Comments Add Comment

अटो लोनमा गाडी किन्दै हुनुहुन्छ ? यस्ता छन् बैंकका योजना

२६ भदौ, काठमाडौं । नाडा अटो शो मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ । हरेक वर्ष आयोजना हुने यस मेला सवारी साधनहरुका लागि ठूलो अवसर नै हो ।

नाडा अटो शोकै अवसर पारेर विभिन्न बैंकहरु विभिन्न योजनाहरु सार्वजनिक गरेका छन् । मोटरसाइलबाट अपग्रेड भएर चार चक्के चढ्ने तथा मोटरसाइकल नै चढ्नेहरुका लागि पनि विभिन्न योजनाहरु बैंकले अघि सारेका छन् ।

बैंकहरूले आधार दरमा पि्रमियम शुल्क जोडेर ब्याजदर निर्धारण हुने गर्छ । नेपाल राष्ट्र बैंकले आधार दरमा बढीमा ५ प्रतिशतमात्रै पि्रमियम शुल्क जोडेर ब्याजदर निर्धारण गर्न सक्ने व्यवस्था गरेको छ ।

हामीले केही बैंकहरुको अटो लोन स्किम र ब्याजदरका बारेमा बुझ्ने प्रयास गरेका छौं ः

लक्ष्मी बैंक

लक्ष्मी बैंकले अटो लोनका लागि विशेष स्कीम नलिए पनि नाडा अटो शो चलिरहेका कारण अटो लोन लिन चाहनेका लागि ब्याजदरमा केही सहजता प्रदान गर्ने जनाएको छ ।

बैंकले दिएको जानकारी अनुसार अटो लोनका लागि १३.२३ प्रतिशत ब्याजदर तोकेको छ । तर, नाडा अटो शो चलिरहेका कारण ११.१४ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउन सकिने बैंकले जनाएको छ ।

बैंकका अनुसार यस्तो कर्जाको अवधि भने ९ वर्षसम्मका लागि हुने बताएको छ । लक्ष्मी बैंकले आ-आफ्नो वेभसाइटमा आधार दरमा १ देखि ५ प्रतिशतसम्म पि्रमियम जोडेर कर्जा उपलब्ध गराउन सकिने उल्लेख गरेको छ ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले पनि राष्ट्र बैंकको नियम अनुसार बेस रेटमा अधिकतम ५ प्रतिशत प्रिमियम लिने जानकारी दिएको छ । यस बैंकले अटो लोन दिँदा कर्जा लिने व्यक्तिका बारेमा अध्ययन गरेर शून्य प्रतिशत पि्रमियममा समेत कर्जा उपलब्ध गराउने जनाएको छ ।

बैंकका अनुसार अटो लोन पुरानो वा नयाँ दुबै सवारी साधनका लागि उपलब्ध गराउने छ । यसको अवधिमा भने ७ वर्षको हुने छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले नाडा अटो शोलाई लक्षित गर्दै अटो लोनमा नयाँ स्कीम ल्याएको जनाएको छ । यस बैंकले ५ वर्ष अवधिसम्मको अटो लोनका लागि आधार दर (बेस रेट) मा १.५४ प्रतिशत ब्याजदर लिने जनाएको छ ।

७ वर्षभन्दा माथि अवधिका लागि अटो लोन लिन चाहनेका लागि भने बेस रेटमा २ प्रतिशत पि्रमियम जोडेर ब्याजदर लिने जनाएको छ । अन्य सेवा तथा शर्तहरु भने राष्ट्र बैंकले तोकेअनुसारको हुने यस बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले नाडा अटो शोलाई लक्षित गर्दै अटो लोनका लागि नयाँ स्कीम ल्याएको जनाएको छ । बैंकले आधार दरमा ०.५ प्रतिशतमात्रै पि्रमियम थप गरेर अटोलोन उपलब्ध गराउने जनाएको छ ।

यस बैंकले प्रोसेसिङ शुल्क भनेर १ प्रतिशत लिने जनाएको छ । बैंकले दिएको जानकारी अनुसार उक्त कर्जाको अवधि भने अधिकतम् १० वर्षको हुनेछ ।

स्टाण्डर्ड चार्टर्ड बैंक

स्टाण्डर्ड चार्टर्ड बैंकले यतिबेला ‘आफ्नो गन्तव्य अब आफ्नै सवारीमा’ भन्ने स्किम ल्याएको छ । यस बैंकले ९.४९ प्रतिशतसम्ममा नै अटो लोन उपलब्ध गराउने जनाएको छ । बैंकका सूचना अधिकारी सुजित श्रेष्ठले दिएको जानकारीअनुसार यस्तो कर्जाको पहिलो वर्ष आधार दरमा १.६२ प्रतिशत पि्रमियम जोडेर ब्याजदर लिने र दोस्रो वर्ष आधार दरमा २ प्रतिशत पि्रमियम जोडेर ब्याजदर लिने छ ।

बैंकले यसका लागि प्रोसेसिङ शुल्क १ प्रतिशत लिने र क्रेडिट कार्ड निशुल्करुपमा उपलब्ध गराउने समेत जानकारी दिएको छ । सूचना अधिकारी श्रेष्ठका अनुसार यो अफर असोज २० गतेसम्ममात्रै लागू हुनेछ ।

नेपाल इन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकले १२ प्रतिशतभन्दा कम ब्याजदरमा अटो लोन उपलब्ध गराउने जानकारी दिएको छ ।

यस बैंकले आधार दरमा ०.५ प्रतिशत पि्रमियम प्लस गरेर अटोलोन उपलब्ध गराउने जनाएको छ । यस बैंकको आधार दर ११.६६ प्रतिशत रहेको छ । अर्थात ११.६६ प्रतिशतमा ०.५ प्रतिशत जोडेर अटो लोनका लागि ब्याजदर तय गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment