Comments Add Comment

साधारणसभा नजिकिएसँगै निर्माण व्यवसायी संघ पर्सामा विवाद

२६ भदौ, वीरगञ्ज । निर्माण व्यवसायी संघ पर्सामा व्यापक अनियमितता भएको भन्दै प्रशासनमा उजुरी परेको छ ।

निवर्तमान अध्यक्ष मोहन यादवले निर्माण व्यवसायी संघ पर्साका अध्यक्ष रामाकान्त चौरसियाले ५० लाख भन्दा बढी अनियमितता गरेको आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिएका हुन् ।

संघको विधानको परिच्छेद ४ को दफा १० को ‘ख’ मा आर्थिक वर्ष पूरा भएको ३ महिनाभित्र अनिवार्य रुपमा साधारणसभा गर्नुपर्नेमा अध्यक्षले दुई वर्ष वितिसक्दा पनि साधारण सभा नगरेको र ५० लाखभन्दा बढी रकम मनोमानी ढंगले खर्च गरेको भन्दै संघको बैंक खाता रोक्का गर्न उनले प्रशासनसँग आग्रह गरेका छन् ।

विधान अनुसार ५ हजार रुपैयाँ भन्दा बढीको रकम खर्च गर्नुपर्दा बोर्डबाट पास गरेर मात्रै खर्च गर्नुपर्ने भएपनि अध्यक्षले आफूखुशी रकम चलाएको, आसेपासेलाई पैसा बाँडेको आरोप लगाउँदै उजुरीमा छानविन गरी आवश्यक कारबाहीको माग समेत गरिएको छ ।

पोखरीया सडक निर्माणको कामबाट आएको १२ लाख, हुलाकी सडक निर्माणको कामको १४ लाख, सिंचाइ डिभिजन कार्यालयको कामबाट आएको ४ लाख ५० हजार, पोखरीया नगरपालिकाको कामबाट विभिन्न व्यवसायीले दिएको ६ लाख, खानेपानीको कामबाट आएको २ लाख ५० हजार, बहुदरमाई नगरापालिकामा विभिन्न काम गरे वापत व्यवसायीहरुले दिएको ५० हजार र संघको सदस्यता नविकरणबाट प्राप्त ४ लाख २० हजार गरी ५० लाख २० हजार व्यवसायीको हितमा खर्च नगरेको आरोप उजुरी पत्रमा लगाइएको छ ।

निर्माण व्यवसायी संघमा आवद्ध निर्माण व्यवसायीहरुले विकास निर्माणको कामबाट प्राप्त गरेको रकममध्ये १ प्रतिशत संघलाई अनुदान स्वरुप दिने गर्दै आएका छन् ।

अनियमितताको आरोप झुठो होः चौरसिया

त्यसैगरी संघका द्वितीय उपाध्यक्ष हिरालाल पटेल लगायतले पनि अध्यक्षले रकम मानोमानी ढंगले खर्च गरेको भन्दै विरोधमा सोमबार संघको कार्यालयमा तालाबन्दी गरेका थिए । तर सो ताला खोलिसकिएको संघका अध्यक्ष रामाकान्त चौरसियाले बताए ।

चौरसियाले भदौ ३० गतेका लागि साधारण सभामा बोलाइसकिएकाले विरोध गर्नुको कुनै अर्थ नभएको बताएका छन् । साधारण सभामा छलफल गर्नुपर्ने विषयलाई बाहिर ल्याएर संघलाई बदनाम गर्न केहि साथीहरु क्रियाशिल भएको उनको भनाई छ ।

‘साधारणसभा बोलाइसकेको अवस्थामा आरोप प्रत्यारोप गर्नुको कुनै अर्थ छैन । चित्त नबुझेका कुरा साधारणसभाको बन्दसत्रमा राख्दा हुन्छ,’ उनले भने, ‘संघमा आफ्नै पकेटको रकम खर्च भइरहेको छ । अनियमितताको आरोप सबै झुठो हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment