Comments Add Comment

‘छक्का पन्जा’ले जन्माएका ‘६’ कलाकार

नेपाली चलचित्रका अहिलेका सर्वाधिक व्यस्त नायिकाहरु को होलान् ? चलचित्र क्षेत्रमा सर्वाधिक कमाई गर्ने चलचित्रका कलाकार को होलान् ? यी सबै प्रश्नको जवाफ खोज्ने हो भने एउटै चलचित्रको नाम हेर्दा हुन्छ, ‘छक्का पन्जा’ ।

यो चलचित्रबाट दर्शकमाझ लोकपि्रय भएका कलाकारहरु अहिले यो क्षेत्रका सर्वाधिक डिमाण्डेड कलाकार बनेका छन् । काम गराई, चलचित्रको संख्या हेर्ने हो भने यी कलाकार पहिलो रोजाइमा पर्छन् ।

१. दीपकराज गिरी र दीपाश्री निरौलाः हुनत, ‘६ एकान ६’बाट नै चलचित्र क्षेत्रमा उदाएका दीपकराज गिरी दीपाश्री निरौलाको केमेष्ट्री रेडियोबाट नै मिलेको हो । तर, चलचित्रमा आएपछि उनीहरुको दबदबा कायम छ । ‘६ एकान ६, वडा नम्बर ६, छक्का पन्जा, छक्का पन्जा २ र छक्का पन्जा ३’ सम्म आइपुग्दा उनीहरुको माग सर्वाधिक छ । सर्वाधिक कमाई गर्ने चलचित्रका निर्माता र निर्देशक पनि उनीहरु नै हुन् । यी दुइले बनाउने चलचित्रमा काम गर्ने रहर हरेक कलाकारलाई हुन्छ । यसैले पनि सानो सानो भूमिकामा भएपनि धेरै कलाकार यी दुइको चलचित्रमा जोडिएका छन् । यी दुइलाई चलचित्र ‘छक्का पन्जा’ले चलचित्र क्षेत्रकै शक्तिशाली चलचित्रकर्मी बनाइदिएको छ ।

२. केदार घिमिरेः ‘६ एकान ६’ देखि नै हिट भएका कलाकार केदार घिमिरेलाई पनि ‘छक्का पन्जा’ले नै डिमाण्डेड कलाकार बनाइदियो । यही भएर नै होला, उनलाई निर्देशक सुदर्शन थापाले १० लाख पारिश्रमिक दिएर आफ्नो चलचित्र ‘रामकहानी’मा अभिनय गराए । केदार घिमिरे आज कुनै नायक भन्दा कम डिमाण्डेड छैनन् । उनलाई २५ लाख, ३० लाखसम्म पारिश्रमिक दिएर चलचित्र खेलाउन चाहनेहरु धेरै छन् । तर, उनले आफ्नो टिम भन्दा बाहिर नजाने बताइसकेका छन् । ‘छक्का पन्जा’ टिमका यी सदस्य आज चलचित्र क्षेत्रकै पावरफूल कलाकार बनेका छन् ।

३. जितु नेपालः जितु नेपाललाई दर्शकले ‘जिरे खुर्सानी’को ‘मुन्द्रे’ नामले नै चिनेका थिए । तर, उनको दायरा अझै फराकिलो बनाइदिने काम ‘छक्का पन्जा’ले नै गरेको हो । अझ, यसो भनौ जितु पनि ‘छक्का पन्जा’को एउटा सदस्य हुन्, जसलाई लिएर चलचित्र बनाउन अरु निर्माता पनि चाहन्छन् । चलचित्र ‘रामकहानी’मा सुदर्शन थापाले यी कलाकारलाई पनि ७ लाख पारिश्रमिक दिएको चर्चा भयो । उनलाई पनि ‘छक्का पन्जा’ले महंगो कलाकार बनाइदिएको छ ।

४. प्रियंका कार्कीः नायिका प्रियंका कार्कीलाई एउटा कुरा ढुक्क छ । आफूले काम गरेका अरु चलचित्र चलोस् वा नचलोस्, ‘छक्का पन्जा’ चल्छ । हुनत, प्रियंकाको माग चलचित्र क्षेत्रमा पहिले पनि कम त थिएन । तर, ‘वडा नम्बर ६, छक्का पन्जा’मा जोडिएपछि उनी डिमाण्डेड बनिन् । यसैले त उनी यो चलचित्रको सिक्वेलमा आमा बनेर पनि काम गर्न तयार छिन् । नायिका कार्कीलाई यो चलचित्रले अझै शक्तिशाली बनाइदियो । आज उनको हातमा चलचित्रको अभाव नै छैन । ठूला ठूला ब्यानरदेखि कुनै चलचित्रमा आइटम नृत्यका लागि मात्र भएपनि पहिलो रोजाइमा उनी नै पर्छिन् ।

५. बर्षा राउतः चलचित्र ‘छक्का पन्जा’ चलेपछि बर्षा राउतलाई रुचाइयो । हुनत, उनले चलचित्र ‘जात्रा’बाट पनि तारिफ पाएकी हुन् । तर, ‘छक्का पन्जा’को भूमिकाले उनलाई सशक्त बनाइदियो । आज बर्षाको हातमा चलचित्र सर्वाधिक धेरै छ । बर्षाको हातमा ‘गोपि, चौका दाउ, डामाडोल, बकम्फुसे राजा’ लगायतका चलचित्र छन् ।

६. स्वस्तिमा खड्काः नायिका स्वस्तिमा खड्काले ‘होस्टेल रिटन्र्स, लभलभ लभ’मा मुख्य नायिकाको रुपमा काम गरिन् । तर, चलचित्र ‘छक्का पन्जा २’मा जब उनी मुख्य भूमिकामा काम गरिन्, यसपछि उनको डिमाण्ड पनि उच्च भएको छ । आज उनको हातमा सिनेमाको अभाव छैन । ‘नाई नभन्नु ल ५’ले बक्स अफिसमा सफलता पाइसकेको छ । ‘बुलबुल, जय भोले’ उनको रिलिज हुन लागेको चलचित्र हुन् । उनको डिमाण्ड चलचित्र क्षेत्रमा उच्च छ ।

‘छक्का पन्जा’ ले जन्माएका यी ६ चलचित्रकर्मी आज छरिएका छन् । तर, उनीहरुले चलचित्र क्षेत्रमा एक प्रकारले भन्नुपर्दा आफ्नो हालिमुहाली नै गरेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment