Comments Add Comment

दुई फरक सेना बन्दूक बिसाएर विद्यावारिधिको बाटोमा

२८ भदौ, सिन्धुपाल्चोक । नेपाल सरकारको शिक्षा विज्ञान प्रविधि मन्त्रालयले हरेक वर्ष प्रदान गर्ने नेपाल विद्याभुषणबाट सिन्धुपाल्चोकबाट यो वर्ष दुईजना विभुषित भएका छन् । दुवै विगतमा बन्दुक बोकेका व्यक्ति हुन्, एकजना माओवादीबाट र अर्का नेपाली सेनाका तर्फबाट ।

एउटा संयोग परेको छ, विभुषित भएका पूर्वमाओवादी रुपक सापकोटा राज्यविरुद्ध बन्दुक बोकेर युद्धमा हिँडेका थिए भने पूर्वजर्नेल पूर्णबहादुर सिलवालचाहिँ नेपाली सेनाको तर्फबाट माओवादीविरुद्ध युद्धको मैदानमा थिए ।

नेपाली सेनाका पूर्वजर्नेल सिलवाल वि.सं. ०७३ सालमा त्रिभुवन विश्वविद्यालयबाट रणनीतिक अध्ययन विषयमा पीएचडी गरेपछि विभुषणका लागि छनोटमा परेका हुन् । पूर्वमाओवादी सापकोटाले चाहिँ चीनबाट अन्तरर्राष्ट्रिय सम्बन्धमा उच्च शिक्षा हासिल गरेका छन् ।

एउटा राज्यको सेना र अर्काे विद्रोही माओवादीको सेना । एउटै जिल्ला अनि एउटै निर्वाचन क्षेत्र । एकले अर्कालाई सिध्याउन बन्दुक बोकेर हिँडेका दुई पूर्वसेनाले अहिले पीएचडी सकेका छन् । शिक्षा दिवसको अवसरमा शिक्षा तथा प्रविधि मन्त्रालयले यी विपरीतार्थी व्यक्तित्वलाई ‘नेपाल विद्याभुषण’ पदक दिएर सम्मान गर्ने निर्णय गरेको हो । उनीहरु दुबैले शनिबार पदक पाएका छन् ।

कामरेड ‘सिसन’को संघर्ष

तत्कालीन राज्य सत्ताविरुद्ध तत्कालीन नेकपा माओवादीले ०५२ फागुन १ देखि औपचारिकरुपमा युद्धको सुरुवात गर्‍यो । युद्धको सुरुवात हुनुअगाडि नै सिन्धुपाल्चोकको कुभिण्डेमा भने नेपाल प्रहरीका एकजना हवल्दारको हत्या भइसकेको थियो । प्रहरीको हत्या लगत्तै कुभिण्डेमा राज्यको तर्फबाट चरम दमन भयो, राज्यको दमन सहन नसेकर कुभिण्डेबाट धेरै भूमिगत हुन बाध्य भए । माओवादी नेता अग्नि सापकोटाको गृहगाउँ भएकाले पनि राज्यको कुभिण्डेलाई हेर्ने दृष्टिकोण सकारात्मक थिएन ।

माओवादी नेता सापकोटा भूमिगत भएपछि गाउँमा उनका दाजुभाइ, छरछिमेक समेत राज्यको नजरमा परेपछि कुभिण्डेबाट धेरैजना भूमिगत भए । सदरमुकाम चौताराको जुगल बोर्डिङमा पढ्दै गरेका माओवादी नेता सापकोटाका माइला छोरा रुपक सापकोटा पनि आफ्ना परिवारसँगै भूमिगत भए ।

विद्यालयमा कापी र कलमसँग भविष्य खोज्दै अघि बढिरहेको एउटा युवक कापी कलम घरमा नै थन्काएर बन्दुक बोक्दै युद्धमा सहभागी भयो । रुपक सापकोटाबाट उनको परिचय ‘कमरेड सिसन’ मा बदलियो ।

०५४ सालमा एसएलसी सकेर उच्चशिक्षाका लागि राजधानी छिरेका सापकोटालाई पटक-पटक राज्यसत्ताले दुःख दिएपछि रत्नराज्य क्याम्पसबाट प्रमाणपत्र तहको परीक्षा सकेपछि ०५६ देखि औपचारिकरुपमा नै भूमिगत भए । एसलसी सक्दा उनी १४ वर्षका मात्रै थिए भने माओवादी युद्धमा भूमिगत हुँदा १७ वर्षका थिए । माओवादी युद्धमा भूमिगत भएपछि उनी इलाका इञ्चार्ज र राज्य कमिटी सदस्यको भूमिकामा थिए । ०६० सालमा नेपाली सेनाले दोलखाबाट पक्राउ गरेपछि सापकोटाले जेलबाटै बीएसम्मको अध्ययन सकेका थिए ।

म्ााओवादी शान्ति प्रक्रियामा आएपछि उनी पनि जेलबाट रिहा भए । जिल्लामा रहँदा क्षेत्रीय सचिव भएर काम गरेका सापकोटाले राजधानीको यात्रासँगै माओवादीको विदेश विभागको सदस्यका रुपमा काम गरे । विदेश विभागमा नै हुँदा उनी सन् २०११ मा तत्कालीन माओवादी विदेश विभागका प्रमुख कृष्णबहादुर महरासँग बिदा स्वीकृत गराएर अध्ययनका लागि चीन गए ।

अध्ययनमा निपूर्ण सापकोटाले सन् २०१८ को जूनमा चीनबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा पीएचडी सके । कतिपयले शहिद कोटामा चीनमा अध्ययन गर्न गएको भनेर आफूलाई बदनाम गर्न खोजेको पनि उनले बताए । ‘चीनमा शहिद कोटाका लागि छात्रवृत्ति नै दिँदैन, म भाषा अध्ययनका लागि भनेर ६ महिनाका लागि गएको थिएँ, मेरो राम्रो परफमेन्स देखेर चिनियाँहरुले नै अध्ययनको अफर गरेका थिए,’ सापकोटा भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment