Comments Add Comment

निर्मला हत्याकाण्डमा नयाँ टि्वस्ट : किन गरे केसीले राजीनामा फिर्ता

२७ भदौ, काठमाडौं । कञ्चनपुरकी वालिका निर्मला पन्तको बलात्कारपछि हत्याबारे छानविन गर्न गठित उच्चस्तरीय समितिबाट सोमबार राजीनामा दिएका उपसचिव वीरेन्द्रबहादुर केसी फेरि समितिमा फर्किएका छन् । केसीको ढुलमुलेगतिविधि र लटरपट कुरा गराईले हत्याको अनुसन्धान प्रक्रिया थप सन्देहास्पद बनेको छ ।

ज्यानकै सुरक्षा नहुने भो भन्दै छानविन समितिबाट राजीनामा दिएको ४८ घण्टापछि बुधबार गृह मन्त्रालयमै पत्रकार सम्मेलन गरेर केसीले आफू समितिमा फर्किएको बताए ।

यो ४८ घण्टाको वीचमा केसीले गृहमन्त्री रामबहादुर थापा बादल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र छानविन समितिका संयोजक हरिप्रसाद मैनालीलाई भेटेका थिए ।

केसीका अनुसार सोमबार राजीनामा दिनुअघि पनि गृहमन्त्रीलाई भेट्ने प्रयास गरेका थिए । तर, सम्भव नभएपछि पत्रकार सम्मेलन नै गरेर राजीनामा घोषणा गरेका थिए । निर्मलाले न्याय नपाउने देखेपछि राजीनामा दिनुपरेको केसीले बताएका थिए ।

तर, बुधबार भएको छलफलमा आफ्नो र गृहमन्त्रीको धारणा एउटै पाइएकाले समितिमा बसेर काम गर्न सहमत भएको केसीले बताए । उनले भने- ‘हिजो छोड्दा पनि निर्मला हत्याकाण्डका वास्तविक अपराधीहरु न्यायको कठघरा आउनुपर्छ भन्ने हो ।’

राजीनामा दिँदा भनेका थिए केसीले ?

निर्मला पन्तको हत्या र त्यसपछि भएको आन्दोलनमा प्रहरीले चलाएको गोलीकाण्डबारे छानविन गर्न सरकारले गृहमन्त्रालयका सह-सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा छानविन समिति बनाएको थियो । प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिवसमेत रहेका केसी सो छानविन समितिका एक सदस्य हुन् ।

मैनाली नेतृत्वको समितिले तत्कालीन प्रहरी नेतृत्वको घटनाको अनुसन्धानमा लापरवाही गरेको प्रारम्भिक निष्कर्ष निकालेको छ । तर, समितिको प्रतिवेदन लेख्ने क्रम नसकिँदै केसीले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरेपछि एक प्रकारको तरंग आयो ।

राजीनामा घोषणा गर्दैगर्दा केसीले छानविन समितिको म्याद थपिएकोमा असन्तुष्टि मात्रै जनाएनन्, निर्मलाका हत्यारा पत्ता लगाई दोषीमाथि कारबाही हुनेमा समेत शंका गरे ।

राजीनामाका क्रममा केसीले दुईवटा विषय उठाएका थिए-

१- दिलिपसिंह बिष्टको डीएनए टेष्टको कम्प्लिकेशन र १५ दिनभित्र प्रतिवेदन पेश नगरेमा हुन सक्ने सम्भावित दुर्घटना र अपराधी उम्कन सक्ने सम्भावनाबारे समितिसमक्ष बारम्बार आफ्ना धारणा राख्दै आएँ । मेरा धारणा र तथ्य ओझेलमा पर्न सक्ने सम्भावना देखेर जिम्मेवारीबाट हटेँ ।

२- पन्ध्र दिन म्याद थप गरेको यससन्दर्भमा निर्मला पन्तको बर्वरतापूर्वक जघन्य अपराधको विरुद्धमा उभिई निर्मलाको आत्मा र परिवारलाई यस समितिको सदस्यबाट न्याय दिन मेरो तर्फबाट असम्भव देखेँ ।

पत्रकारले र्‍याख र्‍याखी पारेपछि….

बुधबार तब घटनाले नाटकीय रुप लियो, जब केसीले गृह मन्त्रालयमा अर्को पत्रकार सम्मेलन गरेर आफू फेरि छानविन समितिमै फर्किएको घोषणा गरे ।

गृहमा आयोजित पत्रकार सम्मेलनमा केसीलाई साञ्चारकर्मीले सोधे- ‘हिजो छानविन समितिले न्याय दिन सक्दैन भन्नुभएको थियो, अब यही समिति न्याय दिन सक्ने कसरी भयो ? तपाईलाई कसले ज्यान मार्ने धम्की दियो ?

पत्रकारले र्‍याखर्‍याख्ती पारेपछि केसीले असुक्षित महसुस गर्नुको कारण सुनाए । उनका अनुसार १५ गते उनी एक्लै निर्मलाको साइकल र शव भेटिएको ठाउँको अध्ययन गर्न घटनास्थलमा गएका थिए । सीडीओसँग गाडी मागेर गएका उनले निर्मलाको साइकल देखेका व्यक्ति र निर्मलाका बुबालाई मात्रै त्यहाँ बोलाएका थिए ।

आफू स्थलगत अध्ययन गरिरहेका बेला केही स्थानीय पनि आए । त्यही क्रममा एकजना मोटरसाइकलमा आएको मोटो व्यक्ति त्यहाँ आए र भने, ‘सर, तपाईले काम सह्रानीय छ । तर, यस अगाडि पनि मान्छेलाई ब्रेक फेल भयो भनेर ट्रकले किचेर मारेका छन् । अलि ख्याल गर्नुस्, सोच्नुस्’ भनेर हिँडे ।

त्यसपछि आफू जिल्ला प्रशासन कार्यालयमा फर्किएको त्यसपछि संयुक्तरुपमा मात्र अनुसन्धानमा खटिएको उनले सुनाए । तर, ती मोटो व्यक्तिको मोटरसाइकल नम्बर थाहा नभएको केसीले बताए ।

हुन त केसीले असुक्षित महसुस गरे होलान् । तर, यो ‘धम्की’ र सोमबार राजीनामा दिँदा समितिबाट निर्मलाको आत्मा र परिवारलाई न्याय दिन असम्भव देख्नुमा कुनै तालमेल छ कि छैन ? अनि त्यसरी छानविन समितिका सदस्य केसीलाई धम्की दिने भनिएको व्यक्तिलाई अनुसन्धानको दायरामा किन ल्याइएन ? यो अर्को प्रश्न हो ।

बुधबार गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यही प्रश्न गर्दा उपसचिव केसीले भने, ‘तपाईले कसरी असुरक्षित महसुस गर्नुभयो भनेर सोध्नुभएकाले मैले यो घटना बताएको हुँ । छानविन समितिमा भएका मतमतान्तर सबै भन्न सक्दिनँ ।’

अब निर्मलाका वास्तविक हत्यारा पत्ता लाग्छन् त ? तपाई समितिमा फर्किएकै भरमा कसरी विश्वास गर्ने ? उपसचिव केसीले यसको प्रष्ट जवाफ दिएनन् । उनी ‘मेरो स्टेटमेन्ट अहिले पनि हेर्नुस्’ भन्दै पन्छिए ।

गृहमन्त्रीसँग भएको भेटमा अनुसन्धानका क्रममा आफूले देखेका तथ्यहरु ढुक्कसँग राख्न सक्ने वातावरण बनाउने विश्वास दिलाएको केसीले बताए । अब प्रतिवेदन लेख्ने क्रममा सहमत भएका विषय संयुक्तरुपमा आउने र कुनै फरक मत भए त्यहीरुपमा राख्ने उनले बताए ।

तर, यत्तिले मात्रै छानविन समितिको सदस्यबाट केसीको राजीनामा र ४८ घण्टापछिको फिर्तीलाई पुष्टि गर्न कठिन छ ।

गृह मन्त्रालय स्रोतका अनुसार केसीले राजीनामा दिएपछि उनीमाथि नै छानविन गर्ने गृहकार्य थालिएको थियो । त्यसैले सरकारले दबाव वा प्रभावमा पारेर केसी हतार-हतार छानविन समितिमा फर्कन बाध्य भएका हुन सक्छन् । किनकि केसीको राजीनामाले निर्मला हत्याको छानविनमाथि नै गम्भीर प्रश्न उठाएको छ ।

अब अर्को आशंका केसी माथि नै सोझिएको छ । कानुन समूहका केसी काठमाडौंबाट प्रदेशमा जान तयार थिएनन् । तर, सरकारले खटाएपछि बाध्यताबस गएका उनले यो प्रकरणमा व्यक्तिगत लाभ लिन खोजेको र काठमाडौं फिर्ता आउने बाहना पनि हुन सक्ने मन्त्रालय स्रोतको अनुमान छ ।

काठमाडौं आउने चाहना पूरा गरेको हो कि भन्ने आशंकालाई बल पुग्ने गरी केसीले पत्रकार सम्मेलनमा भने, ‘गृहमन्त्रीज्यूले तपाईलाई सरुवा, शान्ति सुरक्षाको कुनै अप्ठ्यारो भएको छ भने हामी छौं भन्नुभएको छ ।’

केसीको फिर्तीले थप सन्देह

गत साउन १० मा साथीकहाँ गएकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो । घटनाको अनुसन्धानमा प्रहरी प्रशासनको भूमिकामाथि स्थानीयले सुरुदेखि नै शंका गर्दै आएका छन् ।

‘भीआईपी’ अपराधीलाई उन्मुक्ति दिन खोजेको भन्दै कञ्चनपुबासीले आन्दोलन गरिरहेका बेला मानसिक सन्तुलन ठीक नभएका दिलिपसिंह विष्टलाई मुख्य अभियुक्तका रुपमा सार्वजनिक गर्‍यो । जसले आन्दोलनको आगोमा ध्यू थप्ने काम गर्‍यो ।

आन्दोलनकै क्रममा प्रहरीको गोलीबाट एक बालकको मृत्यु भएपछि मैनालीको नेतृत्वमा छानविन समिति गठन गरिएको थियो, जसमा केसीलाई पनि राखिएको थियो ।
छानविन समितिका सदस्य केसीले राजीनामा दिएको भोलिपल्टै मंगलबार दिलिप सिंह विष्टको डीएनए रिपोर्ट नेगेटिभ आएको खबर आयो । त्यही साँझ विष्टसँगै आँचल भनिने रोशनी बम र उनकी दिदी बविता बम पनि हिरासत मुक्त भइसकेका छन् ।

सबै घटनाक्रमले निर्मला हत्या प्रकरणको अनुसन्धान जटिल र सन्देहास्पद बनेको छ । र, यहीबेला वास्तविक अपराधी पक्राउ गर्नेमा संशय पैदा भएको भन्दै निर्मलाका आमाबुबा सरकारलाई दबाव दिन काठमाडौं आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment