Comments Add Comment

कालीमाटीको विवाद एक हप्ताभित्र सल्टाउन कृषि मन्त्री खनालको निर्देशन

१७ भदौ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले कालीमाटी तरकारी बजारको जारी विवाद एक हप्ता भित्र टुंगाउन निर्देशन दिएका छन् । मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुसँगको छलफलमा मन्त्री खनालले कालीमाटी तरकारी बजारको विवाद एकहप्ता भित्र टुंग्याएर निरन्तर अनुगमन गर्ने संयन्त्र बनाउन निर्देशन दिए ।

उनले काठमाडौं उपत्यकाका कम्तीमा तीन स्थानमा तत्काल एकिकृत कृषि बजार स्थापना गर्ने काम अगाडी बढाउन समेत भनेका छन् । मन्त्री खनालले किसानहरुलाई रासायनिक मल वितरण गर्न उपयुक्त मोडालिटी समेत चाँडो पेश गर्न निर्देशन दिए । रासायनिक मलको अभाव हुन नदिन आपूर्तिको नयाँ रणनीति र तल्लो तहका किसानसम्मै पहुँच हुने गरी वितरणको स्पष्ट मोडालिटी बनाउन कृषि सामाग्री कम्पनी लिमिटेडलाई उनको निर्देशन छ । यसका लागि सबै प्रदेशमा अत्याधुनिक गोदामघर (Buffer Stock) बनाउनेबारे कार्यविधि र योजना बनाएर तत्काल पेश गर्न भनेका छन् ।

बैठकमा मन्त्री खनालले मन्त्रालयले गरेका सुधारका कामको सूची तयार गरेर सार्वजनिक गर्न भनेको उनको सचिवालयले जनाएको छ । मन्त्रालयको काम सुस्त भईरहेको बताउँदै उनले गम्भिरताका साथ काम कारवाहीलाई छिटो छरितो आग्रह गरे ।  यस आर्थिक वर्षका लागि विनियोजित बजेट तथा कार्यक्रम समयमै सुरु गर्न पनि उनले मन्त्रालयका सचिव र विभागीय प्रमुखको ध्यानाकर्षण गराए । यस्तै टोल फ्रि नं. सञ्चालनमा ल्याएर एक हप्ताभित्र गुनासो व्यवस्थापन कक्ष निर्माण गर्न उनले निर्देशन दिए ।

मन्त्री खनालले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दुग्ध उद्योगहरुलाई नियमित रुपमा नियमन गर्नुपर्ने बताए । यसका लागि दुग्ध उद्योगको व्यवस्थापन, मापदण्ड, आचारसंहिता तथा कार्यविधि बनाउन उनले भनेका छन् । काठमाडौं उपत्यका भित्रिने विभिन्न नाकामा मोबाइल भ्यानमार्फत नियमित रुपमा दुध र तरकारी ओसापसारको स्थलगत अनुगमन गर्न कार्ययोजना पेश गर्न उनले निर्देशन दिए ।

साथै बजार अनुगमनलाई तिव्र पार्न विभागको ध्यानाकर्षण गराए । मन्त्री खनालले नेपाल कृषि अनुसन्धान परिषद नार्कको पुर्नसंरचना गर्नेबारे विभिन्न समयमा भएका छलफल अनुसार प्रतिवेदन गर्ने विभागीय प्रमुखलाई निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment