Comments Add Comment

आजका पत्रपत्रिकाः प्रचण्डको अबको निशाना कता ?

२४ भदौ, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषय उठाएका भए पनि पहिलो प्राथमिकतामा भने नुवाकोटमा भएको हेलिकोप्टर दुर्घटना परेको छ । शनिबार नुवाकोटको बुर्सङचेतस्थित मैलुङपाखा जंगलमा अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना हुँदा पाइलटसहित ६ को मृत्यु भएको थियो ।

साफ च्याम्पियनसिप फुटबलमा शनिबार नेपालले बंगलादेशमाथि निकालेको जितलाई पनि पत्रपत्रिकाहरुले उत्तिकै महत्त्व दिएर छापेका छन् ।

त्यसैगरी नापीको नक्सामै लिम्पियाधुरा गायब भएको, साक्षरता अभियान नारामै सीमित भएको, धर्म निरपेक्षता राख्दा भारतले नाकाबन्दी लगाएकोलगायत खबरले पनि आजका पत्रपत्रिकाको पहिलो पृष्ठमा स्थान पाएका छन् ।

धर्मनिरपेक्षता राख्दा भारतको नाकाबन्दी

नुवाकोटमा शनिबार भएको हेलिकोप्टर दुर्घटनाको विषयमा मुख्य समाचार लेखेको कान्तिपुरले भारतीय नाकाबन्दीबारे बाबुरामले गरेको नयाँ खुलासालाई प्राथमिकता दिएर छापेको छ । संविधानमा धर्मनिरपेक्षता नराख्न भारतले दबाव दिएको र नसुनेपछि नाकाबन्दी लगाएको बाबुरामले बताएका छन् ।

तत्कालीन संविधानसभाको संवैधानिक संवाद तथा राजनीतिक सहमति समितिका सभापति भट्टराईले त्यतिबेला भारतले संविधान निर्माणमा दिएको दबाव फास्ट ट्रयाक निर्माणको जिम्मेवारीका लागि पनि रहेको खुलाए ।
बाबुरामका अनुसार १ जना भारतीय प्रतिनिधि आएर शीर्षस्थ नेतृत्वलाई यस्तो सन्देश दिएका थिए ।

प्रचण्डको अबको निशाना कता ?

साप्ताहिक रुपमा आइतबार प्रकाशित हुने नेपाल साप्ताहिकले प्रचण्डको पछिल्लो चालबाजी र रणनीतिमाथि केद्रित रहेर कभर स्टोरी लेखेको छ । आफ्नै पार्टीका अर्का अध्यक्ष केपी ओलीको प्रतिरक्षा नगरी मौन बस्दै आएका प्रचण्ड आफ्नो दुनो सोझ्याउन भूराजनीतिक निसाना लगाउन अग्रसर बनेको ठहर नेपाल साप्ताहिकले गरेको छ ।

‘सरकारप्रति आम उत्साहको पारो झर्दै गरेको चर्चा हुँदै गर्दा यता प्रचण्डमा बेचैनी शुरु भएको छ’, नेपालले अगाडि लेखेको छ, ‘सार्वजनिक रुपमा समेत सरकारको कामबारे गम्भीर समीक्षा शुरु भइरहेको छ भन्नुजस्ता दृष्टान्तले प्रधानमन्त्रीको कुर्सीमा विराजमान हुन प्रचण्ड ओलीको असफलताको पर्खाईमा छन् भन्ने पुष्टि हुन्छ ।’

बाहिर जे जस्तो प्रचारबाजी भइरहे पनि प्रचण्डको भारत भ्रमण सन्देहको घेराबाहिर नरहेको समाचार सामग्रीमा उल्लेख छ ।

प्रचण्डले केही दिनअघि खुमलटारमा पत्रकारहरु बोलाएर सरकारको प्रतिरक्षामा शब्द खर्चिए पनि त्यो सार्वजनिक खपतका लागि भएको भन्दै नेपालले उनको नियतमाथि प्रश्न उज्याएको छ । ‘प्रधानमन्त्री ओलीले ११ भदौमा बालुवाटारमा करिब १ दर्जनभन्दा बढी सम्पादक निम्त्याएर पोयो फुकाएको नवौं दिन प्रचण्डले पनि आफ्नो निवास खुमलटारमा केही थान पत्रकार डाकेर बह पोखे’, नेपाल साप्ताहिकले लेखेको छ, ‘उनले सरकारको प्रतिरक्षा गर्नुको साटो आफ्नै सत्तारोहणका लागि उचित मौका कुरेको आरोप लाग्दै गर्दा सायद सार्वजनिक खपतका लागि बोल्न आवश्यक ठानेका होलान् ।

विवाह गर्दा शिक्षिका बर्खास्त

सिन्धुलीको एक विद्यालयकी शिक्षिकालाई विवाह गरेकै कारण नोकरीबाट निकालिएको नागरिक दैनिकमा खबर छ ।

समाचार अनुसार फिक्कल गाउँपालिका–३ स्थित कालिका प्राथमिक विद्यालयको बाल विकास केन्द्रकी सहयोगी कार्यकर्ता रीमा खत्रीलाई यसरी निकालिएको हो । फिक्कलको खोलागाउँ निवासी रीमाले जिल्लाकै गोलञ्जोर गाउँपालिकाको डुडमञ्ज्याङमा विवाह गरेर गएपछि उनलाई विद्यालय व्यवस्थापन समिति र वडा कार्यालयले कामबाट हटाएको हो ।

०७४ जेठमा विवाह गरेकी रीमालाई विद्यालयले कात्तिकमै बर्खास्त गरिएको पत्र थमाएको थियो । तर उनले जिल्ला शिक्षा कार्यालयमा हारगुहार गरेर अहिलेसम्म सोही विद्यालयमा काम गरिरहेकी छन् । फेरि अहिले उनको पद रिक्त रहेको भन्दै विद्यालयले विज्ञापन निकालेपछि उनी न्याय खोज्दै अदालत पुगेकी छन् ।

नापीको नक्सामै लिम्पियाधुरा गायब

अन्नपूर्ण पोस्टले नापीको नक्सामै लिम्पियाधुरा गायब भएको समाचार प्रकाशित गरेको छ ।

कालापानी क्षेत्र गायब पारिएको नक्कली नक्सा सरकारले प्रयोग गर्दै आएको नापी विभागले देखाएको छ । तर, विभागकै आधिकारिक नक्सामा वर्षौंदेखि लिम्पियाधुरा छुटिरहेको पाइएको छ ।
अन्नपूर्णका अनुसार यसले नेपालको आकार करिब ३ सय १० वर्गा किलोमिटर खुम्च्याएको छ ।

भारतले नै बनाएका पुराना नक्सामा पनि लिम्पियाधुरा नेपाली भूमि रहेको प्रष्ट देखिन्छ । उक्त इलाका भारतले ओगट्ने क्रम बढेपछि नेपालले छाड्दै गएको पाइन्छ ।

अन्नपूर्ण लेख्छ– नेपालको पूर्व–पश्चिम सिमाना मेची–महाकाली नदी हुन् । सुगौली सन्धिमा पनि त्यही छ । तर, पश्चिममा महाकाली वारिको ठूलो भू–भागमा भारतको हस्तक्षेप नेपाली अधिकारीहरुले रोक्न सकेका छैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment