Comments Add Comment

‘आदिकवि भानुभक्तको विरोध गर्ने देशद्रोही हुन्’

२३ भदौ, काठमाडौं । कवि रामकाजी कोने साहित्यको मूलधारमा उत्तिसाह्रो सुनिने नाम होइन । पेशाले पर्यटन व्यवसायी कोने मुक्तककार मात्रै होइनन्, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्षसमेत हुन् । कुनैबेला सरुभक्त, शंकर लामिछाने, भूपि शेरचन, अशेष मल्लले उचाइमा पुर्‍याएको मुक्तक पछिल्लो छिमलमा सस्तो रतिरागका टुक्रामा सीमित हुन थालेपछि मुक्तक प्रतिष्ठान खोलेर यसको गुणवत्तालाई व्यवस्थित गरिरहेको कोने बताउँछन् ।

कोनेको योगदान मुक्तकको विकासमा मात्र सीमित छैन । उनले भानुभक्तको जन्मस्थानलाई साहित्यिक पर्यटनको विकासमा महत्वपूर्ण योगदान दिने प्रयास गरिरहेका छन् । पश्चिमाञ्चल विकास मञ्चका अध्यक्षसमेत रहेका कोनेले भानुभक्तको जन्मस्थानलाई साहित्यिक पर्यटनका रूपमा विकास गर्न भानुभक्त बृहत विकास योजनाको निर्माण गरेका छन् ।

कोनेकै अगुवाइमा जंगलबीच अस्तित्व गुमाइसकेको भानुभक्तको जन्मघरको उत्खनन गरेर त्यही जगमा भानुभक्तकालीन घर निर्माण सुरु भएको छ । स्थानीय जनप्रतिनिधिहरूसँग मिलेर भानुभक्तको घरसम्म बाटो पुर्‍याउने र त्यहाँ २४ कोठाको पर्यटकीय गेस्ट हाउस बनाउने काम सुरु भएको छ ।

नेपाली भाषा र साहित्यमा रुचि राख्ने प्रौढ तथा विद्यार्थीलाई नियमित अवलोकन गराउने उद्देश्यले यसको पुनर्निर्माण प्रारम्भ गरेको कोने बताउँछन् । करिब २१ करोड लागतमा बन्न लागेको भानुभक्तीय पर्यटकीय क्षेत्रमा रामायण हाउस, पुस्तकालय, चलचित्र भवन र चमेना गृह समेतको निर्माण हुने उनी बताउँछन् ।

यिनै मुक्तक प्रतिष्ठानका अध्यक्ष एवं भानुभक्तका भक्त रामकाजी कोनेसँग अनलाइनखबरका लागि अश्विनी कोइरालाले गरेको कुराकानीः

रामकाजी त नाम भयो, यो कोनेचाहिँ साहित्यिक फुर्को हो कि ?

गुरुङ एउटा जाति हो । कोने त्यसको एउटा थर हो । म गुरुङको छोरो हुँ ।

गुरुङको छोरा भएर गुरुङको संस्कृति र भाषा जोगाउनुपर्नेमा तपाईं त भानुभक्त जोगाउनेतिर लाग्नुभएको छ, किन ?

खै कुन दिनदेखि हो, हामी नेपालीलाई नेपाली नबनाएर गुरुङ, राई, लिम्बु र केके जाति बनाइयो । भएको, मिलेको कुरा पनि भत्काउनतिर लाग्यौं । म गुरुङको छोरा, मेरी श्रीमती गुरुङकी छोरी । हामी दुवै गुरुङ भाषा बुझ्छौं । तर, पनि हामी दुबैको बोल्ने भाषा नेपाली हो । मेरो छोरा सतप्रतिशत गुरुङ, तर ऊ नेपालीभन्दा अंग्रेजी बोल्न सहज महसुस गर्छ । यो उदाहरण दिएर मैले के बुझाउन खोजेको हो भने हामी भैरहेको कुरा संरक्षण गर्न छाडेर नभएको कुरा खोतल्नतिर किन लाग्यौं ? हामीलाई यस्तो बुद्धि कसले सिकाइरहेको छ ?

मैले मिलेको कुरा भत्काउनतिर नलागौं भन्दा मेरा जनजाति साथीहरूबाट धेरै गाली खाएको छु । तर, सत्य कुरा यही हो । अहिले राई र मगरबीच, मधेसी र पहाडेबीच मध्यस्थता गर्ने भाषा कुन हो ? सबै नेपालीलाई बुझाउन तपाईंले कुन भाषामा यो समाचार पस्कनुहुन्छ ? आखिर एउटा साझा भाषा चाहिँदो रहेछ । त्यसोभए यो भाषाको संरक्षण गर्ने कि नगर्ने ? कुरा यति मात्रै हो । भ्ाानुभक्तले हामीलाई नेपाली बनाए, उनलाई गाली गर्ने मान्छे देशद्रोही हो ।

तैपनि, आफ्ना बुबा-हजुरबुबाले बोलेको भाषा…

सुन्नुस्, तपाईंले जिद्दी नै गर्नुभयो । म एउटा मुक्तकमै तपाईंको प्रश्नलाई जवाफ दिन्छु ।

नौलो चलन एउटा चलाए कसो होला ?

हामीबीचको बिवाद मिलाए कसो होला ?

संसारले बुझ्ने सांकेतिक भाषालाई नै

राष्ट्र भाषा नेपालको बनाए कसो होला ?

आफ्ना सन्तानलाई विदेश पठाउँदा के-के न हुन्छ भन्ने आमाबुबाहरू काठमाडौंमा आजभोलि रोइरहेका छन् । किन, थाहा छ ? किनभने उनीहरूका नाति-नातिनाहरू नेपाली पनि बोल्न जान्दैनन् । नेपाली भाषाको अवस्था यस्तो भइसक्यो । अब चिन्ता केको गर्ने ? बाँच्दैन भन्ने थाहा भएको रोगीको कि, अस्पताल लैजाँदा बाँच्छ भन्ने रोगीको ? तपाईं आफै मूल्यांकन गर्नुहोस् ।

निर्देशक यादव खरेलले ‘आदिकवि भानुभक्त’ चलचित्र बनाउँदा सुटिङका लागि घर बनाएका थिए । त्यो आफैंमा पर्यटकीय क्षेत्र बनेको छ । फेरि त्यहँ नयाँ घर, होटेल, पुस्तकालय अनेक किन बनाउनुपर्‍यो ?

धेरैलाई अहिले पनि के भ्रम छ भने तनहुँको रम्घाकोटमा भानुभक्तको घर छ । भानुभक्त चलचित्र सुटिङ गर्न यादव खरेलले भानुभक्तीय समय बोध गराउने एउटा कामचलाउ घर बनाउनुभएको थियो । त्यो घर सुटिङ गर्न सजिलो होस् भनेर सुगम ठाउँमा बनाइएको थियो । धेरैले त्यो घरको अवलोकन पनि गरे । तर, त्यो घर पनि भत्किइसक्यो । घर भत्किएको समाचार र त्यसको सरक्षण हुन नसकेको कुरा थाहा पाएपछि मलाई औडाहा भयो र यो ऐतिहासिक धरोहर जोगाउनुपर्छ भनेर म लागेको हुँ ।

अध्ययनका क्रममा के थाहा भयो भने भानुभक्त जन्मिएको ठाउँमा घना सामुदायिक जंगल छ । त्यहाँ जान बाटो घाटो पनि छैन । विदेशमा आफ्ना भाषा र संस्कृतिका लागि यस्ता श्रष्टालाई कसरी संरक्षण गरिन्छ भनेर देखेर आएको छु । त्यस्ता ठाउँ पर्यटकीय गन्तव्य बन्ने गरेको छ । नेपाली भाषाका आदिकविको भने यो हविगत ।

राजनीतिक पार्टीको भर्ती केन्द्र भएपछि सरकारी संस्थाले कस्ता कस्ता काम गर्छ भन्ने तपाईं हामी सबैलाई थाहा भएको कुरा हो । सरकार परिवर्तनपिच्छे कर्मचारी परिवर्तन हुने भएपछि र भाषा र संस्कृतिको माया नभएका मानिस त्यहाँ भएपछि के हाल हुन्छ ?

आखिर यस्तो कामकै लागि नेपाल सरकार छ । सरकारले भानु विकास समितिका नामले त्यहाँ अख्तियारी दिएर बजेट विनियोजन गरिरहेको छ । यसले काम गरेको छैन र ?

यस विषयमा टिप्पणी गर्नु अरूलाई दोष दिने कुरा हुन जान्छ । यतातिर नजाऔं । तर, भन्नैपर्ने कुरा के छ भने संसारमा १० करोडभन्दा बढीले नेपाली भाषा बोल्छन् । पृथ्वीनारायण शाहले भूगोल एकीकरण गरेर नेपाल भन्ने देश स्थापना गरे । यो एउटा सानो भूगोल हो । भानुभक्तले विस्तार गरेको नेपाली भाषा संसारको कुनाकुनामा पुगिसक्यो ।

भोलिको पुस्तालाई नेपाली भाषाको प्रचार-प्रसार कसरी भयो भन्ने बुझाउन भानुभक्तको जन्म, उनको कर्मलाई संरक्षण गर्नुपर्छ । यसका लागि एकपटक ठूलो बजेट निकालेर गुरुयोजनासहित अघि आउनु आवश्यक थियो । त्यो हुन नसकेपछि र राजनीतिक पार्टीको भर्ती केन्द्र भएपछि सरकारी संस्थाले कस्ता कस्ता काम गर्छ भन्ने तपाईं हामी सबैलाई थाहा भएको कुरा हो । सरकार परिवर्तनपिच्छे कर्मचारी परिवर्तन हुने भएपछि र भाषा र संस्कृतिको माया नभएका मानिस त्यहाँ भएपछि के हाल हुन्छ ? त्यसको विषयमा पनि कुरा नगरौं ।

अरूलाई दोष दिनुअघि आफूले काम सुरु गर्नु पर्छ र बनेको सरकारी निकायलाई सहयोग गर्नुपर्छ भनेर हामी व्यवसायी लागेका हौं । त्यसका लागि साहित्य र भाषाको महत्व बुझेको मानिस नै लाग्नुपर्दथ्यो । किनभने अरूलाई यसको न माया छ, न महत्व नै थाहा छ । करोडौं बजेट लाग्ने भएकाले म एक्लै यो काम गर्न सक्तिन थिएँ ।

न त भानुभक्तको महत्व बुझ्ने गरिब साहित्यकारहरू लागेर पनि केही हुनेवाला थियो । यही कारण पहिले मैले एउटा गुरु योजना बनाएँ । त्यसमा चर्चित व्यवशायीहरूलाई साथमा लिएँ । यो टिम बनेपछि नेपाल सरकारलाई घच्घच्याउने र तिमी गर्छौ भने गर, नत्र हामी गर्छौं, तिमीलाई लाज लाग्ला भनेर करायौं । ८ वर्षदेखि हामी लागेका लाग्यै छौँ । यही दबाब र कचकचले भानुभक्त जन्मिएको ठाउँसम्म कच्ची बाटो सरकारले खन्यो । त्यसमा हामीले डेढ करोड लगानी गरेर व्यक्तिगतरूपमा भानुभक्तकालीन घर बनाउँदै छौं ।

त्योबेला उनको घरजस्तो थियो, लामो अनुसन्धानबाट ठीक त्यस्तै घर निर्माण हुँदै छ । अब सरकारलाई हाम्रो गुरु योजनाअनुसार गेस्ट हाउस, रामायण भवन, चमेना गृह, पुस्ताकालय बनाउन दबाब दिइरहेका छौं ।

तपाईहरूको प्रयासमा सरकारले बजेट त देला । भवनहरू पनि निर्माण होलान् । तर, अन्य सरकारी परियोजनाझैं यो निकम्मा हुँदैन भन्ने के ग्यारेन्टी ?

सबैभन्दा पहिले त यसलाई साहित्यिक पर्यटन केन्द्रका रूपमा विकास गर्नुपर्छ । पोखरा घुम्न जाने विद्यार्थीलाई बाटैमा पर्ने भानुभक्तीय क्षेत्र हेर्न जाने वातावरण बनाउने, संसारभरिका नेपालीहरूलाई यहाँ आउने, एक रात बस्ने र साहित्यिक रस लिने वातावरण बनाउने योजना बनाएका छौं । विद्यार्थीलाई थोरै शुल्क लिने, अरूलाई अलि बढि शुल्क लिने । भानुभक्तले लगाउने बिर्खे टोपीलगायत त्योबेलाका सोभिनियरहरूको बिक्री वितरण गर्ने । यसरी संस्था आफैं चल्ने व्यवस्था मिलाउनुपर्छ । सरकारलाई छाड्ने होइन, माथि भनिएजस्तो स्थानीय जनता, व्यवसायी र सरकारलाई सँगै राखेर काम गर्ने योजना हो ।

यसैगरी लथालिङ्ग छाड्ने हो र आफ्नो सम्पत्तिमा गर्व नगर्ने हो भने त नेपाली भाषा र संस्कृति पनि बर्बाद हुन्छ । यो कुरा आफ्नो भाषा संस्कृति जसले गुमाइसकेको छ, उसले जति गहिरो महसुस गर्छ, अरूले गर्न सक्दैन ।

तपाईंको विचारमा भानुभक्त नभएको भए नेपाली भाषा फैलिने थिएन ?

थिएन । त्योबेला धार्मिक कुराको ठूलो महत्व थियो । संस्कृत पढ्न नजान्ने मानिसले घर घरमा नेपाली रामायण राख्न थाले । घरघरमा त्यही भाषा प्रचलित भयो । आज भारतका नेपाली भाषीहरूले भानुभक्तलाई किन यति धेरै मान्छन् ? किनभने उनीहरूलाई पहिचानको पीडा के हो थाहा छ । त्यो बेला संस्कृत भाषालाई नेपालीकरण गरेको भनेर पण्डितहरूले भानुभक्तलाई कति गाली गरेका थिए ? त्यसको लेखाजोखा छैन ।

यस्तो क्रान्तिकारी काम गर्ने भानुभक्तलाई अहिलेको अवस्थामा होइन, त्योबेलाको अवस्थामा हेर्नुपर्छ । नेपाली भाषा फैलिनुमा उनको योगदान भएकैले उनको संरक्षण गर्नुपर्छ भनेर रातदिन लागेका हौं । अरुको मुख ताक्ने होइन, आफै गर्नुपर्छ र सरकारलाई सहयोग गर्नुपर्छ भनेर मेहेनत गरेका हौं ।

तपाईं पर्यटन व्यवसायी मात्रै भएको भए भानुभक्तसम्बन्धी गुरु योजना बन्ने थियो ?

पक्कै बन्ने थिएन । मैले भानुभक्तको विकासका लागि धेरै व्यवसायी साथीहरूलाई सहयोग गर्न अनुरोध गरेँ । तर धेरैलाई यसको महत्व नै थाहा छैन । वास्तवमा कवि नभएको भए र नेपाली भाषा साहित्यको महत्व नबुझेको भए म पनि पैसा मात्रै ठूलो कुरा हो भन्ने ठान्ने थिएँ हुँला ।

अनौठो कुरा त जो व्यक्तिले व्यवसाय पनि गरेको छ र साहित्य पनि बुझेको छ, उसले यो परियोजनालाई सुन्ने वित्तिकै सहयोग गरे । तर जसले व्यवसाय मात्रै बुझेको छ, उसलाई मैले गरेको सहयोगको कति ठूलो महत्व छ भन्ने नै थाहा छैन । खासमा भानुभक्त, देवकोटा बुझ्न नेपाली भाषा र संस्कृतिको माया हुनै पर्छ ।

तपाईंलाई साहित्यमा कसरी रस पस्यो ?

सानैदेखि हो । मेरो हजुरबुवा रामायणलगायत केही संस्कृतका श्लोक भन्नुहुन्थ्यो । जेठो छोरो भएका कारण र बुवा अलि अव्यावहारिक भएका कारणले सानैदेखि घरको दायित्व मेरो हातमा पर्‍यो र व्यापारी हुन पुगेँ । किनभने जागिर खाएर मेरो ठूलो परिवार व्यवस्थापन गर्न सक्तिन भन्ने लाग्यो । नेपाली विषय लिएर पढेका कारण यसको महत्व बुझेँ । कलेजमा छँदा पहिलो नेपाली नाटककार पहलमान सिंह स्वाँरको नाटक मञ्चन गरेको थिएँ ।

नेपाली साहित्य क्षेत्रमा मुक्तकलाई गति गहिरो विधा मानिँदैन । मुक्तक लेखकलाई सिकारु कवि मानिन्छ । यसलाई नै आफ्नो क्षेत्र किन बनाउनुभयो ?

किनभने जहाँ विग्रीएको छ, हामी जस्तो मानिसले त्यहीँ सपार्नुपर्छ । मुक्तक कविताको सानो अंश हो । चार लाइनमा यसले एउटा गम्भीर कुरा भनिसक्छ । र चेतनालाई झंकृत पार्छ । चेतन कार्कीले लेख्नुभएको एउटा मुक्तकलाई उदाहरणको रूपमा पेस गर्छु-

रूप होस्, अभिमान नहोस्, सम्भवै छैन

बैंस होस्, अभिमान नहोस्, सम्भवै छैन

क्रान्ति होस्, बलिदान नहोस्, सम्भवै छैन

नेता होस्, बेइमान नहोस्, सम्भवै छैन ।

अब यति थोरै शब्दमा यति धेरै भन्न सक्ने क्षमता मुक्तकमै हुन्छ । यसमा विकृति भित्रिएपछि र म पनि मुक्तक लेखक भएपछि यसैलाई व्यवस्थित र समृद्ध बनाउन मुक्तक प्रतिष्ठान खोलेका हौं । किनभने लक्ष्मीप्रसादले पनि मुक्तक लेखेका छन् र लेखनाथले पनि मुक्तक लेखेका छन् ।

आज नेपाली समाजका जसलाई हामी चर्चित लेखक, कवि भनेर सम्मान गर्छौं, उहाँहरूले सार्वजनिक मञ्चमा सुनाउने सिर्जना पनि मुक्तक नै हो । यति महत्वपूर्ण विधालाई अघि बढाउन कोही त आउनै पर्छ, हामी मुक्तक लेख्ने केही साथीहरू अघि सरेका हौं ।

तपाईंहरूले वर्ष वर्षमा सःशुल्क मुक्तक सम्मेलन गर्नुहुन्थ्यो, यसमा अनियमितता किन ?

खासमा मुक्तक सम्मेलन देश दुखेको बेला मात्रै गर्ने योजना बनाएका कारण यस्तो भएको हो । २०७० सालमा दार्चुलामा ठूलो बाढी गयो । त्यसलाई सहयोग गर्न मुक्तक सम्मेलन गर्‍यौं र त्यसबाट उठेको  १ लाख ७ हजार रुपैंया प्रधानमन्त्री राहत कोषमा  दाखिला गर्‍यौं ।

सिन्धुपाल्चोकमा ०७१ सालमा पहिरो गयो र केही व्यक्तिको ज्यान गयो । त्यसमध्ये वनटाँडी माविका केही विद्यार्थीको पढाइ बन्द हुने अवस्था आयो । हामीले उनीहरूसहित त्यस्ता विद्यार्थीको पढाइ सुचारु गराउन फेरी मुक्तक सम्मेलन आयोजना गर्‍यौं र त्यसबाट उठेको ४ लाख रुपैंयाले त्यहाँका समस्याग्रस्त विद्यार्थीलाई सहयोग गर्न अक्षयकोष खडा गर्‍यौं ।

त्यसैगरी ०७२ सालमा भुकम्प गयो । त्यो बेला पनि यस्तै सम्मेलन गरेर प्रधानमन्त्री राहत कोषमा ३ लाख ७२ रुपैंया जम्मा गर्‍यौं । तर, ०७३ सालमा देशमा त्यस्तो ठूलो दैवी प्रकोप भएन । त्यसकारण हामीले त्यो वर्ष यस्तो कार्यक्रम राखेनौं । अघिल्लो वर्ष भने तराईमा ठूलो बाढी आयो । सहयोग जुटाउन पुनः सम्मेलन अयोजना गर्‍यौं ।

यी सबै कार्यक्रमले के पनि संकेत गरेको छ भने पैसा तिरेर साहित्य सुन्न मानिस आउँदैनन् भन्ने कुरा चिर्न हामी सफल भएका छौँ । मुक्तकको महत्व पनि यसले स्थापित गरेको छ ।

नयाँ के गर्दै हुनुहुन्छ ?

मुक्तकका तीन पुस्तक प्रकाशित गरिसकेँ । दैनिक मुक्तक गुन्गुनाउँदै दिन सुरु हुन्छ र मुक्तक गुन्गुनाउँदै निद्रा लाग्छ । व्यापार त केवल व्यवहार चलाउन गर्छु । मन त साहित्यिक हो, यसले साहित्य बाहेक अरू केही सोच्नै सक्तैन ।

हामीले व्यक्तिगत होइन, संस्थाको कुरा सोधेको….

नेपालका २०१ जना मुक्तककारका संयुक्त संग्रह निकाल्दैछौँ । यसले नेपाली मुक्तकको एउटा मानक स्थापित गर्नेछ भन्ने विश्वास छ । यसले मुक्तक सिकारु लेखकले लेख्ने कविता होइन, एउटा गम्भीर विधा हो भन्ने स्थापित गर्नेछ भन्ने विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment