Comments Add Comment

भरतपुरको गेष्ट हाउस चउरमा ५ हजार जना अट्ने सिटी हल बन्ने

२८, भदौ, चितवन । भरतपुर महानगरपालिकाले बनाउने भनेको महत्वकांक्षी सिटी हल जिल्ला प्रहरी कार्यालय अगाडिको गेष्ट हाउस चौरमा बन्ने भएको छ ।

भरतपुर महानगरपालिका- १० मा पर्ने गेष्ट हाउस चौरमा चार बिघा दश धुर जग्गा छ । यसै जग्गाभित्र हाल वडा कार्यालय, पत्रकार महासंघ, कर्भड हल, पुरानो जिविसको भवन लगायतका संरचना पनि रहेका छन् । ७५ लाखको लागतमा निर्माण भइरहेको शहीद मञ्च पनि यही चौरमा छ ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले भोगचलन गर्दै आएको यस क्षेत्रको ७८ विघा जग्गामध्ये भरतपुर महानगरपालिकाले सिटी हल बनाउन ५ विघा जग्गा माग गरेको थियो । तर, नेपाली कांग्रेसले वीपीको नाम जोडिएको अस्पतालबाट जग्गा दिन नपाइने भन्दै विरोध गरेपछि महानगरपालिका पछि हटेको थियो । कांग्रेसको जिल्लादेखि केन्द्रीय नेतृत्वसम्मले अस्पतालको जग्गा महानगरलाई दिन नमिल्ने भन्दै आन्दोलनको धम्की दिएको थियो ।

स्वास्थ्य मन्त्रालयबाट समेत जग्गा दिने विषय निर्णय भएर क्याविनेट पुगेपछि कांग्रेस सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीलाई फोन गरेर सो जग्गामा सिटी हल बनाउन दिने निर्णय नगर्न भनेका थिए ।

गेष्टहाउस चौर जिल्ला समन्वय समितिको मातहतमा रहेको छ । महानगरपालिकाको आग्रहमा सबै राजीतिक दलबीच गेष्ट हाउस चौरमा अन्तर्राष्ट्रियस्तरको सिटीहल बनाउने सहमति भएको महानगर प्रमुख रेनु दाहालले बताइन् ।

यस ठाउँमा यसअघि शहीद मञ्च निर्माण गर्न शिलान्यास गरिएको थियो । मञ्च निर्माणको काम अधुरै छ । अहिले भरतपुर महानगरपालिकाले शहरी विकास तथा भवन निर्माण विभागको सहयोगमा सिटीहल निर्माण गर्न लागेको हो ।

जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले महानगरलाई सिटी हल बनाउन गेष्ट हाउस चौर दिने निर्णय गरिएको बताए ।

यस ठाउँमा यसअघि शहीद मञ्च निर्माण गर्न शिलान्यास गरिएको थियो । मञ्च निर्माणको काम अधुरै छ । अहिले भरतपुर महानगरपालिकाले शहरी विकास तथा भवन निर्माण विभागको सहयोगमा सिटीहल निर्माण गर्न लागेको हो ।

मेयर दाहालले पाँच हजार व्यक्ति अटाउने सिटीहल बनाउने गरी महानगरपालिकाले प्रक्रिया अघि बढाउने बताइन् । ‘बजेट आएकै ४ महिना बितिसक्यो, तर स्थानको टुंगो लागेको छैन’ मेयर दाहालले भनिन्, ‘अन्यत्र जग्गा नपाएपछि गेष्ट हाउस चौरमा नै बनाउने निधो गर्‍यौं ।’ सिटीहल निर्माणका लागि ५० करोड रुपैयाँ बजेट निकासा भइसकेको छ ।

सिटी हल बनाउने विषयमा पुन : विवाद

भरतपुरको केन्द्र भागमा रहेको एक मात्र खुल्ला चौर पनि सिटी हल बनाउने नाममा मास्ने निर्णय भएको भन्दै विभिन्न राजनीतिक दलका नेता तथा सामाजिक अभियन्ताहरुले विरोध गरेका छन् ।

पाँच हजार दर्शक क्षमताको सिटी हलमा आउने सवारी साधानका कारण बजार क्षेत्र र राजमार्ग अस्तव्यस्त हुने भन्दै महानगर र राजनीतिक दलहरुको निर्णय आलोकाचो भएको कांग्रेस चितवनका सचिव उत्तम जोशीले बताए ।

कांग्रेस सभापति जीतनारायण श्रेष्ठले भने सिटीहल गेष्ट हाउस चौरमा बनाउन सहमति जनाएका छन् । तर सो विषयमा पार्टी भित्र कुनै पनि छलफल नभएको सचिव जोशीको भनाइ छ । ‘भएको एउटा चौर पनि मासेर भोलि प्राकृतिक विपत्ति आउँदा कहाँ गएर बस्ने ?’ उनले भने ‘आलोकाँचो निर्णय गरेर महानगरले पटकपटक अपरिपक्वता देखायो ।’

राप्रपाबाट निर्वाचित प्रदेश सांसद रीना गुरुङले खेलकुदका लागि प्रयोग गर्नुपर्ने चौरलाई पाँच हजार दर्शक अट्ने सभाहल बनाउन खोज्नु सान्दर्भिक नभएको बताइन् । अधिकांश सरकारी कार्यालय यही गेष्ट हाउस वरपर छन् । भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेज र नीजि अस्पतालहरु सवैजसो यही छन् ।

जिल्ला खेलकुद समितिका अध्यक्ष गंगा लामाले मिनी रंगशालाको रूपमा काम गरिरहेको गेष्टहाउस चौरमा सिटी हल बनाउँदा जिल्लाको खेलकुद गतिविधि ठप्प हुने बताए । विवेकशील साझा पार्टीका जिल्ला संयोजक भूपेन्द्र बस्नेतले गेष्टहाउस चौरमा बन्ने भनेर दलहरुले गरेको निर्णय जनताको लागि घातक हुने बताए ।

मलाई पनि चित्त बुझेको छैन : मेयर दाहाल

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले सिटी हल बनाउने स्थान त्यति चित्त बुझ्दो नभएको प्रतिक्रिया दिएकी छिन् । बढ्दो शहरीकरण, घना मानव वस्ती, साँघुरा सडक, हाइवेको नजिक भएका कारणले गेष्ट हाउस चौर त्यति उपयुक्त नलागेको उनले बताइन् ।

‘मलाई त क्यान्सर अस्पतालको जग्गामा नै सिटी हल बनाउन अझै मन छ, यहाँ चित्त बुझेको छैन’ मेयर रेनु दाहाल

‘मलाई त क्यान्सर अस्पतालको जग्गामा नै सिटी हल बनाउन अझै मन छ, यहाँ चित्त बुझेको छैन’ मेयर दाहालले भनिन् ‘क्यान्सर अस्पतालका लागि यतिको धेरै जग्गा आवश्यक नै छैन्, जति हामी लिन्छौं त्यति अन्यत्र दिन्छौ भन्दा पनि कांग्रेसले मानेन राजनीतिक प्रतिष्ठाको विषय बनायो ।’

रकम फ्रिज हुने सम्भावना भएकाले गेष्ट हाउस चौरमै बनाउन लागिएको मेयर दाहालको भनाइ छ ।

शहीदभूमिको वेवास्ता !

भरतपुरको क्यान्सर अस्पतालको जग्गामा सिटी हल बनाउने विषयमा कांग्रेसले सैद्धान्तिक सहमति दिएको थियो । तर पछि वीपीको नाम जोडिएकेा अस्पतालको जग्गा दिन नहुने भन्दै कांग्रेसले चर्को विरोध गरेपछि महानगरपालिका पछि हट्यो ।

अस्पतालको जग्गा नदिन सक्रिय रहेको कांग्रेस, २०१८ सालको क्रान्तिमा प्रजातन्त्र सेनानीहरु मारिएको स्थान गेष्ट हाउस चौर दिन भने सजिलै राजी भयो । २०१८ सालमा नेपाली कांग्रेसको सशस्त्र फौजले भरतपुरमा रहेका सरकारी कार्यालय कब्जा गर्ने क्रममा यही मैदानमा सरकारी सेनासँग भिडन्त हुँदा दजनौं प्रजातन्त्र सेनानीहरू मारिएका थिए ।

यस चौरमा हरिप्रसाद गुरुङ, गुञ्जसिंह राना, खेमबहादुर गुरुङ, जगतप्रकाश जंग शाह लगायतका प्रजातन्त्र सेनानीहरुले साहदत प्राप्त गरेका थिए । कांग्रेसका सेनाहरुले आक्रमण गरेपछि सवै तिरका सरकारी कार्यालयहरु एक स्थानमा केन्द्रीत गरिएका थिए । यही स्थानमा शहीद मञ्च र पार्क बनाउने भनेर कांग्रेसका तत्कालिन नेता नरहरि आर्चायले महेश्वरलाल प्रधानको नेतृत्वमा शहिद स्मारक र मञ्च बनाउने निर्णय गरेका थिए ।

यहाँ शहिद मञ्च बनाउने भन्दै निर्माण गरिएको भवन अलपत्र छ । ७५ लाखको लागतमा निर्माण गरिएको मञ्चका लागि ५१ ल्ााखभन्दा बढी रकम खर्च भइसकेको छ । सिटी हल बनाउने भएपछि यो संरचना पनि भत्काउनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment