Comments Add Comment

जितेन महतो अर्थात् साइकलका ‘डाक्टर’

२६ भदौ, काठमाडौं । १४ वर्षको उमेरमा साइकल पसलबाट ८ सय रुपैयाँ चोरेर भागेका धारा महतोलाई कहाँ जाने भन्ने नै एकीन थिएन । न त्यो ८ सयले कहिलेसम्म पुग्छ भन्ने नै सोचेका थिए ।

३७ वर्षअघिको त्यो दिन सम्झँदा अहिले जितेन बनिसकेका धारा दंग पर्छन् । गरिबीले आक्रान्त भएर घर छाडेर हिँडेका उनी अहिले सन्तुष्ट छन् । केले मिल्यो त सन्तुष्टि ? जितेनको जवाफ छ, साइकल ।

यद्यपि, साइकल मात्रैले भने जितेन सन्तुष्ट बनेका होइनन् । उनी सोच्ने तरिका बदलेर सन्तुष्ट भएका हुन् । होइन भने त उनीसँग अहिले पनि दुःख पर्याप्त छन् ।

पानी पर्दा उनी पनि यही खाल्डाखुल्डी भएका बाटोमा हिँड्छन् । घाम लागेको दिन स्वास रोकिएला जस्तो धुलो भोगेका छन् । कतिपटक सयको सामानलाई डेढ सय तिरेको घर आएपछि थाहा पाएका छन् ।

साँघुरो कोठामा त्यो पनि भाडाको बसाई । दुई सन्तान र श्रीमतीको पालनपोषणको जिम्मेवारी । उनी हाँसेरै सुनाउँछन्, ‘ऋण लागेको छ । पैसा कमाउन सकेको छैन । यसो हेर्दा त केही पनि छैन नै । तर पनि म खुसी छु । धेरै सम्पत्ति भएर पो को खुसी छ र ?’

साइकलमा अल्झेको मन

जितेनलाई साइकल देखेदेखि नै हो चलाउन मन भएको । आफूलाई चलाउन नआए पनि अरुले चलाएको हेरेर दंग पर्थे । साइकल यति सहजै पाइने बेला पनि थिएन । बुढो साइकल पनि फाट्टफुट्ट कतै कतै मात्र देखिन्थे । जब साइकल देखिन्थ्यो, जितेनको आँखा त्यसबाट पर जाँदैन थियो ।

‘अरुले साइकल चलाएको देखेर आहा ! मैले पनि चलाउन पाए भन्ने कल्पनामा हराइरहेको हुन्थेँ । हाम्रोतिर पोखरी हुन्थ्यो । पोखरीमा नुहाउन जाँदा पानीमा साइकल चलाएको जस्तै गरी खुट्टाले पानी चलाउँदै रमाइलो गर्थें,’ उनले बाल्यकाल सम्झिए ।

कसैले साइकल चलाएको देखेपछि एकपटक दिनु न भनेर पनि धेरैसँग मागे । तर, दिने कसले ? बच्चाले चलाउने कुरा होइन भनेर उनले हप्की खानु पर्थ्यो ।
‘धेरै मागेँ । तर दिँदै दिँदैनथे । तिमी बच्चाले चलाउने कुरा होइन यो भनेर पठाउँथे । त्यो बेला निकै कम मान्छेसँग मात्रै साइकल हुने हुँदा इच्छा भएर पनि चलाउन पाइहाल्ने अवस्था थिएन,’ उनले भने ।

१२ वर्षतिरको हुँदा हो, जितेन दिन रात साइकलकै कल्पनामा हराउन थाले । कतै साइकल देख्दा टोलाएर हेरिरहने । काठ, पानी सबैमा साइकलको कल्पना गर्ने । एक दिन साइकल पसल खोज्दै जाँदा उनी साइकल बनाउने पसलमा पुगे ।

उनी त्यही पसलमा साइकल बनाएको हेरेर दिन बिताउन थाले । उनलाई साइकल एकपटक छुन पाए पनि कस्तो हुन्थ्यो भन्ने लाग्थ्यो । तर गालि खाइन्छ कि भन्ने डर थियो ।

भोक मेटिएको क्षण

उनको घर रहेको भारतीय सीमा क्षेत्र बयलबासमा भारततिरका साइकल पनि आइरहेका हुन्थे । उनले दिनभर यसै समय बिताउने साइकल वर्कसप पनि भारतीय नागरिककै थियो ।

एक दिन हिम्मत गरेर साहुलाई भने, ‘मलाई एकचोटी साइकल चलाउन दिनु न ।’ साहुले उनलाई नजिकैको पम्पबाट पानी ल्याउन लगाए । साइकल चलाउन पाइने भयो भन्ठानेर उनले पनि सबै काम मान्दै गएँ ।

यसरी पसलेको मन जित्न सफल भएपछि उनले एकछिन साइकल चलाउन पाए । सकिनसकी यता उता साइकल घिसारेपछि उनी सन्तुष्ट भए । धेरै दिनपछिको भोक मेटिएको जस्तै आनन्दित महसुस गरेर घर फर्किए ।

त्यसपछिका हरेक दिन उनी बिहानै त्यही साइकल वर्कसपमा धाउँथे । दिनभरी बस्थे र बेलुका घर जान्थे ।

‘त्यो पसलेको सुर्ति खाने बानी थियो । उसलाई खुसी पार्न म सुर्ति माडेर दिन थालेँ । दिन बित्दै जाँदा म त्यही पसलकै कामदार जस्तो भइसकेको थिएँ । खानेकुराहरु दिन्थे । म त्यसैमा मख्ख परेर दिनभर काम गर्थें,’ जितेनले भने ।

जितेनका आमा-बुबा सानैमा बितेका थिए । उनीमाथि चार दाजुहरु थिए । तर सबै आफ्नै काममा व्यस्त । जितेन आफ्नै तालमा मस्त रहन थाले ।

पैसा चोरेर टाप

वर्कसपमा काम गर्दै, सिक्दै गएपछि जितेनले साहुको राम्रै विश्वास जितेका थिए । त्यहाँ सबैले मन पराउन थालेका थिए ।

साहु बेला-बेला आफ्नो घर भारत जाँदा जितेनलाई पनि सँगै लिएर जान थाले । कतिपय समय उनी जितेनलाई नै पसल जिम्मा लगाएर जान्थे । पसलको सबै काम उनी सम्हाल्थे ।

‘भारत गएर सामान ल्याउन पनि मलाई धेरै पटक पठाएका थिए । साइकल लिएरै पनि भारत पुगेर सामान ल्याउने गर्थें । मलाई साइकल लिएर टाढासम्म जान पाउँदा निकै रमाइलो लाग्थ्यो । त्यो समय सीतामढी पुगेर सामान ल्याउँथे,’ जितेनले सुनाए ।

दिन बित्दै जाँदा उनको मन यहाँ रमाउन छोड्यो । उनी वर्कसपमा बिना पारिश्रमिक खाजाको भरमा काम गरिरहेका थिए । उनलाई बिस्तारै दिक्दार लाग्न थाल्यो । त्यसको फलस्वरुप लामो समयको मेहनतमा जितेको विश्वास उनले एक निमेषमा तोडिदिए । वर्कसप उनकै जिम्मामा छाडेर साहु भारत गएको समयमा जितेनले पसलमा भएको आठ सय रुपैयाँ लिएर भागे ।

‘त्यो समय भागेर पथलैया आइपुग्दा म केहीबेर अन्योलमा परेँ । दक्षिण जाउँ भने भारत पुगिन्छ । यता उत्तरतिर लाग्ने भए काठमाडौं आइपुगिन्छ । अब कता लाग्ने होला भन्ने दोधार भइरहृयो,’ घरबाट भागेपछि भएको अन्यौलता उनले सुनाए । धेरैबेर सोचेपछि उनले काठमाडौं जाने निधो गरे ।

भेटियो आफ्नै बाटो

काठमाडौंमा आएपछि जितेन केही दिन अन्योलमै रहे । त्यसपछि एकजना गाउँकै मान्छे भेटेर उसँग बौद्धमा गएर बस्न थाले । नयाँ घर बनाउने ठाउँमा बालुवा बोक्ने काम गरे ।
जसरी हुन्छ दुई छाकको जोहो गर्नेमा लागेका उनलाई जिन्दगी साह्रै सकस लाग्न थाल्यो । जे काम छाडेर भागेका थिए त्यही कामको सम्झनाले पिरोल्न थाल्यो ।
उनी साइकल बनाउने पसलकै खोजीमा लाग्न थाले । खोज्दै जाँदा असनमा केही वर्कसप भेटे । एउटामा उनले काम पनि पाए ।

जितेनले काम त पाए तर तलब थिएन । उनी पनि काम पाएँ भन्नेमै खुशी भए । बयलबासमा जस्तै उनी काठमाडौंमा पनि भातकै भरमा काम गर्न थाले ।
‘पहिले काम त राम्ररी गरौँ न । मन जित्दै जान्छु त्यसपछि त कामको कुनै कमी हुँदैन,’ जितेनले एकीन गरेका थिए । त्यसपछि उनले गोदाममा गएर नयाँ साइकल फिट गर्ने काम पनि गरे ।

उनी पसलकै साहुको होटलमा खाना खान्थे । त्यही टेबलमा सुत्थे । काम सिक्न पनि सजिलो थिएन । उनीभन्दा पहिलेदेखि काम गर्नेहरु सिकाउन खोज्दैनथे ।
‘त्यहाँ मभन्दा अघि नै एकजना बब दाइ भन्ने व्यक्ति काममा थिए । उनीसँगै मिलेर मैले काम गरेँ । धेरैजसो नयाँ काम गर्दा उनी मलाई कि चिया लिन पठाउँथे कि त केही सामान किन्न पठाउँथे,’ जितेनले सम्झिए ।

भारतबाट साइकल र ताइवानबाट गेयर ल्याएर आफैले जोडेर गेयरवाला साइकल बनाएर पनि उनीहरुले धेरै बेचे ।

‘त्यो समय विदेशीहरुले गेयरवाला साइकल ल्याएको देखेर नेपालमा पनि माग बढेको थियो । त्यसैले पुरानै साइकलमा गेयर जोडेर रंग लगाएर पनि हामीले बेच्यौँ,’ जितेनले भने ।

त्यही पसलमा झण्डै १५ वर्ष जितेनले काम गरे । उनी केही देखेपछि झट्ट याद गरिहाल्थे । त्यसैले उनले नयाँ कुरा सिक्न समय लगाएनन् । विस्तारै सबै काम जान्दै गए ।

त्यही समय बिहे गरेका उनले आफ्नै वर्कसप चलाउन थाले । जमल नाचघर पछाडि उनले वर्कसप खोले ।

साइकलयात्रीको संगत

त्यो बेला प्राय पुरानो खालको भारतीय साइकल नै चल्तिमा थिए । एक-दुई जना विदेशीले नयाँ खालको साइकल लिएर आउँदा पनि मानिसहरु झुम्मिन्थे ।
समय अनुसार राजधानीवासीले चढ्ने साइकल फेरिँदै गयो । साइकल फेरिएसँगै उनको कामको शैली पनि फेरियो ।

साइकलिस्टहरु उनकै पसलमा भेला हुन्थे । कुराकानी गर्थे । १५ वर्षजति अघि अजय पण्डित क्षेत्री उनको पसलमा साइकल बनाउन सिक्न आए । उनै अजय पाँच पटक साइकलिङका राष्ट्रिय च्याम्पियन पनि बने । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि उनले नेपालको नाम फैलाए ।

‘सुरुमा उहाँ (जितेन) ले दिएको साइकल लिएर साइकलिस्टहरुसँगै नगरकोटसम्म पुगेँ । उहाँसँगै साइकल बनाउन सिकेँ । जितेन दाइले मेरा लागि गरेको काम ठूलो छ,’ अजय भन्छन् ।

अजय मात्रै होइन अरु साइकलिस्ट पनि अहिलेसम्म उनको वर्कसपमा आइरहन्छन् । ‘यहाँ आएका अजय भाइहरु साइकलिस्ट बनेर विश्वभर चिनिनुभएको छ । मेरो जीवन यहीँ वर्कसपमा नै बितिरहेको छ,’ ठमेल ज्याठाको वर्कसपमा भेटिएका जितेनले सुनाए ।

एक समय विश्व यात्रा सुरु गर्नुअघि साइकल यात्री पुष्कर शाह पनि उनकै वर्कसपमा साइकल बनाउन आइरहन्थे ।

‘पुस्कर दाइ मेरो वर्कसपमा साइकल बनाउन आइरहन्थे । उनको सन्तोषा साइकलमा प्राय अगाडिको ब्रेक तार चुडिरहेको हुन्थ्यो । त्यो बेला त्यो तारको ५ रुपैयाँ पर्थ्यो । बनाएको ५ रुपैयाँ लिन्थेँ । उहाँ कहिलेकाहीँ भाइ आज पैसा छैन है भनेर बनाएर जानुहुन्थ्यो,’ जितेनले पुष्करसँगको भेट सम्झिए ।

यस्तैमा एक दिन पुष्करले सुनाए, भाइ म त विश्व यात्रामा निस्कन लागेको । मेरो साइकल अलि राम्ररी बनाइदिनु पर्‍यो ।

जितेनले पनि सक्दो मेहनत गरेर उनको साइकल बनाइदिए ।

‘त्यो बेलामा पुष्कर शाहले यहाँ पसलहरुबाट चन्दा पनि उठाउनुभएको थियो । मैले चन्दा सहयोग गर्न नसके पनि उहाँको साइकल सित्तैमा बनाइदिएर सहयोग गरेँ,’ जितेनले भने ।

साइकलसँगै दर्शनतिर 

जितेनकै भाषामा अहिले उनी अध्यात्म दर्शनतिर लागेका छन् । जीवन के हो ? खुसी कसरी हुने ? भन्ने राम्ररी बुझेका छन् ।

विद्यालयमा केही दिन हाजिर गर्नुबाहेक अन्य शिक्षा नलिएका जितेन न्यूटनको चालसम्बन्धी तेस्रो नियमलाई आफ्नै दर्शनमा व्याख्या गर्दै भन्छन्, ‘साइन्सले पनि भन्छ नि, ‘इभ्री एक्सन हृयाज एन इक्वेल एन्ड अपोजिट रियाक्सन’ । जीवन पनि त्यस्तै हो । जे गरिन्छ त्यस्तै फल आउँछ ।’

उनी अहिले आफ्नो वर्कसपमा आउने र बेलुका जमघट हुने साइकलिस्टहरुसँग यस्तै दर्शनबारे छलफल गर्छन् । खुसी रहन अरुलाई प्रेरणा दिन्छन् ।

सुरुमा १५ सय रुपैयाँ भाडा तिरेर वर्कसप खोलेका जितेन अहिले पाँच हजार रुपैयाँ भाडा तिर्छन् । यो बीचमा उनले बनाउने साइकलसँगै फेरिँदै गएको छ उनको जीवन ।

उनी भन्छन्, ‘कलाको भ्यालु नै छैन यहाँ । सीपको भ्यालु छैन । मेहनत गरेर पुग्दैन रहेछ । त्यही पनि म खुसी छु ।’

यसरी नै जितेन ‘जिन्दगीको ब्याट्री’ चार्ज गरिरहेका छन् । उनी सोध्छन्, ‘मरेपछि हामी सबै शून्य होइन र ?’

‘हाम्रो कर्म मात्रै अमर रहने त हो । यसैले कर्ममा खुसी भएर बाँच्नुपर्छ । जीवन त यस्तै हो, समटाइम दुःख, समटाइम सुख ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment