Comments Add Comment

अदालतले भेटेन गोरेकी श्रीमती नर्बदाको घर

२१ भदौ, विराटनगर । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेकी श्रीमती नर्वदा खरेल उप्रेतीको नाममा जारी भएको म्याद तामेली फिर्ता आएको छ ।

सुन मुद्दामा म्याद तामेली गर्न गएका कर्मचारीले ठेगाना पत्ता लगाउन नसकेपछि म्याद तामेली फिर्ता आएको हो ।

सुन तस्करी प्रकरण पहिलो चरणमा मुद्दा दायर गरिएका ६३ मध्ये ३० जना अझै फरार छन् । फरार भएकाहरुको ठेगानामा म्याद तामेली गर्न गएको अदालतले १२ जनाको घर ठेगाना नभेटेपछि त्यसै फर्किएको छ ।

सुन तस्करी र समन शाक्य हत्या प्रकरणमा फरार रहेकामध्ये गोरेकी श्रीमती नर्वदा खरेल उप्रेती, मणिराम चौलागाई, सुनिल श्रेष्ठ, गीता श्रेष्ठ, कालु काले कृष्ण भनिने कृष्णगोपाल अग्रवाल, हरिशरण खडका, रोहित आचार्य, माधव आचार्य, अर्जुनप्रसाद खरेल, शिवकुमार गुभाजु, समिर अधिकारी, सञ्जय अधिकारीको वतन ठेगाना नभेटिएको हो ।

सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोग उल्लेख गरेको ठेगानामा म्याद तामेली गर्न गएको अदालतको टोलीले ठेगाना -वतन) नभेटेको हो ।

अभियोग पत्रमा उल्लेखित ठेगानामा म्याद तामेलीका लागि पठाए पनि वतन नभेटिएपछि अर्काे वतन ठेगाना भए स्पष्ट खुलाई पठाउन जिल्ला अदालत मोरङले नयाँ आदेश दिएको छ । सरकारी वकिलको कार्यलयलाई नयाँ ठेगाना भए स्पष्ट खुलाई पठाउन न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले बुधवार आदेश दिएको हो ।

न्यायाधीश शर्माको इजलासले दिएको आदेशमा म्याद तामेलीका क्रममा विभिन्न मितिमा वेपत्ते व्यहोराबाट तामेल भएको देखिदा अभियोग पत्रमा उल्लेखित वतनबाहेक अर्काे वतन छ छैन भनी स्पष्ट वतन खुलाई पठाइदिनुहुन जिल्ला सरकारी वकिलको कार्यालयलाई लेखी वतन खुली आएमा खुलाएको वतनमा पून म्याद तामेली जारी गर्ने र वतन खुल्न नसके नियमानुसार पेस गर्नु ‘ भनिएको छ ।

जिल्ला अदालतका श्रेस्तेदार नवराज दुलाल म्याद तामेली नभएको अवस्थामा आरोपीहरुका लागि पत्रपत्रिका मार्फत सार्वजनिक सूचना गर्न सकिने बताउँछन् । उनका अनुसार म्याद तामेली भएको ३० दिनभित्र प्रतिवदी अदालतमा उपस्थित हुनुपर्छ ।

पहिलो चरणमा जिल्ला सरकारी वकिलको कार्यालय मोरङले बहालवाला उच्च पदस्थ प्रहरी सहित ६३ जना विरुद्ध गत बैशाख १९ गते ‘अपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरिर बन्धक र कर्तब्य ज्यान’ मुद्दा दायर थियो । गत जेठ ८ गते हिरासतमा रहेका ३० मध्ये २८ जनालाई जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

सो आदेश जारी भएकै दिन फरार रहेका चुणामणि उप्रेती गोरे पक्राउ परेका थिए भने एसएसपी श्यामबहादुर खत्री र छिरिङ वाङ्दा गुरुङ आफै अदालतमा हाजिर भएका थिए । मद्दा दायर गरिएका ६३ मध्ये ३३ जना अदालतमा उपस्थित भए भने ३० जना अझै फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment