Comments Add Comment

कञ्चनपुर घटनाबारे आईजीपी खनाल भन्छन्-नालायक नेतृत्वले समस्या भयो

२२ भदौ, कञ्चनपुर । निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा प्रहरीको भूमिकालाई लिएर स्थानीयले आक्रोश पोखेका छन् । स्थानीयको आक्रोशपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भनेका छन् – तत्कालीन प्रहरी प्रमुख (एसपी) लाई निलम्वन गरिसकिएको छ, यदि उ दोषी भयो भने निलम्वन मात्रै होइन, नोकरीबाट समेत बर्खास्त गर्छु ।’

राष्ट्रिय मानवअधिकार आयोगले महेन्द्रनगरमा आयोजना गरेको ‘महिला हिंसा न्यूनीकरण, मानवअधिकारको संरक्षण एवं सुरक्षा: नेपाल प्रहरीको जवाफदेहीता’ बिषयक गोष्ठीमा प्रहरी प्रमुख सर्वेन्द्र खनाल समेत उपस्थित थिए । सो कार्यक्रममा सहभागीहरुले लामो समयसम्म दोषी पत्ता लगाउन नसकेको र स्थानीयबासीलाई अनावश्यक यातना दिएको भन्दै प्रहरी नेतृत्वको कडा आलोचना गरे।

महिला अधिकारकर्मी शारदा चन्दले उक्त घटनाको प्रमाण प्रहरी स्वयंले नष्ट गरेको आरोप लगाइन् । ‘हामीले पटक-पटक घटनाको बिषयका कुरा गर्दासमेत प्रहरीले सुनेन्’ चन्दले भनिन्, ‘यसको जिम्मेवारी प्रहरीले लिनुपर्छ ।’

अर्की महिला अधिकारकर्मी मीना भण्डारीले अनुसन्धानमा लापरवाही गर्ने प्रहरी उपरीक्षक डिल्लीराज बिष्टलाई कारवाही गर्न माग गरिन् ।

अन्तरपार्टी महिला सञ्जालकी जिल्ला अध्यक्ष प्रेमवती रानाले प्रहरीले आफुहरुसँग समेत अपशव्द बोलेको आरोप लगाइन् । ‘हामीले अनुसन्धान राम्रोसँग गर्नुपर्‍यो भनेर आवाज उठाउँदा उल्टो गाली खानुपर्‍यो’ रानाले भनिन् ‘यस्तो व्यवहार देखाउने प्रहरीलाई हामीले कसरी विश्वास गर्ने ?’

नालायक नेतृत्वले समस्या भयो : खनाल

सहभागीहरुका प्रश्नको जवाफ दिँदै प्रहरी महानिरीक्षक खनालले प्रहरीको जिल्ला नेतृत्व नालायक भएका कारण समस्या बल्झिएको बताए । ‘घटनाको अनुसन्धानमा प्रहरीले पक्कै पनि बिगारेको हो’ खनालले भने ‘संगठनभित्रका केही यस्तै व्यक्ति भएको कारण संगठनको बद्नाम भइरहेको छ ।’

अाइजीपी खनालले भने- तत्कालीन प्रहरी प्रमुखलाई निलम्वन गरिसकिएको छ, यदि उ दोषी भयो भने निलम्वन मात्रै होइन, नोकरीबाट समेत बर्खास्त गर्छु ।

दोषी जसरी पनि दोषीलाई कानुनी दायरामा ल्याउने भन्दै उनले उनले प्रहरीमाथि अविश्वास नगर्न आग्रह गरे । ‘मलाई आज मेरो जीवनमै सबैभन्दा बढी दुःख लागेको छ’ उनले भने ‘यो घटनाले मलाई पनि लज्जित बनाएको छ ।’

अाइजीपी खनालले भने ‘तत्कालीन प्रहरी प्रमुखलाई निलम्वन गरिसकिएको छ, यदि उ दोषी भयो भने निलम्वन मात्रै होइन, नोकरीबाट समेत बर्खास्त गर्छु ।’

खनालले गलत प्रवृत्तिका व्यक्तिहरु प्रहरीमा अनटाउने बताए । दोषी जो कोही भए पनि कारबाही गर्ने पटक-पटक दोहोर्‍याPका आईजीपी खनालले भने, ‘सबै दोष प्रहरीमाथि आउँदा दुःखी छु, तपाईहरुको आक्रोश स्वाभाविक छ, तर अब अनुसन्धानमा सहयोग गर्नुहोस्, प्रहरीलाई विश्वास गर्नुहोस् ।’

आयोग भन्छ : अनुसन्धानको अनुगमन गर्छौं

राष्ट्रिय मानवअधिकार आयोगले निर्मला हत्याबारे भइरहेको अनुसन्धानको अनुमगन गर्ने बताएको छ । आयोगकी प्रवक्ता मोहना अन्सारीले भनिन्, ‘यस घटनाको अनुसन्धान र अभियोजनमा प्रहरीले तदारुकता देखाउनुपर्छ ।’

काठमाडौंमा घटना भएको १० मिनेटमै आउने प्रहरीले कञ्चनपुरमा पीडितले पटकपटक आफ्नो समस्या राख्दा पनि वास्ता नगर्ने गरेको भन्दै अन्सारीले प्रश्न गरिन्, ‘के काठमाडौंका मात्रै जनता हुन् ? दुरदराजमा बस्ने जनता होइनन् ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment