1. ताजा अपडेट
Comments Add Comment
ram sundar shrestha
२०७५ भदौ २१ गते २०:३४
jay nilbarahi

६० वर्ष ‘देउता’ भएर बाँचेको एउटा जिन्दगी

२१ भदौ, काठमाडौं । भक्तपुरको बोडेका ६७ वर्षीय प्रेमचन्द्र अदुवा श्रेष्ठको जीवनमा हरेक वर्ष गाईजात्रा सकिनेबित्तिकै नयाँ चटारो सुरु हुन्छ । गाईजात्रापछिका पाँच दिन उनी ‘प्रेमचन्द्र अदुवा श्रेष्ठ’ रहँदैनन् । उनको सिङ्गो समाजले उनलाई ‘देउता’ भनेर पुकार्नेछ ।

उनी ‘देउता’ बन्न थालेको पनि ६० वर्ष पुगिसकेको छ । यस हिसाबले जम्मा ३०० दिन, आफ्नो जिन्दगीको झन्डै एक वर्षको समय त उनले देउता बनेर बिताएका छन् ।

आखिर कस्तो लाग्दो हो उनलाई एकैपटक देउता र मान्छेको जिन्दगी बाँच्न ?

शताब्दीयौँ पुरानो परम्पराको निरन्तरता

भक्तपुरको यो सानो सहरमा हरेक वर्ष गाईजात्रापछि नीलवाराही नाच हुन्छ । यस नाचमा मुख्य सहभागीहरूलाई ‘वाराही’ भनिन्छ । स्थानीयहरूले भने उनीहरूलाई ‘देउता’ नै भनेर बोलाउँछन् । जात्राका समयमा मात्र नभएर अन्य बेला पनि उनीहरू देउता नै कहलिन्छन् ।

बोडेको नीलवाराही नाच कहिले सुरु भयो भन्ने विषयमा कुनै लिखित दस्ताबेज छैन । स्थानीयका अनुसार भने यसको सुरुवात सत्रौँ शताब्दीमा भएको हो । ‘हाम्रो ठाउँलाई समृद्ध बनाउने उद्देश्यले यो नाचको सुरुवात गरिएको हाम्रो विश्वास हो,’ श्रेष्ठ बताउँछन् ।

यसरी नाचेका वाराहीका गणहरू र तिनले केन्द्रमा राखेका चोकका सङ्ख्याका आधारमा यो परम्परा कम्तीमा चार सय वर्ष पुरानो भएको मानिएको हो । ‘हरेक गणले छुट्टाछुट्टै चोकबाट जात्रा सुरु गर्नुपर्छ । अहिलेको गणले नाच्न थालेको छ दशक भयो । हाल यहाँ सात ओटा यस्ता चोक छन् । यस हिसाबमा यो परम्परा सुरु भएको ४०० वर्षभन्दा बढी भयो,’ उनी सुनाउँछन् ।

हरेक वर्ष जात्राको सम्पूर्ण व्यवस्थापन गर्ने जिम्मेवारी यिनै गणको हुन्छ । एउटा गणमा करिब १०० परिवार सदस्य हुन्छन् ।

तिनै परिवारका सदस्यले नै देउता, गुरु, वाद्यवादक लगयातका भूमिका निर्वाह गर्नुपर्छ । ‘हाल, मसमेत १९ देउता र करिब ३० जना वाद्यवादक छौँ,’ श्रेष्ठ बताउँछन् ।

प्रेमचन्द्र अदुवा श्रेष्ठ ।

कसरी बनिन्छ त देउता ?

जात्राको हरेक दिन श्रेष्ठ बिहानै उठ्छन् । वाराहीको मुकुन्डो लगाउँछन् । अनि जात्राका लागि जम्मा भएका मान्छेतिर जान्छन् । ‘हुन त यो सबै कुरा मलाई सामान्य लाग्छ । मेरै जिन्दगीको एक अङ्ग भइसक्यो,’ उनी सुनाउँछन्, ‘जहाँ गयो, सबैले आखिर देउता नै भन्छन् । सुन्दासुन्दा मलाई म साँच्चै नै देउता नै हुँ किजस्तो लाग्छ ।’

उनी देउता भएको ६० वर्ष भए पनि त्यो जमानाको र आजको अनुभवमा धेरै भिन्नता रहेको उनको दाबी छ । ‘त्योबेला नियम धेरै कडा थियो । गुरुहरू आजका जस्तो कहाँ हुनुहुन्थ्यो र ?’

त्यो बेला कसरी देउताको भूमिका निर्वाह गर्ने भनेर सिक्दा नै उनको समय बित्थ्यो । श्रेष्ठ जानकारी दिन्छन्, ‘हामीलाई नाच्न मात्र होइन, अरूसँग कसरी व्यवहार गर्ने भनेर पनि सिकाइन्थ्यो । गुरुहरू हामीलाई अन्य सबै मान्छेले हेरिरहेका हुनाले अरूले नराम्रो मान्ने र हाम्रो इमानदारितामा प्रश्न उठ्ने व्यवहार गर्नुहुँदैन भन्ने कुरा सिकाउनुहुन्थ्यो ।’

सबै छरछिमेकले पुज्ने देउता बन्नु आफैँमा गाह्रो काम हो । नाचुन्जेल न उनी बोल्न पाउँछन्, न केही खान नै । हरेक वर्ष पाँच दिन उनी छुट्टै संसारमा पुग्छन् । दिनको १२ घण्टा त नाचेर नै बित्छ । ‘त्यसबीचमा म एकपटक पनि बस्नै पाउँदिनँ । तर, एकदम गाह्रो भयो भने मेरै परिवारको अन्य कोही सदस्यले सघाइदिनुपर्छ ।’

अदृश्य शक्ति

एउटा ६७ वर्षको बुढो मान्छे दिनको १२ घण्टा, त्यो पनि लगातार पाँच दिन नाच्नु चानचुने कुरो होइन । बस्नै पाइँदैन भनेपछि केही खान पाउने कुरै भएन । तर, नाच्ने बल चैँ कसरी आउँछ त ?

यसमा श्रेष्ठको जवाफ अनौठो छ । ‘हेर्नुहोस्, देउता भएको ६० वर्ष भइसक्यो । सबैले देउता नै मानिसकेपछि हामीमा त्यो उर्जा आफैँ आउने रहेछ ।’
उनी थप्छन्, ‘जात्रा सुरु हुनु अगाडिका केही दिनदेखि ममा छुट्टै शक्ति आउँछ । मभित्रका देउताले मलाई जगाइरहेको जस्तो लाग्छ । त्यही शक्तिकै कारण म नाच्न सक्छु । तपाईँलाई लाग्ला कि म झुट बोलिरहेको छु । तर होइन, म आजसम्म निरन्तर नाचिरहनु र अझैै नाच्न चाहानुको कारण पनि यही नै हो ।’

कहिलेसम्म चल्ला त ?

वाराहीका रूपमा आफूले आजसम्म निर्वाह गरेको भूमिकाप्रति श्रेष्ठ एकदम खुसी छन् । तर उनलाई आफू र आफूजस्ता १८ देउताले अवकाश लिएपछि यो बिँडो कसले थाम्ला भन्ने चिन्ता छ । तत्कालै उनीहरूलाई विस्थापन गर्ने जनशक्ति तयार भइसकेको छैन । “हामीलाई पो भगवान्प्रति आस्था थियो । आजका केटाकेटीमा त्यस्तो केही पनि देखिएको छैन,” उनी बताउँछन् ।

यी देउतामध्ये एकजना केही वर्ष अगाडि मात्र नियुक्त भएका हुन् । त्यो बेला पनि ‘नयाँ देउता’ पाउन निकै गाह्रो भएको थियो ।

‘आज न कोही देउता बन्न चाहान्छ, न आफ्ना सन्तानलाई बनाउन । मान्छेको विश्वास बदलिइसकेको छ । उनीहरूलाई लाग्छ, देउता बनेर नाच्नु समयको बर्बादी मात्र हो किनकि एकपटक देउता भएपछि बाँचुञ्जेल देउता नै रहनुपर्छ ।’

स्वाभाविक हो कि अन्य ठाउँमा मानिसजस्तै बोडेका बासिन्दासँग पनि आफ्ना सन्तानलाई डाक्टर र इञ्जिनियर बनाउने रहर छ । उनीहरूलाई लाग्दो हो, सानैदेखि ‘देउता’ बनाएर के पो होला र ? बाँचुञ्जेल नीलवाराही नाचेर बस्ने, अनि फुर्सद हुँदा खेतीपाती लगायत सामान्य काममा अल्झने मात्र त हो नि !

‘म पनि यो कुरा बुझ्छु । देउता बनेपछि उसको व्यक्तिगत जीवन त्यही अन्त्य हुन्छ । सिङ्गो जिन्दगी नै भगवान्लाई समर्पित गर्नुपर्छ । मेरो जीवन मेरा छिमेकीको जस्तो कहाँ छ र ? मान्छेले मलाई फरक आँखाले हेर्छन् । त्यसैले मैले उनीहरूका अगाडि फरक व्यवहार गर्नुपर्छ । कहिलेकाँहि यस्तो गर्नु गाह्रै हुन्छ किनकि अरूको जस्तो ख्यालठट्टामा म जिन्दगी बिताउन पाउँदिन,’ उनी स्वीकार गर्छन् ।
अर्थात्, यो परम्परालाई हालकै रूपमा जोगाउनु एकदमै गाह्रो छ ।

तर पनि, सास रहुन्जेल आश

जति नै चुनौती भए पनि श्रेष्ठलाई लाग्छ कि उनी र उनीजस्ता अन्य बुढापाकाले बचाएर राखेको यो सम्पदा उनीहरूसँगै मर्नेवाला भने छैन । यतिको वर्ष नाचिसकेपछि उनलाई थाहा भएको छ कि यो नाच के हो र यसको महत्व के छ भन्ने कुरा लेखेर राख्नुपर्छ, ता कि यो सधैँ बाँचिराखोस् । त्यो जिम्मेवारी पूरा गर्न कोही न कोही तयार हुने कुरामा उनी ढुक्क छन् ।

‘पूर्खाले यसबारे अभिलेख राख्न सकेनन्, अब त्यो काम हामीले पूरा गर्नुपर्छ । हुन त हामीलाई पनि सुरुमा यसबारे केही वास्ता भएन । अब भने बिस्तारै हामीले यसको महत्व बुझेका छौँ । हामीले आगामी पुस्ताका लागि यो परम्परालाई जोगाएर राख्नुपर्छ ता कि उनीहरूले यसलाई निरन्तरता दिऊन्,’ श्रेष्ठ आफ्नो धोको सुनाउँछन् ।

श्रेष्ठको गणको इच्छालाई कदर गरेरै हुनुपर्छ, मध्यपुर थिमी नगरपालिकाले यस परम्पराको अभिलेखीकरणमा सहयोग गर्ने वचन दिएको छ ।
गत वर्ष चुनिएका नयाँ मेयरले साढे दुई लाख रुपैयाँको एउटा अक्षय कोष स्थापना गरेका छन् । त्यस कोषबाट प्राप्त हुने रकमलाई जात्राको निरन्तरताका लागि खर्च गरिनेछ । मेयरकै पहलमा नीलवाराही नाचबारे एउटा वृत्तचित्र बनाउने काम पनि अगाडि बढेको छ । श्रेष्ठको चाहना छ, लिखित दस्तावेज र श्रव्यदृश्य माध्यम दुबैमा यस परम्पराको अभिलेखीकरण होस् ।

सात वर्षको उमेरमा देउता बनेका श्रेष्ठलाई लाग्छ यो सब दैवको लीला नै हो । ‘त्यसैले मलाई कुनै पछुतो छैन । मैले देउता बनेरै जीवनमा सबै थोक पाएको छु । मलाई भगवान्ले यसकै लागि पठाउनुभएको हो । त्यसैले त म आजसम्म सकुशल बाँचिरहेको छु । भगवान्को कृपा हो ।’
उनलाई आश छ तिनै भगवानले कृपा गर्लान् र बोडेको नीलवाराही नाच निरन्तर होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

82%

खुसी

2%

दुःखी

10%

अचम्मित

4%

उत्साहित

2%

आक्रोशित

ट्रेन्डिङ

Advertisment