Comments Add Comment

एनसेलको इन्टरनेट आयमा ३४ प्रतिशतले वृद्धि

२६ भदौ, काठमाडौं । सन् २०१८ को प्रथम ६ महिनामा निजी दूरसञ्चार कम्पनी एनसेलको इन्टरनेटबाट हुने आयमा ३४ दशमलब २ प्रतिशतले वृद्धि भएको एनसेलको प्रमुख लगानीकर्ता मलेसियन कम्पनी आजियाटाले जनाएको छ । कम्पनीले टू जी, थ्रिजी र फोरजी प्रविधिमा आधारित मोबाइल इन्टरनेट सेवा प्रदान गर्दै आएको छ ।

आजियाटाले सार्वजनिक गरेको सन् २०१८ को दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार, एनसेलको कुल १ करोड ६४ लाख ग्राहक संख्या रहेको छ र त्यसको ४७ दशमलब ३ प्रतिशत ग्राहकले इन्टरनेट सेवा प्रयोग गर्ने गरेका छन् ।

इन्टरनेट सेवा प्रतिस्पर्धी भई शुल्कमा गिरावट आउनु, माग बढ्नु, सेवा विस्तार हुनु र स्मार्टफोन प्रयोगकर्ताहरु बढ्नु लगायतका कारणहरुले गर्दा पछिल्लो वर्षहरुमा सेवा प्रदायक कम्पनीहरुको ग्राहक आधार बढ्नुका साथै यसबाट हुने आम्दानीमा पनि वृद्धिभएको बताइएकाे छ । एनसेलका अनुसार उसका कुल ग्राहक आधारमा ५८ प्रतिशत ग्राहकले स्मार्टफोन बोक्ने गरेका छन् ।

आजियाटाको प्रतिवेदन अनुसार पछिल्लो वर्षहरुमा डाटा सेवाको माग बढि रहेको देखिन्छ । सो प्रतिवेदन अनुसार, सन् २०१८ को दोस्रो त्रैमासिकमा प्रति ग्राहक प्रति महिना इन्टरनेट खपत ६९८ एमबि पुगेको छ ।
प्रति ग्राहक प्रति महिना इन्टरनेट खपत सन् २०१७ को दोस्रो त्रैमासिकमा ३४१ एमबि र २०१६ को दोस्रो त्रैमासिकमा १६० एमबि थियो ।

फोरजी सेवा संचालनले पनि डाटा सेवाको माग र खपत बढि रहेको एनसेलले बताउँदै आएको छ । गत वर्ष जेठमा संचालनमा ल्याएको यो सेवा हाल सम्म एनसेलले २१ शहरहरुमा पुर्‍याई सकेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत आर्थिक वर्ष सम्ममा ११ लाख २३ हजार ग्राहकले एनसेलको फोरजी सेवा लिएका छन् । त्यसैगरी उसको ४९ लाख ८६ हजार  थ्रिजी ग्राहक आधार रहेको छ ।

कम्पनिले पछिल्लो एक वर्ष देखि फोरजीलाई शहरहरुमा र थ्रिजीलाई ग्रामिण भेगहरुमा विस्तार गर्दै लगिरहेको छ । बढ्दो डाटा खपतसँगै वृद्धि भएको यो सेवाको आयले एनसेलको कुल आम्दानीमा पनि आफ्नो योगदान बढाएको छ ।

सन् २०१७ को दोस्रो त्रैमासिकमा कुल आयमा डाटा सेवाको आम्दानीको योगदान १८ प्रतिशत रहेकोमा यो सन् २०१८ को सोही अबधिमा कुल आम्दानीमा योगदान २२ प्रतिशत रहेको आजियाटाको उक्त प्रतिवेदनले देखाएको छ ।

सन् २०१८ को दोस्रो त्रैमासिकमा एनसेलले कुल १५ अर्ब २६ करोड आम्दानी गरेको छ । यो २०१७ को सोही अवधिको तुलनामा ५ दशमलब ५ प्रतिशतको वृद्धि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment