Comments Add Comment

साफ च्याम्पियनसीपः कहाँ चुक्यो नेपाल ?

२७ भदौ, काठमाडौं । साफ च्याम्पियनसिपको सेमिफाइनल समिकरण पुरा भएसँगै नेपाली समर्थकले मात्र होइन, खेलाडी र प्रशिक्षकले समेत फाइनल र उपाधिको सपना बुन्न थालिसकेका थिए ।

किनकी नेपाल समूह विजेता बनेसँगै माल्दिभ्स प्रतिद्वन्द्वी पायो, जसलाई कमजोर टिम मानिएको थियो ।

हुन पनि एक समय दक्षिण एसियामै बलियो रहेको माल्दिभ्सले यो प्रतियोगिताको सुरुवाति दुई खेल राम्रो खेलेन । श्रीलंकासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको उसले भारतबाट दुई गोल खाएको थियो ।

श्रीलंकासँग समान १-१ अंक भएपछि टस जितेर मात्र अन्तिम चारमा स्थान बनाएका कारण नेपाली खेलाडीहरुलाई लागेको थियो, माल्दिभ्सलाई सहजै हराइन्छ । भारतले पनि पहिलो रोजाईको टिम नपठाएकाले उपाधि नै जित्न सकिन्छ । तर, बुधबार ढाकामा ठीक उल्टो परिणाम आयो ।

कमजोर भनिएको माल्दिभ्सले नेपालको पोष्टमा तीन गोल ठोक्यो र उपाधि जित्ने सपना चकनाचुर बनाइयो ।

चिठ्ठा तानेर दोस्रो चरणमा पुगेको टीमसँग उपाधी दाबेदार भनिएको टीमले किन लज्जास्पद पराजय भोग्यो त ? यसको जवाफ मैदानभित्रको ९० मिनेटको प्रदर्शन हेरेर मात्र गर्न सकिँदैन ।

ओभर कन्फिडेन्सको मार

फिफा वरियतामा आफूभन्दा ४० स्थान तल रहेको पाकिस्तानसँग समूह चरणको पहिलो खेलमा २-१ गोलले पराजित भएपछि टीम नेपालको साफ च्याम्पियनसीप यात्रा कठिन हुने लगभग तय भइसकेको थियो । दोस्रो खेलमा स भुटानलाई ४-० ले हरायो, जुन स्वभाविक नजिता थियो ।

तर, समूह चरणको अन्तिम खेलमा घरेलु टोली बंगलादेशलाई २-० ले हराउँदा नेपालले साँच्चै राम्रो फुटबल खेलेको थियो । यसकै आधारमा धेरैले नेपाललाई उपाधि दावेदारका रुपमा हरे ।

बुधबार बंगबन्धु रंगशालामा नेपाली खेलाडीहरूको शुरुवाती प्रदर्शन खराब थिएन । तर, नवौं मिनेटमा फ्रिकिक मार्फत अप्रत्यासित गोल खाएपछि भने मनोवैज्ञानिक दबावमा देखियो । सजिलै जितिन्छ भन्ने मनोविज्ञानमा मैदान उत्रिएका खेलाडीहरुले गोलको दबाव झल्नै सकेनन् ।

यसको कारण हो माल्दिभ्सलाई कमजोर आंक्नु वा नेपाली टोलीमा चाहिने भन्दा बढी आत्मविश्वास देखिनु । फिफा वरियतामा १५० औं स्थानमा रहेको माल्दिभ्सलाई १९४ औं स्थानको बंगलादेश जस्तो ठान्नु पक्कै उचित थिएन । पोष्ट म्याच कन्फ्रेन्समा प्रशिक्षक बालगोपाल महर्जनले पनि घुमाउरो भाषामा माल्दिभ्सलाई कमजोर मान्नु गल्ती भएको स्वीकार गरेका छन् ।

नेपाली टोलीले जब गोल खान्छ, बिरलै मात्र पुनरागमन गर्न सक्छ । हालै इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदमा जापान जस्तो बलियो टोलीसँग १-० ले मात्र हारेको नेपाल पाकिस्तानसँग २-१ ले हार्‍यो ।

तर, नेपाली टोलीले अहिले पनि त्यसबाट पाठ नसिकेको देखिएको फुटबल जानकारहरू बताउँछन् । इन्डोनेसियामा यु-२३ सहभागी भए पनि टीम नेपालका अधिकाँश सदस्य एसियाली खेलकुदमा सहभागी थिए ।

एक गोलले पछि परेको नेपालसँग निरन्तर पोष्ट आक्रमणको विकल्प थिएन । १४ पटक प्रहार गरेको नेपालले राम्रो अवसर सिर्जना नगरेको पनि होइन । तर, त्यसलाई सदुपयोग भने गर्न सकेनन् । भरत खवास र नवयुग श्रेष्ठले एक/एक वटा राम्रो अवसर सदुपयोग गर्न सकेनन् ।

दोस्रो गोल टर्निङ प्वाइन्ट

शुरुमै १-० गोलले पछि परे पनि नेपाल खेलमा फर्किनसक्ने सम्भावना जीवितै थियो । खेलको ८० औं मिनेटमा गोल गर्दै माल्दिभ्सले अग्रता दोब्बर पारेपछि भने नेपालको यात्रा समाप्त भयो ।

राष्ट्रिय टीमका पूर्व कप्तान हरि खड्का भन्छन्, ‘पहिलो गोलपछि केही दबावमा देखिए पनि खास टर्निङ पोइन्ट दोस्रो गोल रह्यो ।’

उनका अनुसार दोस्रो र तेस्रो गोलमा सरासर रक्षापंक्तिको कमजोरी देखियो । समूह चरणमा पाकिस्तानसँग हार्दा पनि रक्षापंक्तिमै कमजोरी देखिएको थियो । तर, बंगलादेशसँग खेल्दा त्यो थिएन ।

मध्य पंक्तिले क्रियटीभ बल निकाल्न नसकेको र फरवार्डले मिस गर्नै नहुने दुई वटा अवसर खेर फालेको खड्काको बुझाई छ ।

पाकिस्तानसँगको पहिलो खेलमा समेत अवसर नदिइएको सुनील बलमाथि टीम धेरै निर्भर देखिन्थ्यो । उनी मैदानको दाँया-बाँया पुगिरहेका थिए । भुटान र बंगलादेशविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका सुनीलमाथि सेमिफाइनलमा अत्याधिक भार थोपरिएको एक फुटबल विश्लेषक बताउँछन् । ‘जतासुकै खेल्न सक्ने सुनील सुपरम्यान त होइन नि’ उनी भन्छन्, ‘एसियाली खेलकुदमा अवसर नदिएका सुनीलले त्यो भन्दा बढी अपेक्षा गर्नु नै गलत थियो ।’

प्रशिक्षकले ६० औं मिनेटमा निराजन खड्कालाई निकालेर नवयुग श्रेेष्ठ र भरत खवासको स्थानमा अञ्जन विष्टलाई पठाए । ७५ औं मिनेटमा सुमन अर्यालको स्थानमा विशाल राई मैदानमा गए ।

एक गोलले पछि परेको र अन्तिम समयमा आएर डिफेन्सको सट्टा फरवार्ड पठाउनुपर्ने अर्का विश्लेषक बताउँछन् । उनको भनाइमा अग्रता लिएको अवस्थामा मात्रै डिफेन्स बलियो बनाउने र समय कटाउने रणनीति लिइन्छ । जबकी सुमन अर्याल बाहिरिएपछि डिफेन्स झन खराब देखियो ।

तोडिएन इतिहास

माल्दिभ्सका अली अस्फाक दक्षिण एसियाली फुटबलको चर्चित नाम हो । माल्दिभ्स फुटबल इतिहासको बलियो खम्बाको मानिएको अस्फाक यसपटक टीममा थिएनन् । तर, उनको अनुपस्थितमा पनि टीम नेपालले जादु देखाउन सकेन ।

साफमा नेपालले माल्दिभ्सलाई एक पटक पनि हराउन सकेको छैन । यसअघि भएको ६ वटा खेलमा नेपालले दुई बराबरी र चार हार व्यवहोरेको छ । माल्दिभ्सलाई सात गोल गरेर १४ गोल खाएको इहितास थियो ।

अब नेपालले माल्दिभ्ससँग साफमा खाएको गोल संख्या १७ पुगेको छ । घरेलु फुटबलमा जतिसुकै कलह भए पनि माल्दिभ्सले नेपालविरुद्धको आफ्नो इतिहासलाई निरन्तरता दिन सफल भयो । नेपाल साफमा अहिलेसम्म फाइनल पुग्न सकेको छैन । राष्ट्रिय टीमका एक पूर्व कप्तान नेपालका लागि साफ च्याम्पियन बन्ने अहिले जतिको राम्रो अवसर कहिल्यै थिएन ।

मैदान बाहिरका गल्ती

९० मिनेटको खेलमा नेपालको बल पोसेसन ६६.२ प्रतिशत र माल्दिभ्सको ३३.८ प्रतिशत थियो । तर, जितका लागि चाहिने गोल हो, जुन नेपाली खेलाडीले माल्दिभ्सविरुद्ध गर्न सकेनन् । तर, ११ जना खेल्ने भए पनि त्यसलाई मैदान बाहिरको व्यवस्थापनले प्रत्यक्ष प्रभाव पार्छ नै ।

टीम नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले राष्ट्रिय टीम सम्हालेको दुई हप्ता मात्रै भएको थियो ।

भलै उनी अधिकांश खेलाडीसँग उमेर समूहदेखि नै परिचित थिए । बालगोपाल आउनु अघिको मुख्य प्रशिक्षक ग्यातुकी कोजीको बर्हिगमन सहज थिएन । उनको पफर्मेन्सबाट चित्त नबुझे पनि एन्फाले उनलाई श्रम स्विकृति नलिई ओभरस्टे गरेको आरोप लगाएर हटाएको थियो । त्यस्तो अवस्थाका कोजीले राष्ट्रिय टीमलाई के सिकाए होलान भनेर सहजै अनुमान लगाउन सकिन्छ ।

त्यति मात्रै होइन केही अघि महिना अघि मात्रै चार जना खेलाडी अनुमति विना होस्टेल बाहिर गएका थिए । एसियाड र साफ सकिएपछि चारै जनालाई कारवाही गर्ने कुरा खेलाडीको कानमा पुगिसकेको थियो । अर्कोतिर फुटबलको मेरुदण्ड मानिने घरेलु लिग नभएको पाँच वर्ष पुगेको छ । त्यसैले नेपालले जितेको भए हुन्थ्यो भन्नु स्वभाविक भएपनि वर्षौसम्म लिगै नभएको फुटबलले धमाधम जित निकाल्नुपर्छ भन्ने अपेक्षा नै सही नहुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment