Comments Add Comment

विश्वकपमा चम्किएका साकिरीलाई प्रिमियर लिगको प्रतिक्षा

काठमाडौं । प्रिमियर लिग पछ्याउनेका लागि जेरदान साकिरी नयाँ नाम होइन । तर, विश्वकपअघि स्टोक सिटीमा देखिएका साकिरी र विश्वकपपछि लिभरपुलमा आएका साकिरीमा धेरै भिन्नता छ ।

स्टोक सिटी च्याम्पियनसिपमा घटुवा भएपछि साकिरी १३.५ मिलियन पाउण्डमा लिभरपुर गएका हुन् । २०१५ मा १२ मिलियन पाउण्डमा इन्टर मिलानबाट स्टोक सिटी गएका उनले प्रिमियर लिगका ८४ खेलमा १५ गोल गरे ।

स्वीट्जरल्याण्डको राष्ट्रिय टिमबाट ७४ खेल खेलेका उनले २१ गोल गरेका छन् । विशेषतः रसिया विश्वकपमा अन्तिम १६ सम्म पुग्दा साकिरीको खेल उत्कृष्ट रहृयो ।

त्यसबेलाको युगोस्लाभियाको कोसोभोमा जन्मिएका साकिरीको परिवार स्वीट्जरल्याण्डमा बसाइँ सरेको थियो । साकिरीले सन् २००७ मा स्वीट्जरल्याण्डको क्लब एफसी बसेलको ‘बी’ टिममा रहेर व्यावसायिक फुटबल सुरु गरेका थिए । त्यही वर्ष उनी स्वीट्जरल्याण्डको यू-१७ टिममा पनि परे । २००९ मा एसी बसेलको मुख्य टिममा डेब्यू गरेका उनले ९२ खेलमा १८ गोल गरे ।

२०१२ मा बायर्न म्युनिखमा गएका साकिरीले आर्जेन रोबेन र  फ्रान्क रिबेरी जस्ता खेलाडी रहेको टिममा मौका पाउँदा राम्रै खेले । अहिले लिभरपुलमा छन् । प्रिमियर लिगको यो सिजन सुरु हुनुअघि भएको मैत्रीपूर्ण खेलमा साकिरीले म्यानचेस्टर युनाइटेडविरुद्ध उत्कृष्ट ओभरहेड किक हानेर लिभरपुल समर्थकको मन जितिसकेका छन् ।

लिभरपुलमा २३ नम्बर जर्सीमा देखिएका उनले विश्वकपकै शैलीलाई निरन्तरता दिन सके प्रिमियर लिगमा सम्झनलायक नाम हुने छन् । साकिरीसँग लिभरपुल समर्थकलाई खुसी बनाउने खेल शैली छ । उनी बलसँगै तीब्र गतिमा दौडन सक्छन् । दौडिएर बढाइरहेको बललाई सजिलै दिशा परिवर्तन गराउन पनि सक्छन् । यसैले त उनी विपक्षी डिफेन्डरका लागि टाउकोदुखाई बन्छन् । लामो दुरीबाटै पोस्टमा प्रहार गर्न सक्ने उनको शैली त अझ विशेष छ ।

मैदानमा बीचतिरबाट उनले देब्रे गोडाले गरेको प्रहार पनि डरलाग्दो हुने गर्छ । उनी अट्याकका लागि बल मिलाउने र लामो क्रसहरु फाल्ने काममा पनि पोख्त छन् ।

देब्रेतिरबाट बल बढाइरहेका बेला साकिरीमा देखिने धैर्यता राम्रो छ । उनी साथी खेलाडीले बल लगिरहेका बेला अन्तिम क्रससम्म विपक्षी डिफेन्सलाइन बाहिर बसिरहेका हुन्छन्, बल आउँदा कतिबेला बलमा पुग्छन् भन्ने हेक्का अरुमा हुँदैन ।

प्राविधिक कमजोरीहरु साकिरीको खेलमा निकै कम देखिन्छन् । ५ फिट ७ इन्च अग्ला उनको खेलमा हुने कमजोरी उचाईले निम्त्याएको होइन । तर एरिएल पासमा भने साकिरीलाई विशेष कठिनाइ देखिन्छ । तथापी यसले अट्याकिङमा भने उनलाई कमजोर बनाएको छैन ।

लिभरपुलमा चम्कने हो भने २६ वर्षका साकिरीले आफ्नो गोल क्षमता भने बढाउनै पर्छ । उनले आˆनो करिअरमै कुनै पनि क्लबबाट एक सिजनमा १० भन्दा बढी गोल गर्न सकेका छैनन् । अब लिभरपुलमा उनले खेल्ने समय राम्ररी पाए भने त्यो कमजोरी पनि हट्न सक्छ ।

प्रशिक्षक जर्गेन क्लोपले अट्याकिङ राइट साइडमा मोहम्मद सलाहको स्थान साकिरीलाई दिने सम्भावना नरहे पनि उनले केही मौका भने पाउन सक्छन् । रोबर्टो फर्मिनो र सडियो मानेले गएको सिजनदेखि नै राम्रो गरिरहेकाले साकिरीले खेल्न समय धेरै पाउन भने कठीन नै छ ।

साकिरीले समय पाएको खेलमा उनलाई ४-३-३ को शैलीमा राइट साइडमा वाइड अट्याकरमा रुपमा देख्न पाइने छ । यसमा साकिरीलाई कुनै डर भने छैन । उनले आफूले जुनसुकै स्थानमा मौका पाए पनि राम्रो गर्ने बताएका छन् ।

लिभरपुल आएको केही समयमा उनले भनेका थिए, ‘म लिभरपुल आउन पाएर निकै खुसी छु । प्रशिक्षक क्लोपलाई मैले जर्मनी हुँदादेखि नै राम्ररी बुझिरहेको छु । यसैले यहाँ मेरो समय राम्रो हुने आशा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment