Comments Add Comment

दोलखाका सात स्थानीय तहको पहिलो किस्ताको रकम रोक

२७ भदौ दोलखा । आर्थिक विवरण नबुझाउँदा दोलखाका सात वटा स्थानीय तहको चालु वर्षको पहिलो किस्ताको रकम रोकिएको छ ।

दुई नगरपालिकाले गत आर्थिक वर्षको आर्थिक विवरण बुझाई पहिलो किस्ताको रकम निकासा लगिसकेपनि जिल्लाका ७ वटा गाउँपालिकाले भने गत वर्षको आर्थिक विवरण नै बुझाएका छैनन् ।

जिल्लाका दुई नगरपालिकामध्ये भीमेश्वर नगरपालिकाले यही भदौ ५ गते र जिरी नगरपालिकाले भदौ ६ गते पहिलो किस्ताबापतको रकम निकासा लगेको छ । भीमेश्वर नगरपालिकाले पहिलो किस्ताबापत रु १० करोड १७ लाख ७५ हजार रकम पाएको छ, भने जिरी नगरपालिकाले पाँच करोड ८८ लाख ५० हजार रकम निकासा लगेको छ ।

आर्थिक विवरण बुझाएका दुई नगरपालिकालाई निकासा दिए पनि गाउँपालिकाले भने गत वर्षको आर्थिक विवरण बुझाउन बाँकी रहेकाले पहिलो किस्ताबापतको रकम लैजान नसकेको प्रमुख कोष नियन्त्रक भीष्मप्रसाद न्यौपानेले जानकारी दिए ।

गाउँपालिकातर्फ चालु आर्थिक वर्षका लागि सबै भन्दा बढी २९ करोड ८३ लाख ३० हजार बजेट पाएको कालिञ्चोक गाउँपालिकाले पहिलो किस्ताबापत सात करोड ३९ लाख ५० हजार पाउनेछ । त्यसमध्ये चार करोड १० लाख सर्शत अनुदान हो भने तीन करोड २९ लाख ५० हजार वित्तीय समानीकरण बापतको रकम हो ।

गौरीशङ्कर गाउँपालिकाले चालु आर्थिक वर्षका लागि कूल २२ करोड ४० लाख ३८ हजार बजेट पाएकोमा पहिलो किस्ताबापत पाँच करोड ५३ लाख ५० हजार पाउनेछ । त्यसमध्ये दुई करोड ६३ लाख ५० हजार वित्तीय समानीकरण र दुई करोड ९० लाख सशर्त अनुदान हो ।

तामाकोशी गाउँपालिकाले पहिलो किस्तामा दुई करोड ८८ लाख ५० हजार वित्तीय समानीकरण र तीन करोड ८० लाख सशर्त अनुदान गरी कूल ६ करोड ६८ लाख ५० हजार पाउनेछ । तामाकोशी गाउँपालिकालाई चालु वर्ष केन्द्र सरकारले २६ करोड ९० लाख ४० हजार बजेट विनियोजन गरेको छ ।

यसैगरी कुल २४ करोड ७८ लाख ३७ हजार बजेट पाएको वैतेश्वर गाउँपालिकाले पहिलो किस्तामा ६ करोड १५ लाख बजेट पाउनेछ । त्यसमा ३ करोड २० लाख सशर्त अनुदान र २ करोड ९५ लाख वित्तिय समानिकरण अनुदान हुनेछ । मेलुङ गाउँपालिकाले चालु आर्थिक वर्ष  २७ करोड ४२ लाख ३७ हजार कुल बजेट पाउनेमा पहिलो किस्तामा २ करोड ९९ लाख वित्तीय समानीकरण र ३ करोड ८० लाख सशर्त अनुदान गरि कुल ६ करोड ७९ लाख बजेट पाउनेछ ।

चालु आर्थिक वर्ष कूल २३ करोड ७२ लाख ४२ हजार बजेट पाएको विगु गाउँपालिकाको लागि पहिलो किस्तामा  ५ करोड ९२ लाख बजेट निकासा हुनेछ । त्यसमध्ये  २ करोड ८२ लाख वित्तीय समानीकरण र ३ करोड १० लाख सशर्त अनुदान हो ।

यस्तै, शैलुङ गाउँपालिकाले पहिलो किस्तामा २ करोड ८२ लाख ७५ हजार वित्तीय समानीकरण र २ करोड ९० लाख सशर्त अनुदान गरी कूल पाँच करोड ७२ लाख ७५ हजार पाउनेछ । शैलुङ गाउँपालिकालाई चालु आर्थिक वर्षका लागि भने कूल २२ करोड ९३ लाख ३८ हजार बजेट विनियोजन गरिएको छ ।

तर हालसम्म कुनै पनि गाउँपालिकाले पहिलो किस्ता बापतको रकम निकासा भने लगेका छैनन् । गाउँपालिका गत आर्थिक वर्षको हिसाब बुझाउने प्रक्रियामा रहेकाले चाँडै निकासा लैजाने प्रमुख कोष नियन्त्रण न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment