Comments Add Comment

मोटरसाइकल हाँक्दै हुनुहुन्छ ? ढाड जोगाउनोस्

२७ भदौ, काठमाडौं । ट्राफिक जामको समस्याले अक्रान्त काठमाडौंमा सबैभन्दा लोकपि्रय सवारीसाधन हो मोटरसाइकल । जताबाट पनि फुत्त छिराउन सकिने र गन्तव्यमा चाँडै पुगिने भएर मात्र होइन, मध्यम वर्गले धान्न सक्ने भएकाले पनि मोटरसाइकल/स्कुटरको लोकप्रियता बढेको हो ।

तर, दुई पाङ्ग्रे सवारी जति उपयोगी छ, यसले दिर्घकालमा स्वास्थ्यमा निम्त्याउने जोखिम पनि चिन्ताजनक देखिएको छ । खासगरी काठमाडौको सडकको दुरावस्थाले गर्दा निरन्तर मोटरसाइल तथा स्कुटरलाई यात्राको साथी बनाउनु आत्मघाती हुनसक्छ । चालक अपरिपक्व हुँदा मात्र होइन, अभ्यस्त र अनुभवीलाई पनि काठमाडौंका सडकमा सवारी कुदाउनु सजिलो छैन ।

महावौद्धस्थित ट्रमा सेन्टरका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. बद्री रिजाल खाल्डाखुल्डीमा नियमित मोटरसाइकल चलाउनेमध्ये धेरैमा घाँटी तथा ढाडको समस्या उत्पन्न हुनसक्ने बताउँछन् । बाइक तथा स्कुटीमा यात्रा १८ देखि ३०/३५ वर्ष उमेर समूहका युवायुवती घाँटी तथा ढाडको समस्या लिएसर ट्रमा सेन्टरमा अत्यधिक आउने गरेको उनको भनाइ छ ।

खाल्डाखुल्डीमा बाइक चलाउँदा कसरी घाँटी र ढाडमा स्वास्थ्यमा असर पर्छ ? डा. रिजाल भन्छन्, ‘सामान्यतया मोटरसाइकलचालकलाई अगाडि खाल्डाखुल्डी भएको पूर्वजानकारी छ भने उसले आˆनो शरीरलाई पहिल्यै तयारी बनाउँछ । तर, अचानक खाल्डोमा पर्दा भने चालकको शरीर तयारी अवस्थामा हुँदैन । यस्तो बेलामा मांसपेशी तथा नशाहरु च्यातिने सम्भावना हुन्छ ।’

कहिले काहीँ बाइक चलाउँदा शरीरको सन्तुलन मिल्दैन । शरीरको लोड एक ठाउँमा मात्रै पर्दा उक्त ठाउँको मांसपेशी थाक्ने तथा च्यातिने गर्छ । यसले गर्दा ढाडमा पीडा हुने गर्छ ।

डा. रिजालका अनुसार यस्तो समस्या लिएर अस्पताल पुग्नेहरुमा काठमाडौका स्थानीयदेखि दुर्गमका बासिन्दासम्म छन् ।

तर, खाल्डाखुल्डी धेरै भएको र कच्चि सडक भएको क्षेत्रमा बस्नेहरुमा अत्यधिक संख्यामा आउने उनी बताउँछन् ।

बसमा लामो यात्रा गर्ने, दैनिक एक/डेढ घण्टा बाइक चलाउने तथा लामो समय एउटै आसनमा बसेर काम गर्नेहरुमा समेत यो समस्या देखिन्छ । ४० वर्ष बढि उमेरका मानिसहरुमा पनि यो समस्या छ । यस उमेरमा शरीरको हड्डी कमजोर हुन थाल्ने भएकाले पनि बढि जोखिम हुन्छ ।

डा. रिजाल भन्छन्, ‘ढाड तथा घाँटीबाहेक हात तथा घुँडाका जोर्नी, कुम, हत्केलालगायत शरीरका अन्य अंगहरुमा पनि क्षति पुग्न सक्छ । जसले गर्दा ती ठाउँका जोर्नी तथा लिगामेन्ट च्यातिने र मर्किने सम्भावना उच्च हुन्छ । समयमै उपचार नगरेको खण्डमा यस्ता दुखाइले ‘क्रोनिक पेन’का रुप लिन सक्छ ।’

ढाड दुखाइका लक्ष्यण

ढाड दुख्ने समस्या सुरुमा असह्य पीडाका रुपमा देखा नपरे पनि क्रमशः क्रोनिक पीडाका रुपमा बढ्दै जाने डा. रिजाल बताउँछन् । खाल्डाखुल्डीमा बाइक हाँक्दा मेरुदण्डको हड्डी सर्ने, डिस्क सर्ने, डिस्क बाहिर निस्कने लगायतका समस्या देखिने गरेको डा. रिजाल बताउँछन् । यस्तो समस्या भएमा कतिपय व्यक्तिको हात तथा नशा झम्झमाउने र निदाउने गर्छ ।

ढाड सम्बन्धी समस्या भएमा यी लक्षणहरु देखा पर्छन् –

– ढाड, कुम, घाँटी तथा शरीरका अन्य अंगमा पीडा महसुस हुने
– आधा घण्टाभन्दा बढी समय कुर्सीमा बस्न नसक्ने
– धेरै थकाइ लाग्ने
– थोरै काम गर्दा पनि मांसपेशी गल्ने, झम्झमाउने, हातखुट्टा निदाउने
– थोरै हिँड्दा खुट्टा तथा घुँडा दुख्ने

यस्ता लक्षणहरु भएमा तुरुन्तै चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।

मांसपेशी च्यातिने, बस्ने तरिका नमिल्ने अनि विभिन्न रोगहरुका कारणले ढाडसम्बन्धी समस्या देखा पर्न सक्छ । बस्ने पोजिसन नमिल्दा हुने समस्यालाई ‘मेकानिकल पेन’ भन्ने गरिन्छ । लामो समय एउटै पोजिसनमा बस्दा, बाइक चलाउँदा वा अन्य गतिविधि गर्दा पनि यस्तो समस्या हुन्छ ।

अस्पतालमा आउने ढाडका बिरामीमध्ये झण्डै ९० प्रतिशतमा मेकानिकल पेनको समस्या देखिने गरेको चिकित्सकको भनाइ छ । यसबाहेक, ट्युमुर लगायतका अन्य रोगका कारणले पनि ढाड दुख्न सक्छ । यस्तो समस्या कुल विरामीमा १० प्रतिशतसम्म हुन्छ ।

नेपालमा मेकानिकल पेनको समस्या लिएर आउने बिरामीको यकिन तथ्यांक नभए पनि ओपिडीमा आउने बिरामीमध्ये करिब २० प्रतिशत बिरामीहरु ढाड, घुँडा तथा जोर्नी दुखाइको समस्या लिएर अस्पताल आउने गरेका छन् ।

ढाड दुख्नुमा मासंपेशी बाहेक अरु पनि कारण हुने भएकाले ढाडको दुखाइ बढेमा सगज हुनुपर्ने चिकित्सक बताउँछन् । ट्रमा सेन्टरका डा. रिजाल भन्छन्, ‘कुनै काम गर्दा वा लामो समय बस्दा ढाड वा शरीरको मांसपेशी दुखेमा बस्ने पोजिसन फेरेर समस्यालाई कम गर्न सकिन्छ ।’

यस्तो समस्या भएका व्यक्तिले चिकित्सककहाँ जानुअगाडि ‘मैले के के गतिविधि गरेको थिएँ’ भनेर मनन गर्न आवश्यक रहेको रिजाल बताउँछन् ।

कसरी बच्ने ?

यस्ता समस्याहरुबाट बच्न सबैभन्दा पहिले बाइकको गति घटाउनुपर्ने डाक्टरहरुको सुझाव छ । त्यसबाहेक लामो दुरीमा सकभर बाइकमा यात्रा नगर्ने र गर्नै परे पनि छोटो छोटो समयमा ब्रेक लिएमा यस्ता दुखाईलाई कम गर्न सकिन्छ ।

अन्यथा, लामो समय एउटै पोजिसनमा बाइक चलाउँदा मांसपेशी थाक्ने, कडा हुने तथा च्यातिने सम्भावना उच्च हुन्छ । नेपालमा लामो समय बाइक चलाएर हड्डी नै खुस्किएको विरामी नआए पनि लामो दुरीमा बसको यात्रा गर्दा खल्डाखुल्डीका कारण ढाड कक्रेको, ढाडको नशा च्यापिएको, ढाडको हड्डी खुस्किएको तथा हड्डी सरेको केसहरु पनि प्रशस्तै भएको चिकित्सकहरु बताउँछन् ।

दैनिक जीवनशैलीमा सन्तुलित भोजनदेखि बस्ने पोजिसनसम्म पर्छन् । सन्तुलित आहारमा भिटामिन, मिनरल्स, प्रोटिन, कार्बोहाइड्रेड, क्याल्सियम, भिटामिन ‘डी’ लगायत पर्छन् । तर, आजकलको व्यस्त जीवनशैलीका कारण शरीरले पर्याप्त मात्रामा पोषणतत्व पाइरहेको हुँदैन । जुन शरीरका लागि आवश्यक छ ।

त्यस्तै, व्यस्त जीवनशैलीका कराण शरीरले पर्याप्त मात्रामा आराम पाउँदैन । जबकि, पञ्चतत्व (आकाश, पृथ्वी, जल, अग्नि, वायु) द्वारा निर्मित मानव शरीरलाई चलायमान बनाउनका लागि कामसँगै आरामको पनि आवश्यकता पर्छ ।

व्यस्त जीवनशैलीका बीच ढाडको बोझ कम गर्ने सबैभन्दा उत्तम उपाय भनेको दिनमा कम्तिमा चार किलोमिटरको हिँडाइ हो । त्यसबाहेक, फिजियोथेरापिस्टको एक्सरसाइज गरेर पनि ढाड तथा मेरुदण्डलाई बलियो बनाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment