Comments Add Comment

छापामा आजः मुख्यमन्त्रीसँग रिसाए प्रधानमन्त्री, प्रदेश परिषद् अनिश्चित

२५ भदौ, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले भिन्न–भिन्न विषयलाई प्राथमिकता दिएर लेखेका छन् । प्रदेश मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री रिसाएकोदेखि मुख्यमन्त्री, मन्त्रीलगायतले अभिभभावकत्व लिएका बालबालिका स्कुल जान छाडेकोसम्मका खबरलाई आजका पत्रपत्रिकाहरुले मुख्य समाचारको रुप दिएर प्रकाशित गरेका छन् ।

अखबारहरुको पहिलो पृष्ठमै हिमाल छेकेर पोखराको लेकसाइडमा घर निर्माण गरिएको, भारतले एयर मार्सलको संख्या बढाउने भएको, तरुण दल नगरप्रमुखको गोली हानी हत्या भएको, नेपाली हुँदा हुँदै सरकारले विदेशीलाई खुरुखुरु श्रम स्वीकृति दिएकोलगायत खबर पनि छन् ।

भित्री पृष्ठमा कांग्रेसमा अहिलेदेखि नै नेतृत्वको दौड शुरु भएको, भूपूगोर्खाको पेन्सन रोकिएको, निसान छापको त्रुटि सच्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नै बेवास्ता गरेको, उच्च तहका कर्मचारीका लागि काठमाडौं नै प्यारो भएकोलगायत समाचार छन् ।

मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री रुष्ट

नयाँ पत्रिका, कान्तिपुरलगायत पत्रिकाले आज मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री रुष्ट बनेको समाचार लेखेका छन् । मुख्यमन्त्रीहरुले असन्तुष्टि लिखित रुपमा तयार पारेपछि प्रधानमन्त्रीद्वारा अन्तरप्रदेश परिषद् बैठक अचानक स्थगित भएको समाचारमा उल्लेख छ ।

नयाँ पत्रिकाका अनुसार काठमाडौंमा आइपुगेका मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीसँग भेटसमेत पाएका छैनन् ।

‘केन्द्रसँगको असन्तुष्टिबारे समान धारणा बनाउन मुख्यमन्त्रीहरु गत बिहीबार पोखरामा भेला भएका थिए’, नयाँ पत्रिकाले लेखेको छ, ‘प्रदेशका अधिकार पनि केन्द्रले मुठ्ठीमा राखेको भन्दै उनीहरुले संघीयता प्रारम्भमै संकटमा पर्न लागेको चिन्ता व्यक्त गरेका थिए । खासगरी कानून बनाउन केन्द्रले ढिलासुस्ती गरेको मात्र होइन, कर्मचारी समायोजनमा समेत बेवास्ता गरेको उनीहरुको गुनासो थियो ।’

कान्तिपरले केन्द्र सरकार र प्रदेशबीचका असमझदारी निरूपण गर्ने थलोका रूपमा संविधानले व्यवस्था गरेको अन्तर प्रदेश परिषद् अनिश्चित बनेको लेखेको छ ।

हिमाल छेकेर पोखरामा घरैघर

हिमाल छेकेर पोखराको ड्यामसाइडमा भवन निर्माण गरिएकोलाई आज कान्तिपुरले प्राथमिकताका साथ उठाएको छ ।

समाचार अनुसार पोखरा महानगरपालिकाले लेकसाइडमा ३४ फिट –दुईतले र अन्यत्र ३५ फिट अग्ला घर बनाउन दिने मापदण्ड बनाए पनि त्यसको उल्लंघन गर्दै ९ तलासम्मका घर बनिरहेका छन् । १८ तलासम्म अपार्टमेन्ट निर्माणको तयारी शुरु भएको छ । कान्तिपुर लेख्छ– अग्ला घरले पर्यटकीय नगरी पोखराको सौन्दर्य छेक्न थालेको छ ।

पहिले पाखा, अहिले काखा

निकै तामझामका साथ मुख्यमन्त्री, मन्त्रीहरुले बालबालिकाको पढाइको अभिभावकत्व लिए पनि कतिपय विद्यालय जान छाडेका छन् ।

अन्नपूर्ण पोस्ट दैनिकका अनुसार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले गत वैशाख ११ मा एक दलित बालिकाको पढाइको अभिभावकत्व लिएका थिए । साढे ४ वर्षीया लक्ष्मीनियाकुमारी दासको मुख्यमन्त्रीले अभिभावकत्व लिएपछि केही दिन विद्यालय गएकी उनी अहिले घरमै बस्छिन् । दुई भाइ खेलाएर उनी घरमै बसे पनि मुख्यमन्त्री अहिलेसम्म सोधखोज गर्न आएका छैनन् ।

मुख्यमन्त्री मात्र होइन, बालबालिकाको अभिभावकत्व लिने प्रदेश २ का अन्य मन्त्रीहरु पनि आफूले भर्ना गराएका विद्यार्थीबारे बेखबर छन् । केही दिन विद्यालय गएर विविध कारणले बालबालिका घरमै बसिरहेका भए पनि उनीहरुको ध्यान यसतर्फ जान सकेको छैन ।

नेपाली हुँदाहुँदै विदेशीलाई जागिर

अन्नपूर्णमै नेपाली हुँदाहुँदै सरकारले विदेशीलाई जागिर दिएको अर्को खबर छ ।

नेपाली कामदार भएसम्म उनीहरुलाई नै रोजगारीमा प्राथमिकता दिनुपर्नेमा सरकारले विदेशी नागरिकलाई खुरुखुरु श्रम स्वीकृति दिएको अन्नपूर्णको समाचारमा उल्लेख छ ।

अन्नपूर्ण लेख्छ– कुन शैक्षिकस्तर र क्षमता भएका विदेशी नागरिकलाई काम दिने भन्ने स्पष्ट मापदण्ड नबन्दा दक्ष नेपाली जनशक्ति पलायन भएका छन् भने विदेशीले सजिलै श्रम स्वीकृति पाइरहेका छन् ।

मुद्दा खेप्दै जनप्रतिनिधि

नागरिकले जनप्रतिनिधि मुद्दा मामिलामा फसेका केही दृष्टान्त पेश गर्दै ‘मुद्दा खेप्दै जनप्रतिनिधि’ शीर्षक दिएर समाचार लेखेको छ ।

नागरिक लेख्छ– संविधानले स्थानीय तहलाई आफैं कानून बनाउने र प्रयोग गर्ने–गराउनेसम्मको अधिकार दिएको छ । तर सानातिना काममा पनि जनप्रतिनिधिले मुद्दा खेप्नुपरेकाले विकास निर्माण अघि बढाउन बाधा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment