Comments Add Comment

मुख्यमन्त्रीज्यू, पोखरालाई ‘रेडलाइट’ नबनाइयोस् !

माननीय मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्ग ज्यू, अभिवादन/नमस्कार । सर्वप्रथम लमजुङ्गको एक दुर्गम गिलुङ्ग गाउँमा जन्मिएर राष्ट्रिय राजनीतिमा स्थापित भई समाज र देशको सेवामा अहोरात्र खटिइरहनुभएकोमा एक जिल्लावासीको हैसियतले तपाईलाई सम्मान टक्र्याउँछु ।

तर, भदौ २६ गते मिडियामा तपाईको नाम जोडेर आएको समाचार पढ्ने मौका पाएँ, जसमा लेखिएको थियो- ‘गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले यौन व्यवसायलाई व्यवस्थित बनाउन यौनकर्मीलाई परिचयपत्रको व्यवस्था गर्नुपर्ने बताएका छन् ।’

होटल संघ नेपालले आयोजना गरेको उक्त कार्यक्रममा तपाईले कि रेडलाइट एरिया हुनुपर्ने, या त यौनकर्मीलाई परिचयपत्रको व्यवस्था गर्नुपर्ने उपाय सुझाउनुभएको लेखिएको थियो । यौनकर्मीलाई परिचयपत्रको व्यवस्था गरे थोरै थोरै कर संकलन गर्न सकिने, जसले गर्दा होटल व्यवसाय फस्टाउने, प्रहरीले होटल व्यवसायमा छापा मारिरहनुनपर्ने जस्ता फाइदै फाइदाको तर्क पेश गर्नुभएको पढेंँ ।

मुख्यमन्त्रीज्यू,
वि.संं. २०२७ सालमा इसानेश्वर प्रमोद हाइस्कुल, भोर्लेटारबाट अनेरास्ववियुको तर्फबाट स्ववियु सचिवमा निर्वाचित हुनुभएको तपाईको राजनीतिक जीवनको सानो गोरेटोले तपाईलाई जिल्लाको सांसद, देशको पर्यटन मन्त्री र तपाई रहनुभएको पार्टीको केन्द्रीय कमिटीको सचिव र संगठन विभाग प्रमुख हुँदै गण्डकी प्रदेशको मुख्यमन्त्रीको कुर्सीसम्म पुर्‍याएको छ ।

लमजुङ्गबाट आएर यी विभिन्न ओहदामा रहेर भूमिका निभाउनुभएको तपाई समग्र लमजुङ्ग मात्रै नभएर देशकै एक उदाहरणीय नेता हुनुहुन्छ । तपाईको यो सफलतालाई हामी सबैले स्वीकार्नुपर्दछ, सिक्नु पर्दछ भन्ने लाग्छ ।

संस्कृतिका धनी गुरुङ्गहरुको बाक्लो बस्ती रहेको लमजुङ्ग जिल्लामा सोही समुदायमा जन्मिनुभएको तपाईले पार्टीमा जातीय विभाग प्रमुख र आदिवासी जनजाती फाँट इञ्चार्जमा रहेर आफ्नो भूमिका निर्वाह गरिसक्नुभएको छ ।

त्यसो त तपाईलाई तत्कालीन नेकपा एमालेले माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री पनि बनायो । तपाईलाई जनजातीको भावना बुझ्ने र नेपालको संस्कृति र त्यससँग जोडिएको पर्यटनलाई माथि लैजान सक्ने एउटा खम्बा देखेर पटक- पटक यी पदहरु तपाईका पोल्टोमा आइलागेका छन् ।

पछिल्लो समय तपाई झण्डै ८ महिना अघि नेपालको पर्यटनको राजधानी मानिने पोखरा प्रदेश नं. ४ (जो पछि गण्डकी प्रदेश भनिएको छ) को एक भाग्यमानी मुख्यमन्त्रीको रुपमा नियुक्त हुनुभयो । हिमाल र तालले सजिएको पोखराले तपाई एक आफैंमा संस्कृति बुझेको पूर्वपर्यटन मन्त्री पाएर त्यो क्षेत्रको पर्यटन, पर्यावरण, संस्कृति र भिन्न भौगोलिक वातावरणमा चासो राख्ने सम्पूर्ण नेपालीलाई एउटा आशा र उमङ्गको सञ्चार पक्कै गरायो । प्रादेशिक संरचनामा देश गएपछि पोखरा राजधानी भएको तपाई मुख्यमन्त्री हुनुभएको यो प्रदेश अलि बढी प्राथमिकतामा रही आएको छ, ता कि यो प्रदेशसँग सबैले धेरथोर आशा गरेका छन् ।

पोखरा आन्तरिक पर्यटकको पहिलो रोजाईमा मात्र पर्ने नभएर सन् १९५० मै सगरमाथा आरोहण सम्पन्न नहुँदै यही पोखराको बाटो हुँदै फ्रेञ्चहरुले अन्नपूर्णको ऐतिहासिक आरोहण गरेकाले पोखरा उ बेलादेखि नै विश्वमा चिनिएको छ । तपाई विश्वमै चिनिएको पर्यटकले पत्याइएको गन्तव्यको रुपमा स्थापित भइसकेको एउटा हिराझै बहुमूल्य प्रदेशमा रहेको पोखरा शहरलाई केन्द्र बनाएर आफ्नो अनुभवको उचाइ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देश नेपालको यो सुन्दर शहर र प्रदेश बनाउन प्रयोग गरिरहनु भएको छ, त्यो जिम्मेवारी तपाईको काँधमा छ । तपाईको हातमा आएको पोखरा केन्द्र रहेको गण्डकी प्रदेश नेपालको उत्कृष्ट प्रदेश बनोस र बन्नेछ, तपाईलाई हार्दिक शुभकामना ।

मुख्यमन्त्री बहाल भएपछि तपाईले ८ महिनासम्म पोखरालाई बुझेर निकाल्नुभएको रेडलाइटको अन्तिम निष्कर्ष, जो यौनकर्मीलाई व्यवस्थित बनाएर परिचयपत्र जारी गर्ने कुरा नेपाली समाजको मूल्य मान्यतासँग मेल खाला वा नखाला, यो अब बहसको विषय बनिसकेको छ । तर, माफ गर्नुस मुख्यमन्त्रीज्यू, एक पर्यटन क्षेत्रमा काम गर्ने विद्यार्थीको हेतुले तपाईले प्रस्ताव गर्नुभएको यौनकर्मीलाई परिचयपत्र नै दिलाएर व्यवस्थित यौन अखडाका रुपमा हाम्रो पर्यटकीय शहरलाई विकास र विस्तार गर्ने तपाईको मास्टर प्लानसँग म यस लेखमार्फत पहिलो असहमति दर्ता गराउन चाहन्छु ।

मुख्यमन्त्रीज्यू,
एउटा गीतै छ नि, “मर्ने कसैलाई रहर हुँदैन” यस्तै यौनकर्मी बन्ने रहर पनि कमैलाई होला अपवाद बाहेक । सबै परिवारलाई आफ्नो छोराछोरीले राम्रो बाटो समाउन, उच्चशिक्षा हासिल गुरुन्, राम्रो जागिर पाउन्, समाजमा सम्मानित जीवन बिताउन् भन्ने नै हुन्छ । पैसा आर्जनका लागि पराईलाई आफ्नो शरीर बेच्नु देहव्यापारजस्तो अनैतिक कर्ममा आउने रहर कसलाई होला र ?

हो, हाम्रो समाजमा गरिबी होला, अशिक्षा होला, थोरै यस्तो समूह जान अञ्जानमा यस्तो बाटो समाउन पुगेका होलान् । राज्यले त बाटो बिराएकालाई सुबाटोमा ल्याउने पहल गर्नु पर्ला कि ? यस्ता थोरै झुण्डलाई अन्य विकल्पहरु दिएर राज्यले स-सम्मान जीवन जिउने वातावरण बनाउन पर्ला कि ?

के हामीले गणतन्त्र गरिबका छोरीहरुलाई यौनकर्मीको ट्याग लगाउन ल्याएका हौं र ? हाम्रो समाजको आवश्यकता अब रेडलाईट एरिया बनिसकेको हो ? के हाम्रो पर्यटन बजार यति कमजोर धरातलमा उभिएको छ, जहाँ धेरै पर्यटक ल्याउन हामी हाम्रा पवित्र शहरहरुलाई यौनकर्मीको शहर बनाउन लागिपर्ने ? के तपाईसँग आफ्नो छोरी चेलीलाई यौनकर्मीको लाइसेन्स वितरण गर्ने आँट साँच्चै छ ? माननीयज्यू, अन्नपूर्णको काखमा बसेर नारीहरुको अस्मितामा हल्का टिप्पणी गरेको अलि सुहाएन कि ?

मुख्यमन्त्रीज्यू, तपाईले बुझ्नुभएको पोखरा र मैले बुझेको पोखरा फरक रहेछन् । मैले बुझेको पोखरा प्रकृतिको सुन्दर घर हो । जहाँ विदेशीहरु हिमाली सभ्यताको रसोस्वादन गर्न आउँछन्, विश्वप्रख्यात टे्रकिङ्ग रुटहरु जस्तै – अन्नपूर्ण राउण्ड, घोरेपानी पुनहिल, जोमसोम, धौलागिरी बेसक्याम्प, अन्नपूर्ण वेसक्याम्प, मार्दी हिमाल, मुक्तिनाथ, अपर मुस्ताङ्ग, नार्फू, घलेगाउँ, सिरुबारी, डोल्पा आदिमा आउजाउ गर्दा पोखरा क्रस हुन्छ ।

पोखरा यी हट पर्यटन प्रोडक्टको एउटा बेसक्याम्प शहर हो । माथि उल्लेखित गन्तव्य ताकेर यो क्षेत्रमा सवार हुने पर्यटकको रुची यौन हुँदै होइन र हुनै सक्दैन । यिनीहरु विशुद्ध प्रकृतिमा रम्न आउँछन् । यिनीहरु पसिना निकालेर डाँडाकाँडामा पुग्छन् । यी पर्यटक नेपाली पर्यटनका वास्तविक मेरुदण्ड हुन् ।

यौनकर्मी अर्थात सेक्स वर्करको परिचयपत्र दिँदै पोखराजस्तो प्राकृतिक रुपले धनी ठाउँमा यौनबजारको विकास विस्तार गर्ने हो भने यी प्रकृतिप्रेमी पर्यटकको रोजाइमा पोखरा नपर्न सक्छ । स्वयम् पोखरा यौन अखडाको शहरका रुपमा प्रचार हुन जाँदा पोखराको महत्व घट्न गई नराम्रो नियतका पर्यटकले पोखरा वरपरको सामाजिक वातावरण समेत वर्वाद हुन्छ । तपाईलाई पोखराको पर्यटनबारे गलत स्कुलिङ्ग गराइएछ ।

मुख्यमन्त्रीज्यू, पर्यटन अर्थतन्त्रको एउटा स्रोेत हो, तर सबै चिज होइन । गलत पर्यटनको विकासले मुलुकले नराम्रो बाटो लिन जान्छ । यौन, लागुपदार्थ र त्यससँग जोडिएर आउने अपराध आदिलाई प्रोत्साहन गर्ने पर्यटन नीति राज्यले नलिएकै जाति होला ।

देश हाम्रो हो, थोरै पर्यटक बढ्लान्, त्यसले केही आर्थिक क्रियाकलाप बढ्ला भनेर हामीले हाम्रा चेलीबेटीलाई यौनको अस्त्रको रुपमा पर्यटकलाई सम्पनु राम्रो नहोला । यसले समाजलाई अपाङ्ग बनाइदिन्छ । हामी अरु सबै चिज किन्ने पर्यटकलाई देवता मानेर देशमा बोलाआैं, तर यौन किन्ने पर्यटकलाई ढोका बन्द गरौं । किनकि हामा्रे पर्यटन प्रोडक्ट आफैंमा मौलिक विशेषताले भरिएको छ । हाम्रा सम्पदाहरु विश्वका कुनै भू-भागमा छैनन् । सगरमाथा र भक्तपुर, लुम्बिनी र पशुपतिनाथ नेपालमा मात्रै छन् ।

रेडलाइट एरिया त शताब्दीऔंदेखि विश्वमा छाइरहेकै छन् । पेरिस, आम्सटडम, बैंकक, मुम्बई नबनाउ“m हाम्रा मन्दिरै मन्दिरका शहरहरुलाई । हामीसँग जे छ, त्यसैको प्रचार गरौं, त्यसैमा पर्यटक भुल्न सक्ने आधार खोजौं ।

विकसित देशका कति कुरा क्षणिक नक्कल गर्न सकिन्छ । तर, दैनिक जीवनमा लागू गर्न सम्भव हुँदैनन् । विकसित देशका आ-आफ्ना संस्कार र संस्कृति छन् । पश्चिमा देशमा हुने सम्बन्धविच्छेद, भौतिक विकास उनीहरुको शिक्षा र समाजसँग उनीहरुका वेश्यालय र यौनकर्मीका कथा जोडिएका छन् । हाम्रा कथाहरु हिमाल र बुद्धसँग जोडिएका छन् । त्यसैले रेडलाइट एरिया हाम्रो नेपाली समाजको हालको गन्तव्य हुनुहुँदैन । हामी आयुर्वेद, ध्यान र योगा पर्यटन, हिमाली पदयात्रा पर्यटन, अर्गानिक खानाको पर्यटन लगायत कैयौं आफ्नै माटोमा उपलब्ध स्रोतको उपयोग गरेर पर्यटकको सेवामा लाग्न सकिन्छ ।

भारतकै पर्यटकलाई उनीहरुका हिल स्टेशनहरु दार्जीलिङ्ग, सिमला, सिक्किम, मनाली, काश्मीर आदिमा कुनै रेडलाइट एरिया निर्माण नगरे पनि उनीहरुको पर्यटनले उल्लेख्य प्रगति गरेकै छ । ठूलो जनसंख्या भएको चीनमा यौनजन्य गतिविधिको किनबेचमा बर्जित छ । अमेरिका र बेलायत जस्ता विकसित देशले समेत अर्धवर्जित रणनीति अपनाएका छन् । त्यसैले नेपालजस्तो विश्वको अग्लो ८ हिमालले बास गरेको, गौतमबुद्ध जन्मिएको देशमा हाम्रा नारी अस्मिताहरुलाई राज्यले सुरक्षाको सुनिश्चिता गर्नु पार्ला कि ?

जिल्लावासी र एक देशप्रेमीको नाताले तपाईले उठाउनुभएको विषयमा पुनः असहमति जारी गर्दै यो पत्र यहीँ अन्त्य गर्दछु ।

तपाईलाई यी असहमतिहरुले भोलिका दिनमा यस्ता विषयमा बोल्न र काम गर्न सकारात्मक सहयोग गर्नेछ भन्ने पूर्ण आशा गर्दछु । तपाईको कार्यकाल सफल रहोस् । धन्यवाद ।

-मर्स्याङदी गाउँपालिका – ९, लमजुङ, गण्डकी प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment