Comments Add Comment

अर्थमन्त्रीलाई जवाफ : ऋण नलिई गाडी चढ्नै गाह्रो !

२७ भदौ, काठमाडौं । सवारी साधनहरुको महाकुम्भ मेला यतिबेला राजधानीको भृकुटीमण्डपमा जारी छ । नाडा अटो मोवाइल्स डिलर्स एशोसिएशनले हरेक वर्ष आयोजना गर्दै आएको नाडा अटो शो उदघाटन मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले गरे । तर, अर्थमन्त्रीको भाषणबाट गाडी व्यापारीहरू खुशी भएनन् ।

सवारी साधन बिक्री गर्ने मुख्य उद्देश्यसहित आयोजना गरिएको मेला उद्घाटन समारोहमा प्रमुख अतिथिको तर्फबाट मन्तव्य राख्दै अर्थमन्त्री खतिवडाले भनेका थिए- ‘ऋण लिएर धेरै गाडी नचढ्नुस’

आफू माहोल हेरेर नभई यथार्थ कुरा बोल्ने अर्थमन्त्री भएको भन्दै खतिवडाले सवारी साधनहरु खरिद गर्न सक्ने आर्थिक क्षमता भएकाहरुले मात्रै खरिद गर्न र ऋण लिएर सवारी साधन नचढ्न सुझाव दिएका हुन् ।

तर, नेपालमा गाडी चढ्नेहरुको यथार्थ अर्थमन्त्री खतिवडाले भनेजस्तो छैन ।

अर्थमन्त्री खतिवडाको भनाइले पक्कै पनि आयोजक व्यवसायीहरुलाई नरमाइलो लागेकै हुनुपर्छ । किनभने अर्थमन्त्रीको भनाइ अनुशरण गर्ने हो भने नेपालमा गाडीको बजार फस्टाउन सक्दैन । किनभने, नगदै तिरेर ऋण नलिइकन गाडी चढ्न सक्ने वर्ग नेपालमा सानो संख्यामा छ ।

‘अर्थमन्त्रीज्यूले बोल्नुभएको कुरा मलाई मात्रै होइन, एशोसिएशनका अन्य पदाधिकारी साथीहरुलाई पनि चित्त बुझेको छैन, यस विषयमा हामीले बोल्दै हिँड्यौ भने झन नराम्रो हुन सक्छ ।’

अर्थमन्त्रीले दिएको सुझाव मानेर नगद तिर्न सक्नेले मात्रै गाडी खरिद गर्ने हो भने व्यवसायीहरुको व्यवसायमा नै धक्का पुग्न सक्छ । यद्यपि, अर्थमन्त्रीको भाषणको विषयमा कुनै व्यवसायीहरुले खुलेर प्रतिक्रिया दिएका छैनन् ।

नाडा एशोसिएसनका एक सदस्यले अर्थमन्त्रीज्यूले यस्तो कुरा बोल्न आवश्यक नरहेको अनलाइनखबरलाई प्रतिक्रिया दिए । ‘अर्थमन्त्रीज्यूले बोल्नुभएको कुरा मलाई मात्रै होइन, एशोसिएसनका अन्य पदाधिकारी साथीहरुलाई पनि चित्त बुझेको छैन्’ उनले भने, ‘अब यस विषयमा हामीले बोल्दै हिँड्यौ भने झन नराम्रो हुन सक्छ । यसर्थ यो विषयमा केही नबोलौं ।’

अर्थमन्त्रीको भाषण सार ऋणको भार बोकेर विलासी जीवन जिउनुहुँदैन भन्ने हुन सक्छ । तर,अर्थमन्त्रीले दिएको यो सुझाव जनमानसमा कार्यान्वयन हुने सम्भावना न्यून देखिएको छ । अर्थमन्त्री खतिवडाको मंगलबारको भाषणपछि हामीले बुधबार मेलास्थलमै गएर अध्ययन गर्‍यौं ।

९० प्रतिशत नेपाली ऋण लिएरै गाडी किन्दै

अर्थमन्त्री खतिवडाले ऋण लिएर गाडी नचढ्न सुझाव दिएको भोलिपल्ट अनलाइनखबरको टोली नाडा अटो शो भृकुटीमण्डपमा पुग्दा सवारी साधनहरु स्टलमा राखेर बसेका विभिन्न कम्पनीहरुका कर्मचारीहरुले नगदमा नभई कर्जा लिएरै सवारी चढ्नेको संख्या अत्यधिक रहेको बताए ।

स्टलमा बसेका विभिन्न सवारी साधनहरुका डिलर्स प्रतिनिधिहरुले १० प्रतिशत नेपालीले पनि नगद चुक्ता गरेर गाडी नचढ्ने सुनाए । अर्थात ९० प्रतिशतले सवारीसाधन खरिद गर्दा बैंकिङ कर्जा लिने गरेका छन् ।

 

१० देखि बढीमा १५ प्रतिशतमात्रै फाइनान्स नगरी गाडी किन्न सक्ने कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका सिनियर अफिसर विवेक लेखकको तर्क छ ।

बुधबार दिउँसो प्रदर्शनीस्थलका विभिन्न स्टलहरुमा अवलोकनकर्ताहरुको बाक्लो भीड देखिन्थ्यो । तिनै अवलोकनकर्ताहरुलाई सवारी साधनको सेवा, सुविधा, मूल्य आदिका बारेमा कर्मचारीहरुलाई बुझाउन भ्याई/नभ्याई थियो ।

त्यही भीडमा केआईए कम्पनीका गाडीको स्टल थियो । त्यहाँ विद्युतीय सवारी साधन राखिएका थिए । केआईएको सेल्स एण्ड डिलर डेभलपमेन्टका सहायक महाप्रबन्धक मञ्जितकुमार पोख्रेल अवलोकनकर्ताहरुलाई आफ्नो कम्पनीको गाडीका बारेमा बुझाउन व्यस्त थिए ।

ग्राहक भन्छन् – हामीलाई ऋण लिएर गाडी चढ्न मन चाहिँ होइन तर, गाडी चढ्नैपर्ने आवश्यकता भएकाले फाइनान्स गरेरै गाडी किन्नुपरेको छ ।’

आधा घण्टामात्रै चार्ज गरे पुग्ने, एकपटक फूल चार्ज गर्दा २ सय भन्दा बढी किलोमीटर बढी कुद्ने, चार्जर फ्री, वार्षिक कर नतिर्नुपर्ने लगायतका सुविधाबारे अवलोकनकर्तालाई बुझाउन व्यस्त रहेका पोखरेलसँग थोरै समय मागेर हामीले कुरा गर्‍यौं ।

पोखरेलका अनुसार उनको कम्पनीका गाडीहरु हालसम्म १७ वटा बुकिङ भइसकेका छन् । दोस्रो दिन सकिन बाँकी रहेका बेला १७ वटा गाडी खरिदका लागि बुकिङ भइसकेको उनले जानकारी दिए ।

हाम्रो चासो थियो- गाडी किन्नेहरुले नगदमै किन्छन् कि ऋणमा ? पोखरेलले बुक भएका १७ वटा गाडीमध्ये २ जनाले मात्रै नगदमा किन्ने र बाँकी सबैले फाइनान्स गर्ने अर्थात कर्जामै गाडी किन्ने जानकारी दिए ।

सुजुकीको गाडी बिक्री गर्ने श्रीमन अटो लिंकका जनरल म्यानेर रवीन्द्र श्रेष्ठले पनि ऋणमा नै सवारी खरिद गर्ने धेरै हुने बताए । दुई दिनको अवधिमा २५ वटा सवारीसाधन खरिद गर्नका लागि अवलोकनकर्ताहरुले बुक गरिसकेको उनले जानकारी दिए ।

श्रेष्ठका अनुसार २५ वटा बुकिङमध्ये लगभग ३ जनाले मात्रै नगदमा खरिद गर्ने र बाँकी सबैले बैंकिङ कर्जामै मासिक किस्ता बुझाउने गरी गाडी किन्ने बताएका छन् ।

किन गरिन्छ ऋण लिएर गाडी खरिद ?

नाडा अटो शोमा गाडी खरिद गर्ने सोच बनाएर मेला पुगेका काठमाडौं गोठाटारका रमेश मरहट्टाले भने- ‘हामीलाई ऋण लिएर गाडी चढ्न मनचाहिँ होइन तर, गाडी चढ्नैपर्ने आवश्यकता भएकाले फाइनान्स गरेरै गाडी किन्नुपरेको हो ।’

सवारीसाधनहरु यतिबेला आधारभूत आवश्यकताको रुपमा विकास भइसकेको बताउँदै आफू पनि एउटा गाडी किन्ने सोचका साथ भृकुटीमण्डपमा आएको रमेशले अनलाइनखबरलाई बताए ।

‘म फाइनान्स गरेरै गाडी किन्छु, किनकी मसँग धेरै पैसा छैन,’ उनले भने, ‘नगद भए त बैंकलाई बुझाउनुपर्ने ब्याज घरको अन्य काममा लगाउँदा हुन्थ्यो । एकैचोटि ठूलो रकम नहुने र मासिक किस्ता बुझाउन पाइने भएकाले गाडी लिने सोच बनाएको हुँ ।’

त्यसैगरी गाडी खरिद गर्न प्रदर्शनीस्थल पुगेका रामचन्द्र पोखरेलले पनि एकैपटक तिर्न भन्दा किस्तामा तिर्न नै सहज हुने भएकाले फाइनान्सिङ सुविधा रोजेको बताएछ ।

‘अर्थमन्त्रीले उद्घाटन समारोहमा ऋण लिएर गाडी नचढ्नु भन्नुभएछ त्यो ज्यादै राम्रो कुरा हो’ पोखरेलले अनलाइनखबरसँग भने, ‘ऋण लिँदा धेरै ब्याज तिर्नुपर्छ, सके त नगदमै लिएको राम्रो हो । तर, सकिँदैन ।’

चारपांग्रे सवारी साधनको तुलनामा दुई पांग्रे अर्थात मोटरसाइकल र स्कुटी भने नगदमै खरिद गर्ने धेरै हुने गरेको बिक्रेताहरु बताउँछन् ।

यामाहा कम्पनीको मोटरसाइकलको स्टलमा बसेका अभिषेक डंगोलले भने- ‘नगदमा खरिद गर्ने र फाइनान्स सुविधा लिने ग्राहकहरु बराबरी जस्तै छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment