Comments Add Comment

पहिरो हटाएसँगै खुल्यो रसुवागढी नाका

२८ भदौ, काठमाडौं । पहिरो पन्छाएसँगै रसुवागढी नाका सुचारु भएको छ । रसुवाको धुन्चे बजार नजिकको खोपङ्गभीर भन्ने स्थानमा आईतबार खसेको ढुंगासहितको ठूलो पहिरो हटाएसँगै आज बिहान १० बजेबाट नाका सुचारु भएको हो ।

पहिरो हटाएसँगै बाटोमा रोकिएका मालवाहक सवारी गन्तब्यतर्फ लागेका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख एवं इन्सपेक्टर ओमप्रकाश वाग्लेले अनलाइनखबरलाई जानकारी दिए ।

उनका अनुसार खोपङ्गभीरको दुई ठूला ठूला ढुंगा सडकमा खसेर ब्लक गरेपछि मोटरसाईकल समेत ओहोर दोहोर गर्ने अवस्था थिएन ।

ठूला ढुंगा हटाउन ब्रेकर, दुई वटा स्काभेटर तथा एक-एक वटा लोडर र जेसिबी प्रयोग गरिएको थियो । पहिले पनि खोपङ्गभीरमा नै पहिरो खस्दा बाटो अवरुद्ध हुने गरेको थियो ।

गत भदौ १ गते धुञ्चे नजिक दुई ठाउँमा पहिरो जाादा १५ दिन बाटो ठप्प भएको थियो ।

बाटो खुलेसँगै चीनबाट स्याउ, अदुवा लगायतका वस्तु लिएर आएका गाडी काठमाडौंतर्फ लागेका छन् ।

तर चीनबाट तयारी कपडा, जुत्ता, चप्पल, बिद्युतीय सामाग्री लगायतका सामान लिएर आएका डेढ सय बढी कन्टेनर र ट्रक भने अझै भन्सार नभएकाले ड्राइपोर्टमै रोकिएका सीमा प्रहरी चौकी टिमुरेका इन्स्पेक्टर दिलीप क्षेत्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment