Comments Add Comment

नेपाली फुटबल फ्यान: जो खेलाडीलाई पछ्याउँदै बंगलादेश पुगे

२४ भदौ, ढाका । साफ च्याम्पियनसिपमा नेपाली खेलाडीले मैदानमा देखाएको कलासँगै १२ औं खेलाडीका रुपमा चिनिने दर्शकको साथ ठूलो छ ।

समूह चरणको अन्तिम खेलमा बंगलादेशविरुद्ध खेलको ३३ औं मिनेटमा बिमल घर्ती मगरले गोल गर्नु अघिदेखि नै बंगलादेशकै मैदानमा नेपाल … नेपालको आवाज चर्को थियो ।

साफ च्याम्पियनसिपले बंगलादेशमा फुटबलको रौनक बढिरहँदा घरेलु टोली बंगलादेश नै भने नेपालसँगको खेल २-० ले हारेर निराश बन्यो ।

बंगलादेशसँगको खेलमा मात्रै होइन, पाकिस्तान र भुटानसँग खेल हुँदा पनि नेपाली दर्शकको उपस्थिति राम्रो थियो ।

बंगबन्धु राष्ट्रिय रंगशालामा नेपालको जितमा खेलाडीहरुले जस्तो मेहनत गरे उस्तै मेहनत दर्शकको पनि देखियो ।  हातमा नेपालको झण्डा, गौतम बुद्धको चित्रअंकित टिसर्ट, अनि अनुहारमा नेपाल लेखाएर मैदानमा उपस्थित उनीहरु नेपालीपन झल्किने गीत र नेपाल…नेपाल.. को आवाजसँगै निरन्तर हौसला बढाइरहेका थिए ।

उनैमध्येकी एक हुन्, विनिता काफ्ले । कानुनकी विद्यार्थी उनी नवलपरासीबाट फुटबल हेर्नकै लागि टिकट काटेर बंगलादेश आइपुगिन् । उनीकै समूहमा नेपालबाटै गएका चार साथी पनि छन् ।

विनिता भन्छिन्, ‘फुटबल त रमाइलो लाग्छ, अरु खेल पनि हेर्न मन लाग्छ । २०१४ मा नेपालले टी-२० विश्वकपमा पनि यहाँसम्म आएकी थिएँ । नेपालले खेलेको हरेक खेल मैदानमै गएर हेर्न मन पर्छ ।’

विनिता जस्तै फुटबल क्रेजी हुन्, भक्तपुर सूर्यविनायककी मनिता दाहाल पनि । पहिलो पटक बंगलादेशमा पाइला टेकेकी मनिता विदेशी भूमिमा फुटबल हेर्न पाउँदा खुशी लागेको बताउँछिन् ।

पद्मकन्या क्याम्पसमा स्नातक तहको पढाइ सकेर उनी छुट्टीमा बसिरहेकी थिइन् । यता, बंगलादेशमा साफ च्याम्पियनसिप सुरु हुन लागेको थियो । साथीहरुसँग बंगलादेश जाने भन्ने सल्लाह त भयो तर, घरमा मनाउने पो कसरी ? जसोतसो आमालाई मनाइन् र बंगलादेश आइपुगिन् ।

‘मैले ममीलाई बंगलादेशमा नेपालको खेल छ हेर्न जान्छु, रमाइलो हुन्छ भनेर मनाएँ’ उत्साहित हुँदै उनले सुनाइन्, ‘हामी आफ्नै पैसामा नेपालबाट टिकट काटेर खेल हेर्नकै लागि यहाँसम्म आएका हौं ।’

उनी थप्छिन्, ‘पहिलो खेलमा नेपालले गोल खाँदा कस्तो कस्तो भयो अनि हारमै जित हुन्छ भनेर चित्त बुझाएँ । त्यसपछि हामीले जित्दै आयौं, अनि त खुशी भइहाल्यौं । त्यसपछि त पार्टी नै गर्‍यौं ।’

पद्मकन्या क्याम्पसमै पढ्ने धादिङ धार्केकी संगिता रेग्मीलाई पनि बंगलादेशमा नेपालको फुटबलले राम्रै छोएको छ ।

साथीहरुसँगै फुटबल हेर्नकै लागि बंगलादेश आएकी उनी नेपालले साफ च्याम्पियनसिप नै जित्ने दाबी गर्छिन् । ‘विदेशी भूमिमा नेपाल भन्ने वित्तिकै आङ नै सिरिङ भएर जोश आउने रहेछ । सानोमा म फुटबल खेल्थें पनि त्यसैले पनि मन पर्छ’ बंगबन्धु रंगशालामा भेटिएकी उनी भन्छिन्, ‘हाम्रो र्फकने टिकट १२ तारिखको छ । नेपाल फाइनलमा पुग्ने देखियो, अब टिकेट थप्छौं ।’

नेपाली खेलाडीको प्रदर्शनले खुसी भएका अर्का समर्थक हुन्, कृष्ण काफ्ले । नवलपरासी देवचुलीका उनी नेपालको खेल हेर्नकै लागि बंगलादेश आएका छन् । उनी पनि नेपाल फाइनलमा पुग्ने दाबी गर्दै भन्छन्, ‘हामी वीर गोर्खाली हार्दैनौं ।’

‘मलाई फुटबल एकदमै मन पर्छ । कतारमा काम गर्दा पनि नेपालको खेल हेरेको थिएँ । नेपालको खेल एकपछि अर्को राम्रो हुँदै गइरहेको छ जस्तो लाग्छ’ उनले भने ।

शनिबार ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालले आयोजक बंगलादेशलाई २-० गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा गरेको छ ।

समूह चरणको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २-१ गोलले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई ४-० गोलले पराजित गरेको थियो । बंगलादेशलाई २-० ले हराएपछि नेपाल समूह विजेता नै बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment