Comments Add Comment

अब डिजिटल अर्थतन्त्र: हेमराज ढकाल

विद्युतीय भुक्तानीका लागि पछिल्लो समयमा रुचाइएको माध्य हो ‘आईएमई पे’ । कम्पनीका अनुसार यो नेपालको पहिलो र उत्कृष्ट डिजिटल वित्तीय सेवा दिने प्रविधि हो ।

आईएमई समूह अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी आईएमई डिजिटल सोलुसन लिमिटेडलाई नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको कार्य गर्न २ वर्षअघि अनुमतिपत्र प्रदान गरेको थियो ।

राष्ट्र बैंकको ‘भुक्तानी तथा फर्छ्यौट विनियमावली, २०७२’ बमोजिम आईएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट कार्य गर्ने अनुमति प्राप्त गरेको हो र आईएमई डिजिटल यस्तो अनुमति पाउने देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी समेत हो ।

आईएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउँछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइलमार्फत विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्छन् ।

‘आईएमई पे’ मा बढ्दो आकर्षण

समयको बचत हुने र धेरै रकम समेत खर्चिनु नपर्ने बाध्यताबाट मुक्ति मिल्ने भएपछि ‘आईएमई पे’ मा आकर्षण बढेको आइएमई समूहका प्रवन्ध निर्देशक हेमराज ढकाल बताउँछन् । यतिबेला १५ हजार एजेन्टहरु मार्फत यसको सुविधा प्रदान भइरहेको ढकालले जानकारी दिए ।

यसले सेवाग्राहीलाई दर्ता गर्ने, मोबाइल मार्फत् तत्कालै पैसा पठाउने र प्राप्त गर्ने, बिलहरूको भुक्तानी गर्ने, रकम ट्रान्सफर गर्ने, विद्यालय र कलेजका शुल्कहरू भुक्तानी गर्ने सुविधा दिन्छ । साथै अनलाइनभन्दा बाहिर (अफसाइड) रहेका रेस्टुरेन्टहरू, ग्रोसरी र डिपार्टमेन्ट स्टोरहरूका साथै साना-ठूला खुद्रा पसलहरूमा अफलाइन नै भुक्तानी गर्नेसम्मका विविध  सेवाहरू पनि प्रदान गरेको छ ।

डिजिटल सेवालाई प्रोत्साहनको आवश्यकता

मुलुकमा प्रविधिको विकास हुने हो भने समयको बचतसँगै फजुल खर्चसमेत जोगिन्छ । जसका कारण मुलुकको अर्थतन्त्रलाई समेत टेवा पुग्ने देखिन्छ । प्रविधिको प्रयोगबाट सरकारले गर्ने फजुल खर्चसमेत कम हुने र आम्दानी बढ्ने हुँदा डिजिटल प्रविधिलाई राज्यले प्रोत्साहन गरेर यसको प्रयोग बढाउनु पर्ने कतिपयको धारणा छ ।

तर राष्ट्र बैंकले डिजिटल भुक्तानी सेवामा गरेको कडाइले प्रविधिको प्रयोगमा कमी हुनसक्ने विज्ञहरु बताउँछन् । राष्ट्र बैंकले क्रेडिट कार्ड हुनेले कुल रकमको २५ प्रतिशतभन्दा बढी रकम एकै पटक खर्च गर्न नपाउने, डेबिट कार्ड बोक्नेले पनि २५ हजारभन्दा बढी रकम एकै पटक भुक्तानी गर्न नसक्ने लगायतका व्यवस्था गरेको छ ।

यसअघि क्रेडिट कार्डका हकमा कुनै सीमा तोकिएको थिएन भने डेविट कार्डमा बैंकहरुले एक पटकमा ३५ हजारसम्म तिर्न सक्ने सुविधा थियो । नयाँ व्यवस्थाले कार्डको भुक्तानी कस्दा प्रविधिको प्रयोगमा कमी आउने संकेत देखिएको छ ।

आईएमई पे जस्ता प्रविधिको विशेषता नै मुख्य गरेर समय र खर्चको बचत हो । विस्तारै पैसा बोक्न नपर्ने समाज निर्माण गर्ने उद्देश्यका साथ यस्तो प्रविधि भित्राइएको प्रवन्ध निर्देशक ढकाल बताउँछन् । अन्य मुलुकहरुमा भन्दा प्रविधिमा धेरै पछि रहेको नेपालमा आईएमई पे जस्तो प्रविधिको आवश्यकता र यसप्रतिको आकर्षणका विषयमा हामीले उनै ढकाललाई सोध्यौँ :

प्रविधिको हिसाबले कमजोर हाम्रो मुलुकमा डिजिटल भुक्तानी सेवाको आवश्यकता महशुस कहिले गर्नुभएको थियो ?

हामीले रेमिट्यान्स शुरु गर्दा नै ‘आईएमई पे’ को आवश्यकता महशुस गरेका थियौं । तर पहिलाको सिष्टम र अहिलेको सिष्टममा धेरै परिवर्तनहरु भएका छन् । विस्तारै प्रविधिको विकास हुँदै गयो र सर्वसाधारणमा पनि प्रविधिको आवश्यकता महशुस हुँदै गएको छ ।


हामीले आईएमई पे शुरु गरेको धेरै समय भएको छैन । तर जहिलेबाट हामीले आईएमई रेमिट्यान्स शुरु गर्‍यौं, त्यतिबेला नै यो पनि शुरु गर्नु पर्छ भन्ने सोचेका थियौं । शुरुमा हामीले रेमिट्यान्स मात्रै फोकस गर्‍यौं ।

हामीले डिजिटलाइज माध्यमबाट वित्तीय सेवा प्रदान गर्ने भन्ने परिकल्पना  भने गरेका थियौं । तर, पहिलो चरणमा हामीले मनि ट्रान्सफरको काम गर्‍यौं, यो पनि डिजिटलाइज सेवा नै हो ।

तपाईंहरुले आजभन्दा धेरै वर्ष पहिले नै यसको परिकल्पना गरेका थियौं भन्नुभयो, प्रविधिमा कमजोर देशमा यसको आवश्यकता छ भनेर कसरी सोच्न सक्नुभयो ?

हामीले रेमिट्यान्सबाट सेवा शुरु गर्यौ । हामीले त्यतिबेला पनि प्रविधिको प्रयोगबाट नै गाउँगाउँमा सेवा प्रदान गरेका थियौं । जस्तो कतारको दोहाबाट नेपालको एउटा विकट गाउँमा पठाएको रकम ५ मिनेटमै भुक्तानी गर्यौँ । त्यो आधारले गर्दा हामीले रेमिट्यान्समात्रै नभएर धेरै वित्तीय सेवाहरु देशमा दिनसक्छौं भन्ने सोच्यौं । त्यहिबाट हामीले प्रविधिको आवश्यकता महशुस गर्यौँ र नयाँ प्रविधि नेपालमा भित्रायौं । यसका लागि हामीलाई आवश्यक कानून पनि पनि चाहिन्थ्यो । पहिले पोलिसी पनि बनिसकेको थिएन ।

मलाई लाग्छ ४/५ वर्षदेखि सहजता आएको हो । म धेरैजसो बाहिरी मुलुकहरुमा बस्थेँ । मैले विभिन्न देशमा बस्दा देखेका सिष्टमहरुका कारण नेपालमा पनि केही गरौँ भन्ने चाहना जागेर आउँथ्यो । मैले देखेका कुराहरु के-कसरी नेपाल ल्याउन सकिन्छ भनेर अध्ययन गरेँ । पछि यो सम्भव देखिएपछि नेपालमा भित्र्याइएको हो । प्रविधिले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन मद्दत गर्छ ।

यतिबेला आईएमई पेका एजेन्टहरु मुलकभर कति छन् ? यसमा बैंक तथा वित्तीय संस्थाको आवद्धता कत्तिको छ ?

अहिले हाम्रा एजेन्टहरु करिबकरिब १५ हजारको हाराहारीमा छन् । अझै पनि एजेन्टहरुको संख्या बढाउनका लागि हामीले आवश्यक गृहकार्य गरिहेका छौं । हामीले एजेन्टहरु २५ हजार पुर्‍याउने लक्ष्य लिएका छौं ।

एउटा प्राइभेट एजेन्टहरु हुन्छन् उनीहरुले क्यास इन, क्यास आउटको रुपमा सेवा दिन्छन् । त्यो बाहेक अरु भनेको हाम्रा जो ग्राहकहरु छन् उनीहरुको जुनसुकै बैंकको खाता होस्, त्यो खातामा हामीले यसलाई लिंक गराएर कारोबार गर्न सक्ने बनाउँछौं ।

यसका लागि सबै बैंकहरुसँग हामीले छलफल गरिरहेका छौं । यतिबेला सिद्धार्थ बैंक, ग्लोबल आईएमई बैंक, सनराइजसँग सहकार्य भइरहेको छ । चाडै सिटिजन्स बैंक इन्टरनेसनलसँग पनि हुने तयारीमा छ ।

यसैगरी मोबाइलमा पिनलेस तरिकाले नै बैंकहरु तथा एजेन्टहरु कनेक्ट गर्न सकिनेछ । अहिले जसरी फिजिकल्ली रुपमा सर्भिस लिइरहनु भएको छ, यसले चाहिँ फिजिकल्ली सर्भिस लिनु पर्ने बाध्यता हटाउनेछ ।

नेपाल जस्तो विकासोन्मुख मुलुकमा डिजिटल आर्थिक कारोबार कत्तिको आवश्यक छ ?

एकदमै आवश्यक कुरा हो । अबको अर्थतन्त्र भनेको नै डिजिटल हो । अन्य मुलुकहरु प्रविधिको क्षेत्रमा अलि अगाडि नै बढिसकेका छन् । हामी अन्य मुलुकको तुलनामा धेरै पछाडि छौं । अबको युगमा प्रविधि अपरिहार्य छ ।


यसलाई हामीले जतिसक्दो विस्तार गर्नु आवश्यक छु । प्रविधिको माध्यमबाट हुने आर्थिक कारोबार धेरै सुरक्षित, भरपर्दो र कम खर्चिलो हुन्छ । यसकारण हामीले प्रविधिबारे आमजनमानसमा साक्षरता बढाउनु जरूरी छ ।

मुलुकमा वित्तीय साक्षरताको अवस्था एकदमै कमजोर छ । यतिबेला ५५ प्रतिशतभन्दा बढी नागरिक बैंकिङ पहुँच बाहिर भएको सरकारी तथ्यांकले नै देखाएको छ, यस्तो अवस्थामा प्रविधिबारे चेतना फैलाउन कत्तिको सहज होला ?

मुलुकमा वित्तीय साक्षरताको अवस्था एकदमै कमजोर छ । यसकारण पनि डिजिटलाइज ट्रान्जेक्शन आवश्यक छ । जस्तो कुनै एउटा बैंकलाई हुम्लामा शाखा खोल्नका लागि धेरै समस्या हुन्छ । भौतिक पूर्वाधार, सुरक्षा व्यवस्था, सडक लगायतका कारणले बैंकले त्यस ठाउँमा शाखा खोल्न सक्दैन ।

शाखा खोले पनि ज्यादै खर्चिलो हुन आउँछ । हो त्यस्ता ठाउँमा प्रविधिको प्रयोग गर्न सकिन्छ । एउटा बैंकको शाखामा धाएर गर्नु पर्ने काम आफ्नै मोबाइलबाट हुने भए पनि दुनियाँ सास्ती त भोग्नु परेन नि । आईएमई पे भनेकै यस्तैका लागि हो । हाम्रो सेवा जहाँ जुनसुकै ठाउँमा पनि पुग्छ ।

यसले वित्तीय साक्षरता बढाउन पनि महत्वपूर्ण भूमिका खेल्छ । यसका साथै बैंकिङ पहुँचभित्र धेरै नागरिक आउन बाँकी छन् यो प्रविधिको माध्यमबाट ति नागरिकलाई पनि बैंकिङ पहुँचमा ल्याउन सहज हुन्छ । यसले खर्च र समयको पनि धेरै सदुपयोग गर्छ ।


एउटा जुम्लाको मान्छे बैंकिङ कारोबारकै लागि सदरमुकामसँग पुग्नु पर्ने हुन्छ । त्यसका लागि उसलाई गाडी भाडा, खाजा, खाना खर्च तथा धेरै समय समेत बर्वाद हुन्छ । तर आईएमई पेको माध्यमबाट उसले त्यो खर्च र समय सदुपयोग गरेर घरमै बसीबसी कारोबार गर्न सक्छ ।

आईएमई पे जस्ता प्रविधिका कारण पैसा र समयको सदुपयोग हुन्छ भन्ने कुरा त ग्रामिण भेगका जनताले बुझ्न बाँकी छ होला नि ?

शहरी क्षेत्रमा प्रविधिको धेरै विकास भइसकेको भए पनि ग्रामिण भेगमा वित्तीय चेतनाको अभाव धेरै छ । धेरै नागरिक सेवा सुविधाका फाइदाबारे जानकार हुननसक्दा ति सेवासुविधा लिनबाट बञ्चित हुनु पर्ने गरेका उदाहरण हामीमाझ प्रशस्तै छन् ।

एउटा कामको लागि धेरै खर्च हुने गरेको पनि छ, जबकि त्यही काम नि:शुल्क वा न्युनतम खर्चमा हुन्छ । यसको कारण भनेको चेतनाको कमी नै हो । हामीले प्रविधिको प्रयोग र वेफाइदाबारे जनचेतना बढाउने कार्य गर्छौँ ।

अहिले हाम्रा १५ हजार सञ्जाल छन्, ति संख्या बढेर २५ हजार पुग्दैछन् । हो ति हाम्रा सञ्जाल गाउँगाउँमा पुग्छन्, जसको माध्यमबाट हामी यसको प्रयोगका फाइदाबारे बुझाउनेछौं । हुन त पछिल्लो समय प्रविधिको विकास धेरै नै भइसकेको छ ।

गाउँका बुढाबुढी बाआमाले समेत फेसबुक मज्जाले चलाइरहेको हामीले देख्न सक्छौं । यो एउटा सामाजिक सञ्जालले ल्याएको परिवर्तन हो ।

आईएमई पे सर्वसाधारणले कत्तिको रुचाएको पाउनु भएको छ ?

अहिले हाम्रो करिबकरिब ३ मिलियन सब्सक्राइभ पुगेको छ । अहिले हाम्रो आईएमई रेमिट्यान्स प्रयोग गर्नेहरुको संख्या धेरै छ । विस्तारै हामीले रेमिट्यान्स प्रयोगकर्ताहरु सबैले यो सेवा प्रयोग गर्ने बनाउनेछौं ।

ग्रामीण भेगका सर्वसाधारणहरुले यो सुविधा राम्रो मनपराउनु भएको हामीले महशुस गरेका छौं । यसमा क्रमशः सर्वसाधारणको पहुँच बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment