Comments Add Comment

आजका पत्रपत्रिकाः जग्गा धनीलाई थाहै नदिई बूढानीलकण्ठको करोडौंको घडेरी बिक्री

२२ भदौ, काठमाडौं । राजधानीबाट आज प्रकाशित अधिकांश राष्ट्रिय दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा पोखरामा बिहीबार भएको सातै प्रदेशका मुख्य मन्त्रीहरुको भेला परेको छ । अधिकार प्रत्यायोजनमा केन्द्र सरकार अनुदान बनेको भनेर मुख्यमन्त्रीहरुले जनाएको असन्तुष्टिलाई आजका पत्रपत्रिकाहरुले विभिन्न शीर्षकमा लेखेका छन् ।

मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा जग्गा कीर्ते गरेर बिक्री गरेको विषयलाई पनि आजका पत्रपत्रिकाहरुले उत्तिकै महत्वका साथ कभरेज गरेका छन् । ७० करोडको कम्पनी कीर्ते गरेर हत्याएको खबर प्रकाशमा आइरहेका बेला जग्गाधनीको जानकारी बिनै काठमाडौंको बूढानीलकण्ठ र सर्लाहीको जग्गा कीर्ते गरी बिक्री भएको तथ्य सतहमा आएको हो ।

केही पत्रिकाले भने नेपालमै डाक्टरी पढेका विद्यार्थी अब्बल ठहरिएको, मल अभाव थप चर्किएको, त्रिविको अनुसन्धान केन्द्र निस्क्रिय बनेकोलगायत विषयलाई मुख्य समाचार बनाएर छापेका छन् ।

यसका अतिरिक्त काठमाडौं–मुग्लिन सडकको त्रिशूलीपारि पनि २ लेन सडक बन्ने भएको, छात्रवृत्तिमा पाइलट पढाउन नगरपालिका तम्सिएको, राष्ट्रिय दलले तिर्नुपर्ने जरिवाना डेढ करोड पुगेको लगायत खबरले पनि आजका पत्रपत्रिकाको पहिलो पृष्ठमा स्थान पाएका छन् ।

कान्तिपुर दैनिकले आज ‘मुख्यमन्त्रीहरुको एकै स्वरः केन्द्र किन अनुदार ?’ शीर्षक दिएर मुख्य समाचार लेखेको छ । केन्द्रले अधिकार बाँडफाँट नगर्दा काम गर्नै समस्या भएको गुनासो मुख्यमन्त्रीहरुले गरेको कान्तिपुरको समाचारमा उल्लेख छ ।

करोडौंको घडेरी कीर्ते गरी बिक्री गरेको खबरलाई पनि कान्तिपुरले पहिलो पृष्ठमा समेटेको छ । समाचार अनुसार ललितपुरको हात्तीवन बस्ने चन्दनकृष्ण कायस्थको बूढानीलकण्ठमा रहेको २ रोपनी ८ आना जग्गा उनलाई थाहै नदिई बिक्री भएको हो । बूढानीलकण्ठ–७ ‘ग’ को कित्ता नम्बर ३२३, ३२५ र ३२९ को जग्गा बिक्री भएको भोलिपल्ट थाहा पाएपछि कायस्थ छक्क परेका थिए ।

अहिले प्रहरीले जग्गा कीर्तेमा संलग्न ३ जनालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।

कान्तिपुरमै रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले डाक्टर, इन्जिनियर र पाइलट पढ्न चाहने विद्यार्थीका लागि निवेदन माग गरेको समाचार छ । ५ जनालाई यसअघि नै नर्स र ओभरसियर अध्ययनको चाँजो मिलाइसकेको नगरपालिकाले दक्ष र प्राविधिक जनशक्ति उत्पादन गर्न शैक्षिक कर्जा दिन थालेको हो ।

समाचार अनुसार शैक्षिक कर्जा पाउन धितो र आवश्यक शैक्षिक योग्यता भएको कागजात पेश गर्नुपर्नेछ ।

त्रिविका अनुसन्धान केन्द्र निष्क्रिय बनेको समाचार छापेको नयाँ पत्रिका दैनिकले काठमाडौं–मुग्लिन सडकको त्रिशूलीपारि पनि २ लेन सडक बन्ने लेखेको छ । सडकको चाप थेग्न सरकारले अहिलेको सडकलाई ४ र पारि २ लेनको बनाउनउ लागेको समाचारमा उल्लेख छ ।

अन्नपूर्णले देशभर मल अभावलाई मुख्य समाचार बनाएर छापेको छ । कृषि सामग्री कम्पनीले कुनै पनि जिल्लामा मलको अभाव नभएको दाबी गरे पनि त्यो सत्य नभएको समाचारमा उल्लेख छ ।

नागरिकले नेपालमै डाक्टरी पढेका अब्बल भएको समाचार लेखेको छ । नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा चीन, रुस, कीर्गिस्तान, युक्रेन र फिलिपिन्समा डाक्टरी पढेर फर्केका युवा सबैभन्दा बढी विफल भएका छन् । परीक्षामा नेपालमै डाक्टरी पढेका युवा अन्य देशबाट पढेर आएकाहरुको तुलनामा बढी उत्तीर्ण भएको समाचारमा उल्लेख छ ।

सेती अञ्चल अस्पतालले छोरी जन्माएकी काली खातीलाई डिस्चार्ज गर्दा अर्कै बच्चा दिएर घर फर्काएको छ । नागरिक दैनिकका अनुसार खातीले पाएको छोरी नदिएर अस्पतालले डडेल्धुरा जोगबुढा नगरपालिकाकी भावना बोहराका छोरा दिएको हो । पछि अस्पतालले अाफ्नाे त्रूटि सच्याएकाे छ ।

हेर्नुहाेस् अाजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment