Comments Add Comment

बलात्कारमा मेलमिलाप गराउन प्रदेश सांसदकै घरमा छलफल

२८ भदौ, रौतहट । रौतहटमा बालिका बलात्कारको घटना मेलमिलाप गराउन प्रदेश सांसदको घरमा पञ्चायती बसेको पाइएको छ ।

गढिमाई नगरपालिका ३ मा १२ वर्षकी बालिकामाथि भएको बलात्कारको घटना मिलाउन पदेश सांसद अब्दुल कलाम आजाद (फुलबाबु) को घरमा पञ्चायती बसेको छ । गाउँमा हुने घटनाहरुमा न्याय निरुपण गर्न स्थानीय भद्रभलादमी, नेतालगायत व्यक्तिहरुबीच गरिने छलफललाई पञ्चायती भनिन्छ ।

स्थानीय १२ वर्षकी बालिकालाई ५५ वर्षका सहमद अन्सारीले बलात्कार गरेको भन्दै उजुरी दिन लागेका पीडित परिवारलाई चार दिनसम्म प्रहरी कार्यालय जान नदिई गाउँमै मिलाउने प्रयास गरिएको हो ।

रौतहट ४ (ख) बाट निर्वाचित प्रदेश सांसद फुलबाबुको घरमा पीडित र आरोपी पक्षलगायत स्थानीय जनप्रतिनिधि बसेर मेलमिलापको प्रयास गरेको पीडित परिवारले जनाएको छ ।

पञ्चायतीले पीडित पक्षलाई १ लाख ७० हजार क्षतिपूर्ति दिने निर्णय गरी घटना गाउँमै मिलाउन खोजेको थियो । बलात्कार आरोपी सहमद अन्सारीबाट १ लाख ७० हजार जरिवाना लिने र पीडित परिवारलाई १ लाख २० हजार दिने बाँकी ५० हजार पञ्चायतीमा रहेका जनप्रतिनिधिहरुलाई बाँड्ने निर्णय भएपछि आफूहरु प्रहरीमा उजुर गर्न आएको आफन्त अजुल मियाँले बताए ।

भदौ २० गते घरमा कोही नभएको मौका छोपी अन्सारीले छोरीलाई बलात्कार गरेको भन्दै बालिकाकी आमाले प्रहरीमा किटानी जाहेरी दिएकी छन् । बालिकाको आमाले प्रदेश सांसद फूलबाबुको घरमा पीडित पक्ष र आरोपित पक्षका व्यक्तिहरु बसेर घटना मेलमिलापमा टुंग्याउन दबाब दिएको बताइन् ।

पञ्चायतीमा एक लाख २० हजार दिने निर्णय भएको थाहा पाएपछि उनले पैसा भन्दा न्याय चाहिएको भन्दै स्थानीय मलाहीटोलमा रहेको प्रहरी चौकीमा उजुरी दिएको बताइन् ।

प्रदेश सांसद अव्दुल कलाम आजाद (फुलबाबु) ले बलात्कारको घटनामा मिलाउने तथा ढाकछोप गर्ने आफ्नो उद्देश्य नरहेको प्रष्टीकरण दिए । पीडितहरु आफै छलफल (पञ्चायती) गरिदिनुस् भनेर आफ्नो घर आएपछि छलफल गरिएको उनको दावी छ । बलात्कार घटना लेनदेनमा मिलापत्र नगरिएको पनि उनले जिकिर गरे ।

आरोपीलाई छुटाउन नभई अन्सारीलाई बालिका बलात्कारको आरोप लगाउने गाउँका केही व्यक्तिले महिलाहरुलाई दुब्र्यवहार गरेकाले त्यस विषयमा छलफल गरेको प्रदेश सांसद फुलबाबुको दावी छ ।

बलात्कारका आरोपीलाई प्रहरीले पक्राउ गरेपछि विरोधमा केही व्यक्तिहरुले प्रदर्शन र तोडफोड गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक चर्तुभुज ओझाले बताए । अनुसन्धानलाई प्रभावित पार्न र घटनालाई अन्यत्र मोड्न प्रदर्शन भएको प्रहरी निरीक्षक ओझाको भनाइ छ ।

प्रहरी स्कुलका छात्रद्धारा बालिका बलात्कार

रौतहटको बिर्तामा रहेको प्रहरी आवासीय माध्यमिक विद्यालयका एक छात्र बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

गरुडा नगरपालिका ८ विर्तामा रहेको प्रहरी विद्यालयमा १० कक्षामा पढ्ने छात्रले ८ वर्षकी बालिका बलात्कार गरेको उजुरी परेको अनुसन्धानका लागि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment