Comments Add Comment

नेपालले एसिया कप खेल्ने सम्भावना कति ?

१७ भदौ, काठमाडौं । एसिया कप छनोटमा आइतबार नेपालले सिंगापुरलाई ४ विकेटले हरायो । यता, यूएईले आयोजक मलेसियामाथि शानदार जित हात पार्दा वर्षाले प्रभावित खेलमा ओमानले हङकङसँग १-१ अंक बाँडेको छ । यूएईको फराकिलो जित र ओमानको बराबरीले नेपाल थप दबावमा परेको छ ।

समूह चरणको अन्तिम खेलअघि ओमान ७ अंकसहित शीर्ष स्थानमा छ भने यूएईको ६, हङकङको ५ र नेपालको ४ अंक छ । २ अंक जोडेको मलेसिया र अंकविहीन सिंगापुर दुबैको फाइनल खेल्ने सम्भावना सकिएको छ ।

छनोट प्रतियोगिताको विजेताले एसिया कप खेल्नेछ, जुन समूहमा भारत र पाकिस्तान पनि भएकाले कुनै पनि टिम यो अबसर गुमाउन चाहँदैनन् । नेपालको पनि लक्ष्य छनोट प्रतियोगिता जितेर एसिया कप खेल्ने नै हो ।

नेपालको सम्भावना कति ?

सुरुवाति दुई खेलमा ओमान र यूएईसँग व्यहोरेको हारले नेपाललाई निकै अप्ठेरो स्थितिमा पुर्‍यायो । त्यसपछि लगातार दुई खेल जिते पनि रनरेट सुधार भएको छैन । यद्यपि नेपालको गणितीय सम्भावना कायमै छ ।

अब मंगलबार यूएई र ओमान अपसमा भिड्नेछन् भने नेपालले हङकङको सामना गर्नेछ ।

यदि ओमानलाई यूएईले जित्यो भने नेपालको सम्भावना सकिनेछ । किनकी ओमानको अहिले नै ७ अंक छ भने जितले यूएईको ८ अंक हुनेछ । त्यसपछि यूएई र ओमान फाइनलमा पुग्नेछन् । नेपालले हङकङलाई हराउँदा पनि ६ अंक मात्र हुन्छ र फाइनल खेल्न पाउँदैन ।

तर, ओमानले जित्यो भने नेपालको सम्भावना रहन्छ । अझ ओमानले यूएईलाई जति ठूलो अन्तरले हरायो, नेपाललाई त्यति नै फाइदा । तर नेपालले हङकङलाई ठूलो अन्तरले हराउन सक्नुपर्छ । त्यसबेला नेपाल र यूएईको समान ६-६ अंक हुन्छ र रन रेटमा नेपाल अगाडि रहे फाइनल खेल्न पाउनेछ ।

अहिले रनरेटमा यूएई सबैभन्दा माथि छ । उसको रनरेट १.५८३ पुगेको छ । ओमानको ०.९२७ छ भने नेपालको ०.१७६ मात्रै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment