Comments Add Comment

को होला केयूको नयाँ रजिष्ट्रार ? डा. थापाको राजीनामा स्वीकृत

२५ भदौ, काठमाडौं । काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार डा. भोला थापाको राजीनामा स्वीकृत भएको छ । थापाको राजीनामा स्वीकृत भएपछि नयाँ रजिष्ट्रार नियुक्तिको तयारी सुरु भएको छ ।

उपकुलपति प्रा. डा. रामकण्ठ माकाजुसँग विवाद भएपछि यही भदौ ७ गते रजिष्ट्रार डा. थापाले पदबाट राजीनामा दिएका थिए । कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ८ गते डा. थापाको राजीनामा स्वीकृत गरेका हुन् ।

डा. थापाको हस्तलिखित सक्कल पत्रमै ‘स्वीकृत’ लेखेर ओलीले हस्ताक्षर गरेका छन् । सोही पत्रलाई विश्विद्यालयले दर्ता गरेर राखेको छ ।

उपकुलपति आफै प्रधानमन्त्री कार्यालयमा आएर स्वीकृतिको पत्र ल्याएर विश्वविद्यालय फर्किएका थिए । विश्वविद्यालयमा फर्किँदा कार्यालय समय सकिइसकेको थियो । कर्मचारीहरु घर फर्किइसकेकाले उपकुलपति माकाजु आफैले दर्ता किताब निकालेर राजीनामा स्वीकृतिको पत्र दर्ता गरेको स्रोतले बतायो । २०७५ भदौ २० गते विश्वविद्यालयमा दर्ता भएको उक्त पत्रको दर्ता नम्बर १०६ हो ।

सामान्यता एउटा कुनै कार्यालयबाट अर्को कुनै कार्यालयमा पत्राचार गर्दा चलानी नम्बर हुन्छ । चलानी नम्बर बिनाको पत्र दर्ता गरिँदैन । तर, प्रधानमन्त्री एवम् कुलपति ओलीले ‘स्वीकृत’ लेखेको पत्रमा चलानी नम्बर छैन ।

अब को होला नयाँ रजिष्ट्रार ?

डा. थापाको राजीनामा स्वीकृत भएपछि नयाँ रजिष्ट्रार नियुक्तिको तयारी सुरु भएको छ । नयाँ रजिष्ट्रारमा प्रा. डा. सुवोध शर्माको चर्चा छ । उनलाई रजिष्ट्रारमा नियुक्त गर्न तयारी सुरु भइसकेको स्रोतले बतायो ।

प्रा. डा. शर्मा इन्भायरोमेन्टल साइन्स एण्ड इन्जिनियरिङ डिपार्टमेन्टका डिन हुन् । प्रजातान्त्रिक समूह निकट मानिने शर्मा काठमाडौं विश्वविद्यालयका सबैभन्दा कान्छो डिन हुन् ।

न्युनतम योग्यता निर्धारण गरी नियुक्त गर्न माग

यसैबीच काठमाडौं विश्वविद्यालयका प्राध्यापकहरुले न्युनतम योग्यता निर्धारण गरेर मात्र रजिष्ट्रार नियुक्त गर्न माग गरेका छन् ।

प्राध्यापक संघका अध्यक्ष वेदमणि दाहालले भने, ‘उच्च पदाधिकारीको नियुक्ति गर्दा उचित अध्ययन नगरी नियुक्ति हुने परिपाटीले बिभिन्न समस्याहरु आइरहेकाले अब न्युनतम योग्यता निर्धारण गरी नियुक्त गर्नुपर्ने भएको छ ।’

रजिष्ट्रार डा. भोला थापाको राजीनामा अनपेक्षित आएको र उनको राजीनामापछि सार्वजनिक भइरहेका केही विषय अप्राकृतिक देखिएको भन्दै संघले उच्चस्तरीय समितिमार्फत छानविन गर्न मागसमेत गरेको छ ।

केही वर्षयता विश्वविद्यालय सञ्चालनमा धेरै कमिकमजोरी देखिइरहे पनि समस्या समाधान गर्न उच्च पदाधिकारीहरु गैरजिम्मेवार देखिएको समेत संघले निष्कर्ष निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment