Comments Add Comment

प्रचण्डनिवासमा पाहुना जाँदा राष्ट्रिय बेइज्जत ! पानी रोकियोस्, काठमाडौं पीच !

२० भदौ, काठमाडौं । के तपाईं आफ्नो घरअगाडिको बाटो बनेन भनेर चिन्तित हुनुहुन्छ ? तपाईंकै जस्तो चिन्ता रहेछ पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष प्रचण्डको पनि । यद्यपि, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई भनेका रहेछन्– पानीमात्रै रोकियोस् न, काठमाडौं सप्पै पीच गर्दिने हो !

सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्ड हाल ललितपुरको खुमलटारमा बस्दै आएका छन् । उनी जुन घरमा बस्छन्, सो घरका घरबेटी शारदा अधिकारी निर्माण व्यवसायीसमेत हुन् । ठेक्का लिएर समयमा काम नगरेको आरोप खेपिरहेका छन् प्रचण्डका घरबेटी, यो बेग्लै कुरा हो ।

ललितपुरको चापागाउँ दोबाटो हुँदै नखीपोटको धराने कालो बंगुर सेकुवाबाट पूर्वतिर लागेपछि प्रचण्ड निवासमा पुगिन्छ । रिङरोडबाट बाहिरिनासाथ खुमलटारको बाटो धुलैधुलो छ । धुलो यति छ कि प्रचण्डनिवाससम्म पुग्दा लुगा सद्दे रहँदैन । फोक्सोसम्मै धुलो पसेको महसुस हुन्छ । पानी परेको रहेछ भने हिलोको समस्या उस्तै ।

नेताहरुले राजधानीबाहिर त विकास गर्न सकेका छैनन् नै, राजधानीकै वासिन्दाले समेत सडकमा धुँवा र हिलोको समस्या भोग्दै आइरहेका छन् । वातावरणीय प्रदूषण हटाउन न त महानगरले पर्याप्त पहल गरेका छन्, न वातावरण मन्त्रालयले नै काम गर्न सकेको छ । यस्तो बेलामा प्रचण्डनिवास पुग्ने जो कोहीले भन्ने गरेका छन्– तपाईंको निवाससम्म आउने बाटो त खत्तम रहेछ !

पूर्वप्रधानमन्त्री प्रचण्ड लाजिम्पाटबाट खुमलटारमा सरेपछि त्यहाँका स्थानीयबासीले सोचेका थिए, भीआईपी आएपछि अब त यहाँको बाटो चाँडै पीच हुन्छ होला । तर, अहिलेसम्म भएन । आखिर किन भएन ?

आफू खुमलटार सरेको महिनौं बितिसक्दा पनि सरकारले बाटो बनाउन नसकेकोमा प्रचण्ड पनि चिन्तित देखिए । विदेशी पाहुना आउँदा बाटोको हालत देखेर राष्ट्रकै बेइज्जत भइरहेको उनले अनुभूति सुनाए ।

प्रचण्डले भने- विदेशी कूटनीतिज्ञहरु बाटोमा बिजोग देखेर आउँछन् । यसले त राष्ट्रको पनि बेइज्जत हुने भो

‘म यहाँ सरेको यत्रो महिना भइसक्यो, आएकै दिनदेखि भनेको हो यो बाटो बनाउनुपर्‍याे,’ प्रचण्ड भन्छन्, ‘मेरा लागि त खाल्टाखुल्टीहरु मतलवको कुरा होइन, तर यहाँका जनताको मनोविज्ञान प्रचण्ड आएपछि त बाटो बन्छ भन्ने थियो । त्यसैले जनताका लागि पनि गरिदिनुपर्‍याे ।’

विदेशीहरु आउँदा बाटोको अवस्था देखेर राष्ट्रकै बेइज्जत भएको सुनाउँदै प्रचण्डले भने, ‘यहाँ विदेशी कूटनीतिज्ञहरु आउँछन् । राजदूतहरु आउँछन् । ठुल्ठुला मन्त्रीहरु आउँछन् । बाटोमा आउँदा बिजोग देखेर आउँछन् । यसले त राष्ट्रको पनि बेइज्जत हुने भो ।’

पूर्वप्रधानमन्त्री प्रचण्डले खुमलटारको बाटो बनाउन ‘सरकारले ध्यानै नदिएको चाहिँ होइन’ भन्दै नेकपा सरकारको बचाउ गरे । उनले भने–‘सरकार लागेको छैन भनेको पनि हैन । विचरा मन्त्री रघुवीर महासेठ दुई/चार दिनमा यहाँ आउँछन्, यो बाटो हेर्दै आउँछन् । कहिले गिटी झार्छन्, झन् अप्ठ्यारो बनाउँछन् । फेरि पानी परेको परै छ । अहिले पानी परेका बेलामा पीच गर्न पनि नहुने ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षायाम सकिएपछि काठमाडौं जम्मै पिच गरिदिने बताइरहेको प्रचण्डले सुनाए । उनले भने– ‘प्रधानमन्त्रीजीले भनिराख्नुभएको छ, पानी (वर्षा) मात्रै जाओस् न, दुई/तीन महिनाभित्रमा काठमाडौंचाहिँ सप्पै पीच गर्दिने हो । गर्न नचाहेको र नखोजेको भन्ने पनि होइन । तर, यस्तो परिस्थिति छ, यसलाई पनि विचार गरिदिनुपर्‍याे । कमजोरी पनि छन्, त्यसको पनि समीक्षा गर्नुपर्‍याे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment