Comments Add Comment

सुन बरामद गर्ने प्रहरीलाई ५ किलोको प्रस्ताव !

२५ भदौ, गोरखा । तिब्बतबाट तस्करी गरेर ल्याएको १० किलो अवैध सुन समात्न सफल प्रहरी पुरस्कृत भएका छन् ।

गोरखाको चुमनुव्री गाउँपालिका-३ फिलिम स्थित सिर्दिवास प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरिक्षक तुलबहादुर सेनलाई जिल्ला प्रहरी कार्यालयले नगदसहित पुरस्कृत गरेको हो ।

शनिबार सिर्दिवासबाट अवैध दश किलो सुनसहित छेकम्पारका दुई जना पक्राउ परेका थिए । पक्राउ पर्नेमा ५८ वर्षीय मुटुप लामा भन्ने छिरिङ मुटुप लामा र २८ वर्षीय लोप्चन तेन्वे छन् । छेकम्पारबाट आरुघाट ल्याउँदै गरेको अवैध सुन सिर्दिवास चेकपोष्ट अगाडि चेकजाँचका क्रममा बरामद भएको थियो ।

पक्राउ परेका दुबैलाई सार्वजनिक गरिएको छ ।

तिब्बतबाट ल्याइएको थियो सुन

बरामद भएको सुन तिब्बतबाट ल्याइएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । उत्तरी गोरखा सिर्दिवासको स्यात्ला नाकाबाट सुन ल्याएको पत्रकार सम्मेलनमा गोरखा प्रहरी प्रमुख एसपी बिमल बस्नेतले जानकारी दिए ।

प्रहरीकाअनुसार चीनको तिव्वत स्थित जोङ्ग भन्ने स्थानमा च्याङचिन भन्ने चिनियाँ नागरिकले सुन काठमाडौं पुर्‍याउन भनेका थिए । ‘त्यही नजिकै चिया पसल गरेर बस्ने तिव्वतका पासाङले समन्वय गरेर लामा र तेन्वेलाइ सुन काठमाडौ पुर्‍याइदिन भनेका रहेछन्’ एसपी बस्नेतले भने, ‘उनीहरुको फोन नम्वर राखेर काठमाडौ पुगेपछि तपाइलाई फोन आउँछ, त्यही व्यक्तिलाई सुन दिनु भनेछन् ।’

उनीहरु २१ भदौमा तिब्बतबाट हिँडेका थिए । नेपालको नाकासम्म ट्याक्टर चढेर आएका थिए । सुन काठमाडौं पुर्‍याए वापत नगद ५० हजार पाउने सहमति थियो ।

यसरी बरामद भयो सुन

उत्तरी गोरखाबाट अवैध रुपमा सुनसहित अन्य सामानहरु ओसारपसार हुन्छ भन्ने सूचना पाएपछि प्रहरीले चेकजाँचमा कडाइ गरेको थियो । शनिबार सिर्दिवास चेकपोष्ट हुँदै आवातजावत गर्नेहरुको चेकजाँच भइरहेको थियो । करिव ४ बजेतिर समयमा लामा र तेन्वे लाइनमा नवसी अगाडि बढ्न थालेपछि प्रहरीले रोक्यो ।

चेकजाँचको क्रममा उनीहरुबाट १० किलो सुन बरामद भएको प्रहरीले जनाएको छ । लामाले गलवन्दीभित्र सुन राखेर बाहिरबाट सिलाएका थिए र गलबन्दी कम्मर बेल्ट जस्तो बनाएर बाँधेका थिए । उनको साथबाट पाँच थान सुनको बिस्कृट, कानमा लगाउने कुन्दरा दुई थान (सात तोला) र दुई थान टप बरामद भएको छ ।

तेन्वेले भने पछाडि बोकेको झोलामा पाँच थान सुनको बिस्कुट बोकेको भेटिएको एसपी बस्नेतले बताए ।

पाँच किलो सुन दिने प्रस्ताव

प्रहरीले सुनसहित पक्राउ गरेपछि उनीहरुले सिर्दिवास प्रहरी चौकीका इन्चार्जलाइ पाँच किलो सुन लिन प्रस्ताव गरे । तर, सेनले अस्वीकार गरेपछि बरामद भएको सबै सुन लैजानुस् तर, हामीलाई छाड्नुस् समेत भनेका थिए । तर, सेन नेतृत्वको प्रहरी टोलीले सुनसहित पक्राउ गरेर सदरमुकाम ल्याएको छ ।

उत्तरी नाकामा कडाइ

तिब्बतसँग खुल्ला सिमाना भएका कारण उत्तरी क्षेत्र अवैध सामान ओसारपसारको मार्ग बन्दै आएको छ । सदरमुकामबाट धेरै टाढा र सडक सञ्जालको पहुँच नभएका कारण उत्तरी क्षेत्रका स्थानीयहरुको व्यापारिक केन्द्र तिव्वत हो ।

तिब्बत जान बिभिन्न नाकाहरु छन् । तर, सीमा सुरक्षा पोष्ट नहुँदा अवैध सामान ओसार पसार हुने थरेको छ । पछिल्लो समय भने जिल्ला प्रशासन कार्यालयले चेकजाँच थालेको छ ।

उत्तरी क्षेत्रमा हुने हेलिकोप्टर उडानमा समेत कडाइ गरिएको छ । उत्तरी क्षेत्रमा उड्ने हेलिकोप्टर अनिवार्य रुपमा जिल्ला सदरमुकाममा ल्याण्ड हुनुपर्ने र प्रशासनले खटाएको एक जना कर्मचारी लिएर जानुपर्ने नियम लगाइएको थियो ।

तर अहिले भने सदरमुकाममा ल्याण्ड हुनुपर्ने बाध्यता हटाइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइले बताए । ‘यहा ल्याण्ड भएपनि नभएपनि हामीले निगरानी गरिरहेका हुन्छौं, हाम्रो रणनिति परिवर्तन भएको छैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment