाल प्रहरीका एक अधिकारीले पनि लामामाथि भारतीय प्रहरीले उनीमाथि नक्कली नोट कारोबारको आरोपमा पक्राउ गरेको पुष्टि गरे । हाल उनीमाथि कोलकता प्रहरीले अनुसन्धान गरिरहेको सूचना अाएको ती अधिकारीले बताए ।

को हुन् लामा ?

दावा लामा भनेर चिनिए पनि उनको वास्तविक नाम जितेन्द्र तामाङ हो । प्रहरीका अनुसार उनी कुनै समय गणेश लामाको निकट रहेर काठमाडौंको ठमेल क्षेत्रमा हप्ता असुलीमा सक्रिय थिए ।

पछि लामासँग सम्बन्ध बिग्रिएपछि उनले आफ्नो छुट्टै समूह बनाएका थिए ।

काठमाडौं प्रहरी परिसरले बर्गिकरण गरेको गुण्डाहरुको सूचीमा ‘क’ वर्गमा परेका लामालाई पछिल्लो समय नेपाल प्रहरीले पनि खोजी रहेको थियो । पछिल्लो समय भारतको सिक्किममा बसेर नेपालमा आपराधिक क्रियाकलाप चलाइरहेको प्रहरीको आशंका थियो ।

पछिल्लो पटक उनी इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) र च्याम्पियन्स लिगको खेलका क्रममा बाजी खेलाउने कार्यमा सक्रिय रहेको खुलेको थियो ।

काठमाडौं प्रहरी परिसरले १५ जेठमा आईपीएल बेटिङमा संलग्न भएको आरोपमा पूर्व राष्ट्रिय फुटबलर अञ्जन केसीसहित ६ जनालाई पक्राउ गरेको थियो ।

उनीहरुको बयानका आधारमा लामा पनि सट्टेबाजीको धन्दामा सक्रिय रहेको खुलेको थियो । त्यसयता परिसरले लामालाई खोजी रहेको थियो ।

लामामाथि काठमाडौंको गौरीघाटमा ०७३ चैतमा गौरीघाटस्थित दिव्या पार्टी प्यालेसको जिम हाउसमा गोली प्रहार भएको थियो । घटनापछि काठमाडौंका तत्कालिन एसएसपी छविलाल जोशीलाई फोन गरेर अर्का गुन्डा लोप्साङ लामाले जिम्मेवारी लिएका थिए ।

त्यसअघि उनी १० माघ ०६७ मा मानव बेचबिखन सम्बन्धी मुद्दामा पक्राउ परेका थिए । तर, धरौटीमा छुट्न सफल भए ।

०७० सालमा ललितपुरका व्यवसायी राजन श्रेष्ठलाई खुकुरी प्रहार गरेको आरोप समेत उनीमाथि लागेको थियो । ०७१ सालमा जोरपाटीबाट खैरो हिरोइनसहित पक्राउ परेपछि उनी १५ महिना जेल समेत बसेका थिए ।

उनी रक्तचन्दन तस्करीमा समेत संलग्न भएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment