Comments Add Comment

टेकुको ‘कागज गोदाम’ जब हिरासत बन्यो !

० ‘क्या हो सम्पादकजी, पत्रिका यस्तै हुन्छ ? यो के शीर्षक राख्नुभएको ?’

– ‘हैन, यो पत्रिकाको सम्पादक म कि तपाईं ?’

० ‘सम्पादक त तपाईं नै हो । तर, शीर्षकचाहिँ यो के हो ? यस्तो शीर्षकले पत्रिका बिक्छ ?’

– ‘तपाईं मेरो पत्रिकाको वितरक हैन ?’

० ‘हो ।’

– ‘अनि, मलाई तपाईंले शीर्षक राख्न सिकाउने ? तपाईंको काम शीर्षक यस्तो राख, उस्तो राख भन्ने हो कि छापेको पत्रिका बजारमा पुर्‍याउने हो ?’

० ‘त्यसोभए आफ्नो पत्रिका आफैँ बाँड्नुस्, म सक्दिनँ ।’

यो संवाद १३ वर्ष पहिला, हालका सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटा र पत्रपत्रिका वितरक यज्ञ न्यौपानेबीचको हाे । त्यसबेला बास्कोटा ‘सम्बोधन साप्ताहिक’ सम्पादन गर्नुहुन्थ्यो, न्यौपाने त्यसका वितरक ।

बास्कोटाले पंक्तिकारलाई ‘राम्रो वितरक खोज्नु’ भनी अह्राएअनुसार उपलब्ध गराइएका व्यक्ति थिए, न्यौपाने । तर, दोस्रो अंकमै सम्बन्ध खराब ।

०००

दरबार हत्याकाण्ड (०५८) पछि उक्त हत्याकाण्डसम्बन्धी विषयका पत्रपत्रिका मात्र बिके, अरु जस्ताको तस्तै फिर्ता हुने अवस्था थियो । चण्डेश्वरी प्रकाशनको ‘रसरंग मासिक’ नवयौवना पाठकमाझ निक्कै चल्थ्यो । तर, दरबार हत्याकाण्डपछि पाठकको मनस्थिति त्यस्ता प्रकाशनतर्फ आकर्षित हुन सकेको थिएन । पत्रिका बजारमा पठायो, जस्तोको तस्तै फिर्ता आउँथे ।

बजारमा शीर्षक र मुखपृष्ठका आधारमा पत्रिका बेच्न माहिर थिए, माइला दाइ । वास्तविक नाम कृष्णप्रसाद गौतम भएका उनै माइला दाइको प्रकाशन हो, चण्डेश्वरी । त्यत्तिका पत्रिका छापिसक्यो, फिर्ता गराएर डुब्नुको सट्टा उनले उपाय निकाले, कभर पेज फेर्ने । भित्र सामग्री थिए, पहिलो प्रेम, यौनकला, प्रेमिकालाई चिठी आदि । तर, बाहिरी कभर तयार भयो, स्व.राजा वीरेन्द्रको परिवारको फोटो राखेर । शीर्षक थियो, ‘दरबार हत्याकाण्डको नयाँ रहस्य ।’ पत्रिका वितरणका लागि भूगोलपार्कमा पुर्‍याइएको मात्र थियो, आधा घण्टामा १५ हजार प्रति हारालुछ भयो ।

पत्रिका त मारमार विक्री भयो । तर, फोन बज्न थाल्यो, अफिसमा ।

‘हाम्रा राजारानीको बेइज्जत गर्ने ? भित्र फोहोरी कुरा लेखेर बाहिर राजारानीको फोटो हाल्ने ? तिम्रो अफिस जलाइदिउँ ?’

यस्तो फोनका घण्टीले अफिसभरिका कर्मचारी तनावग्रस्त थिए । तर, माइला दाइ आरामसँग जवाफ दिँदै थिए, ‘हैन हजुर, मेरो अफिस नजलाउनुस् हजुर, मैले पनि खानुपर्छ । बालबच्चा पाल्नुपर्छ हजुर…।’

अर्को फोन आयो । ‘खाते । तैँले काम पाइनस् ?’ माइला दाइले जवाफ दिए, ‘हजुरले कस्तो कुरा बुझ्या है । खाते नै हो हजुर । म त खाते । बल्लबल्ल दुई चारवटा पत्रिका निकालेर यसो बाँच्या छु हजुर, आशीर्वाद पाउँ…।’

०००

यी ‘जब्बर’ माइला दाइ र नेपालको पत्रपत्रिका वितरणको अन्तर्कथा यज्ञ न्यौपानेसम्म जोडिन्छ ।

पत्रपत्रिकाले बजारको मागका आधारमा प्रस्तुति दिने वा घटना र विषयको गहनतामा आधारित पत्रकारिता गर्ने ? नेपाली पत्रकारिताको लामो इतिहासमा अहिलेसम्म नसुल्झिएको प्रश्न हो यो ।

समय यस्तो पनि थियो कि, ०४६ सालपूर्व गोरखापत्रका सम्पादक रामचन्द्र न्यौपाने (राचन्यौ) पनि बजारमा पत्रिका नबिक्ला भनेर उनै पत्रिका वितरक माइलासँग समाचारको शीर्षक सोध्न पुग्थे । अर्थात्, माइलाले दिएको शीर्षकमा समाचार छापे उसले व्यवस्थित वितरण गरिदिने लोभ थियो, अब्बल सम्पादकमा पनि । राचन्यौ उदाहरणमात्र हुन्, त्यो समयका सबै सम्पादक शीर्षकका लागि माइलाकहाँ धाउँथे । तिनै माइलाले दरबार हत्याकाण्डमा रसरंग पत्रिका बेच्ने नाममा के गरिदिए ? माथि आइहाल्यो । परिवर्तित समयमा सम्पादक गोकुल बास्कोटा यज्ञ न्यौपानेको शिकार हुनु स्वाभाविक थियो ।

अहिले सञ्चारमाध्यममा ‘एडिटोरियल’, अर्थात् सम्पादनमाथि ‘एड्भोटेरियल’, अर्थात् व्यवस्थापकीय दबाव हावी छ । यस्तो कि, हिजोका माइलाहरु अहिले विज्ञापन एजेन्सी बनेर गौँडा–गौँडामा छन् । पत्रकारिताको व्यवसायिकता, स्वतन्त्रता र निष्पक्षतालाई ‘एड्भोटेरियल’ ले बन्धक बनाइसकेको छ ।

कस्तोसम्म हुन थाल्यो भने, विजयकुमार सम्पादक भएर जानुअघि अन्नपूर्ण पोष्टको विज्ञापन र उनको नाम सम्पादकमा छापिएको पर्सिपल्टको विज्ञापनको बाढी हेरे छर्लंङ्ग हुन्छ, ‘एड्भोटेरियल’ को करामत । अर्थात्, समाचारको विषय, प्रस्तुतिकरण भन्दा बढी, सम्पादनकर्मीको नामका आधारमा एजेन्सीहरुले मिडिया हाउससँग आफ्नो कारोबार चलाउन थालेका छन् ।

त्यसो त रंगीन कलेबरमा प्रकाशित हुने अखबारले बजारको विक्रि मूल्यबाट लगानी उठाउँदै । सर्वाधिक विक्रि हुने भनिएका चार–पाँचवटा अखबार छन्, तिनले पनि बजारबाट प्रकाशनको सम्पूर्ण लगानी उठाउँदैनन् । कारण हो, छापामाध्यममाथि विद्युतीय सञ्चारको हस्तक्षेप । यसको शुरुवात निजी स्वामीत्वका रेडियो सञ्चालन अनुमतिबाट भयो । एफएम रेडियोहरुले एक–एक घण्टामा समाचार प्रशारण गर्ने भएपछि पाठकले समाचारकै लागि अखबार पर्खिन छाडे । यसको पहिलो प्रहार सन्ध्याकालीन दैनिकमाथि भयो ।

एफएम रेडियोमा त्यसरी एक–एक घण्टाका समाचार अपडेट हुन थालेपछि राजधानीबाट प्रकाशित हुने मध्याह्न तथा सन्ध्याकालीन अखबारले पाठक पाउन छाड्यो । अहिले त्यस्ता अखबार देखिन पनि छाडेका छन् । विद्युतीय माध्यमको विकाससँगै औपचारिक समाचारमा आधारित ब्रोडसिट दैनिकहरुले साप्ताहिक अखबारको शैलीमा विश्लेषणात्मक र खोजमूलक समाचार प्रकाशनलाई तीव्रता दिए । यसबाट साप्ताहिक अखबारको बजारमा क्षति पुग्यो ।

निजी लगानीका टेलिभिजन च्यानलको विकासले छापामाध्यममाथि अर्को प्रहार भयो । र, अहिले अनलाइन न्युज पोर्टलले छिनछिनमै समाचार अपडेट गर्न थालेपछि कागजमै समाचार पढ्ने नशा लागेका पाठकमात्र बाँकी भए, छापा माध्यमका ग्राहक । यससँगै छापामाध्यमले अखबार बेचेर लगानी उठाउने दिन समाप्त भयो । यसपछि हो, मिडियामा विज्ञापन एजेन्सीहरु हाबी हुन थालेको ।

एजेन्सीले जति धेरै विज्ञापन प्रवाह गरे, अखबार त्यही आधारमा नाफा वा घाटामा जाने समय विद्यमान छ । ठूला भनिएका प्रकाशन गृहका लागि एजेन्सीको आकर्षण कतिसम्म छ भने, नियमित विज्ञापन एजेन्सी भए ८० प्रतिशतसम्म छूटमा विज्ञापन छापिन्छ । ती एजेन्सीले विज्ञापनदाता (समूह वा कम्पनी) सँग सेन्टिमीटर नापेर विज्ञापनको पूरै मूल्य लिन्छन् वा केही प्रतिशत सहुलियत पनि दिन्छन् । तर, प्रकाशनगृहले भारी छुटमा विज्ञापन छाप्दा विज्ञापनदातासँग लिएको रकम पूरै नाफामा जान्छ । पत्रपत्रिकाको विक्रि–वितरणबाट नाफा आउन छाडेपछि सञ्चारगृहले अबलम्बन गरेको यो नीति ‘ढुंगालाई माटोको भर, माटोलाई ढुंगाको भर’ भनेजस्तो भएको छ । प्रकाशनगृहलाई एजेन्सीको भर, एजेन्सीलाई प्रकाशन गृहको भर ।

पत्रपत्रिका वितरणको स्थिति निराशलाग्दो भएपछि भूगोलपार्कमा विहानै जम्मा भएर पत्रिका किनबेच गर्नेहरुको संख्यामा भारी गिरावट आएको छ । पत्रिका किनबेचका लागि उपत्यकाका विभिन्न स्थानबाट आउने सहवितरकको चलहपहलका कारण विहान ५ बजेदेखि ७ बजेसम्म गाउँतिरको हाट बजारझैँ हुने भूगोलपार्क हिजोआज सुनसानप्रायः हुन्छ । अर्थात्, पत्रिका बेचेर पेट पालिने अवस्था रहेन ।

बजारमा पत्रिका वितरण गरेर मुनाफा आउने क्रम घटेपछि ठूला प्रकाशनगृहले वितरण फाँटका कर्मचारीमाथि गर्ने व्यवहार पनि फेरिएको छ । उदाहरणका लागि ०७१ भदौ ५ गते विभिन्न मजदुर संगठनले कान्तिपुर र दी काठमाडौं पोष्टको वितरणमा अवरोध सिर्जना गरे । मुख्य कारण थियो, वितरणका कर्मचारीले न्यूनतम पारिश्रमिक नपाएको ।

नाफाका लागि हैन, पाठक र बजार बचाउनका लागि ठूलो लगानीका अखबारले ग्राहकसेवालाई प्राथमिकतामा राखेका छन् । विभिन्न अफरसहित सञ्चालित ग्राहक सेवाअन्तर्गत घरघरमै पत्रिका पुर्‍याउने काम भने तीव्र भएको छ ।

जतिबेला अखबारको बजार थियो, बजारमा पत्रिका बेचेरै प्रकाशन संस्था टिक्थे, त्यसताका टेकुस्थित नेशनल ट्रेडिङ हरेक दिनभर खचाखच हुन्थ्यो । सरकारले अखबार प्रकाशनका लागि सहुलियतमा दिने न्युज प्रिन्ट खरिद गर्न पुग्ने प्रकाशन संस्थाका कर्मचारीको भिड लाग्थ्यो । त्यहीँ रहेको नेपाल बैंकमा भौचर भर्ने र भौचरको अधकट्टी हेरेर ‘केसी दाइ’ ले ढुवानी दिन्थे ।

आजकल टेकुको त्यो कागज गोदाममा महानगरीय प्रहरी परिसरको हिरासत कक्ष छ । न्युजप्रिन्टको रकम र भौचर दाखिलाकै लागि राखिएको नेपाल बैंकको शाखा पनि त्यहाँबाट अन्यत्र सरिसक्यो ।

(पत्रकार सुवेदी जनआस्था साप्ताहिकमा आवद्ध छन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment