Comments Add Comment

आज बंगलादेशसँग भिड्दैछ नेपाल, यस्तो छ समीकरण

२२ भदौ, ढाका । साफ च्याम्पियनसिपमा नेपालले भोलि शनिबार आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । सेमिफाइनल प्रवेशको ढोका खोल्न नेपालका लागि ‘गर या मर’ को म्याच हो ।

बंगलादेशविरुद्ध जित हासिल गरे नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ भने हारले प्रतियोगिताबाट बाहिरिने सम्भावना प्रबल छ । बंगलादेशसित बराबरीमा रोकिए पनि नेपालको यात्रा कठिन हुनेछ ।

राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा स्थानीय समयअनुसार राति ७ बजे खेल सुरु हुनेछ ।

कप्तान विराज महर्जनले बंगलादेशसित जित हासिल गर्ने लक्ष्यका साथ मैदानमा उत्रिने बताए । उनले भने, ‘हामीले नसक्ने अवस्था होइन । बंगलादेशलाई पराजित गरेर सेमिफाइनल पुग्ने लक्ष्य छ ।’

विराजको अनुपस्थितिमा भुटानविरुद्ध कप्तानको जिम्मेवारी पाएका गोलरक्षक किरण चेम्जोङले पनि बंगलादेशमाथि जित हात पार्ने दाबी गरे । ‘पाकिस्तानसँगको खेल डिफेन्स लाइनको कमजोरीका कारण गुमाएका थियौं तर बंगलादेशसँग हामी त्यस्तो गल्ती गर्दैनौं’ उनले भने ।

यस्तो छ सेमिफाइनलको गणित

आयोजक बंगलादेश समूह चरणको दुबै खेलमा शतप्रतिशत जित हात पार्दै समूह एको शीर्ष स्थानमा छ । बंगलादेशले आफ्नो पहिलो खेलमा भुटानलाई २-० गोलअन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा पाकिस्तानमाथि १-० गोलको कठिन जित दर्ता गरेको थियो ।

दोस्रो स्थानमा रहेको नेपालले एक जित र एक हारसँगै ३ अंक बटुलेको छ । नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग २-१ गोलअन्तरले हार ब्यहोरेको थियो भने दोस्रो खेलमा भुटानलाई ४-० गोलले पराजित गरेको थियो ।

समूह चरणको अन्तिम खेल खेल्दै गर्दा सेमिफाइनल पुग्न बंगलादेश, नेपाल र पाकिस्तानबीच निकै कडा प्रतिस्पर्धा देखिन्छ देखिएको छ ।शनिबार स्थानीय समयअनुसार ४ बजे पाकिस्तानले समूह चरणको आफ्नो अन्तिम खेल भुटानसँग खेल्दै छ । अघिल्लो चरणको जित सुनिश्तित गर्न पाकिस्तानलाई पनि जित चाहिएको छ ।

नेपाल र बंगलादेशबीचको खेलले उसको भविष्य निर्धारण गर्छ । यद्यपि पाकिस्तान भुटानसँग पराजित भए उसको सेमिफाइनल पुग्ने सम्भावना कमजोर हुनेछ । त्यसपछि लगत्तै नेपाल र बंगलादेशबीचको खेलले समूह ए बाट सेमिफाइनल पुग्ने टिमको छिनोफानो गर्नेछ ।

नेपाल र बंगलादेशले भने भुटान र पाकिस्तानको खेलको नतिजालाई हेरेर रणनीति बनाउन पाउने छन् । सहायक प्रशिक्षक किरण श्रेष्ठले भने, ‘बंगलादेशसँगको खेल जति महत्वपूर्ण छ, पाकिस्तान र भुटानबीचको खेल पनि त्यति नै महत्वपूर्ण छ । हामी त्यही खेल हेरेर रणनीति बनाउँछौं ।’

पाकिस्तान भुटानसँग पराजित भए बंगलादेश एक खेल खेल्नुअघि नै सेमिफाइनल पुग्नेछ भने नेपालको बाटो पनि सहज हुनेछ ।

नेपाललाई फलामको च्यूरा

नेपालले बंगलादेशलाई पराजित गर्नु, यो पनि उसैको घरेलु मैदानमा त्यति सजिलो भने छैन ।

पछिल्लो दुई खेलको नतिजाले पनि बंगलादेशको राम्रो लयलाई देखाउँछ । बलियो डिफेन्स लाइन, छरितो मिडफिल्ड र आक्रमक फरवार्ड लाइन भएको बंगलादेश नेपालको लागि फलामको च्यूरा सावित हुने देखिन्छ ।

बंगलादेशका टोपु बरमान, विप्लो अहमद, मेहबुबुर रहमान लगायतका खेलाडी नेपालका लागि प्रमुख चुनौती बन्नेछन् ।

तर, नेपाल पनि कमजोर भने होइन । पाकिस्तानविरुद्ध खेल्दाको कमिकमजोरी सुधार गर्दै नेपालले भुटानमाथि शानदार जित हात पारेको थियो । नेपालले डिफेन्स लाइन बलियो बनाउँदै फरवार्डमा सुधार गर्नुपर्ने देखिन्छ । भुटानविरुद्ध पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाएका तथा खेलको म्यान अफ द म्याच घोषित भएका डिफेन्डर अनन्त तामाङ नेपाल सेमिफाइनल पुग्नेमा आशावादी छन् । तर, उनी डिफेन्समा कमजोरी रहेको स्वीकार्छन् ।

‘डिफेन्स लाइनमा जुन तालमेल हुनुपर्ने हो, त्यो भएको छैन । तर, पाकिस्तानको खेलमा भन्दा भुटानको खेलमा सुधार भएको छ । बंगलादेशको खेलमा पनि हामी उत्कृष्ट खेल देखाउने छौं’ अनन्तले भने ।

हेड टु हेडमा बंगलादेश अगाडि

साफ च्याम्पियनसिपमा नेपाल र बंगालदेश अहिलेसम्म ६ पटक आमनेसामने भएका छन्, जसमा नेपालले २ पटक मात्र जितेको छ भने बंगलादेशले ४ पटक जितेको छ ।

सन् १९९५ मा साउथ एसियन गोल्ड कपमा पहिलो पटक यी दुई टिमबीच प्रतिस्पर्धा भएको थियो । यो खेलमा नेपाल २-० गोल अन्तरले पराजित भएको थियो । त्यसपछि सन् १९९९ मा नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा बंगलादेशसँग २-० गोलले पराजित भएको थियो ।

२००३ मा ढाकामै भएको साफ च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग समूह चरणमै १-० गोलले पराजित भएको थियो । २००५ मा नेपाल बंगलादेशसँग २-० गोलले पराजित भएको थियो ।

त्यसयता भने नेपालले बंगलादेशलाई पराजित गरेको छ । सन् २०११ मा भएको साफ च्याम्पियनसिपमा बंगलादेशलाई १-० गोलअन्तरले पराजित गरेको थियो । त्यस्तै काठमाडौंमा सम्पन्न २०१३ को साफ च्याम्पियनसिपमा २-० को जित निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment