Comments Add Comment

निर्मलाका बुबाको प्रश्नः शव जलाउन मामाले किन दिए दबाव ?

२८ भदौ, काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बुबा यज्ञराज पन्त र आमा दूर्गादेवी पन्त अहिले काठमाडौंमा छन् । उनीहरुले निर्मलाको शव दबावमा परेर जलाइएको बताएका छन् । शव जलाउन दबाव दिने डोटीका तीर्थराज भण्डारीको भूमिकामाथि सत्यतथ्य छानविन हुनुपर्ने निर्मलाका पिताले माग गरेका छन् ।

नाताले सालो पर्ने तीर्थराज भण्डारीले डोटीबाट कञ्चनपुर झरेर निर्मलाको शव जलाउन एसपी र सिडिओसँग मिलेर धम्कीपूर्ण दबाव दिएको भिनाजु यज्ञराजको गुनासो छ । ‘हामीले सत्यतथ्य बुझ्नुपर्छ, त्यसले (तीर्थराजले) किन वीचमा आएर लास उठाउनलाई जोड गरेको छ ?’ छोरीका हत्यारालाई कारवाहीको माग गर्दै काठमाडौं आएका यज्ञराजले तीर्थराजका बारेमा पत्रकारसँग भने, ‘त्यो नेतागिरी गर्छ । त्यो अहिलेसम्म हामीलाई भेट्न आएको छैन । मैले फोन गर्दा आउँछु भन्यो, आएन । एक महिनासम्म फोन स्वीच्ड अफ भयो ।’

तीर्थराज भण्डारीको घर डोटी हो । उनी निर्मलाका सहोदर मामा होइनन् । निर्मलाको हत्यापछि परिवारजनले शव जिम्मा लिन नमानिरहेका बेला तीर्थराज अकस्मात कञ्चनपुर झरे । सिडियो र एसपीसँग मिलेर उनले परिवारका सदस्यलाई निर्मलाको शव जिम्मा लिन र जलाउन दबाव दिए ।

यज्ञराजले तीर्थराजको भूमिकामाथि थप प्रश्न उठाउँदै भने- ‘छानविन समितिले मलाई तीर्थराज भनेको को हो भन्यो, मैले सालो हो भनें । नम्बर दिएँ, तर फोन लागेन ।

जेठानलाई खोज्न लगाएँ, भाउजूहरुले घरैमा छ भन्नुभयो । पछि फोन खोल्यो । नयाँ नम्बरमा छानविन समितिका सदस्य वीरेन्द्र केसीले फोन गरेर ‘तैलें किन भाञ्जीको लास जलाउन दबाव दिइस् भनेर सोध्दा जवाफ दिन सकेन ।’

पति यज्ञराजसँगै काठमाडौंमा रहेकी दूर्गादेवीले चाहिँ आफ्नो जेठाबुबाका छोरा तीर्थराज भण्डारीले अहिले गल्ती स्वीकार गरेको बताइन् । उसले थाहा नपाएर त्यसो गरेको हुन सक्ने दूर्गादेवीले बताइन् ।

दूर्गादेवीले पत्रकारसँग भनिन्- ‘अहिले तीर्थराज भण्डारीले त्यो एसपी (डिल्लीराज विष्ट) का बारेमा मलाई पहिले थाहा भएन दिदी भनेर भनेको छ । उसले गल्ती स्वीकारेको छ, उसले थाहा नपाएर त्यसो गरेको हुन सक्छ ।’

तर, श्रीमतीले यसो भनिरहँदा पति यज्ञराजले थपे, ‘तर, हामीले सत्यतथ्य बुझ्नुपर्छ ।’

निर्मलाका पिता यज्ञराजले तीर्थराजको गतिविधिमाथि शंका गर्दै भने- ‘त्यसले यहाँ आएर लास जलाउन किन दबाव दियो ? त्यसलाई यहाँ कसले बोलाएको थियो ?’

त्यसो त निर्मलाकी आमा दूर्गादेवीले पनि आफूलाई दबाव दिएर लास उठाइएको पत्रकारहरुलाई बताइन् । उनले पतिको कुरामा सहमति जनाउँदै भनिन्- ‘मलाई पनि दबाव आयो र म बाध्य भएँ ।’

एसपी र सिडियोसँग तीर्थराजको साँठगाँठ

तीर्थराज भण्डारीको घर डोटी हो । उनी निर्मलाका सहोदर मामा होइनन् । उनी दूर्गादेवीका ठूलोबुबाका छोरा हुन् । भण्डारी निर्मलाको घरमा प्रायः कहिल्यै आउने गरेका थिएनन् । तर, निर्मलाको हत्यापछि परिवारजनले शव जलाउन नमानिरहेका बेला उनी अकस्मात कञ्चनपुर झरे । अनि सिडियो र एसपीसँग मिलेर परिवारका सदस्यलाई शव जिम्मा लिन र जलाउनका दबाव दिए ।

शव जलाउन परिवारलाई दबाव दिएर प्रहरी प्रशासनलाई सहयोग गरिसकेपछि डोटी फर्केका तीर्थराज फेरि पीडित परिवारलाई शान्त्वना दिन एकचोटि पनि कञ्चनपुर नझरेको यज्ञराज बताउँछन् ।

‘प्रहरी स्कटिङमा शव जलाइयो’

तीर्थराज भण्डारीले सिडिओ र एसपीसँग मिलेर शव जलाउन दबाव दिएको वयान सुनाउँदै निर्मला पन्तका बुबाले काठमाडौंमा यसो भने-म सिडियो कार्यालयमा लास बुझ्न अस्वीकार गरेर अटो रिक्सामा घर र्फकँदै थिएँ, घरभित्र पस्न नपाउँदै सालो पर्ने तीर्थराज भण्डारी मेरो घरमा आयो । तपाईलाई सिडियोले बोलाउनुभएको छ भन्यो । आफू त सिधा मान्छे, पत्याइहालें र गएँ ।

भित्र सिडियो कुमारबहादुर खड्काले भने- पन्तजी तपाईलाई त चाहना हुनुपर्ने, चासो हुनुपर्ने आफ्नी छोरीको लास जलाउन पाम भनेर । चाहना छ कि छैन ?

मैले भनें, म आजमात्रै आइपुगेको छु । छिमेकीहरुले सहयोग गरेका छन्, उनीहरुसँग सल्लाह गर्छु ।

मैले प्रहरीको लापरवाही अलिअलि बुझेको थिएँ । म घरमा थिइनँ । वडा नम्बर २ का छिमेकीले लास खोज्नेदेखि लिएर सबै सहयोग गरिरहेका थिए ।

मैले यसोभन्दा एसपी डिल्लीराज विष्टले भने- ‘तपाईका छिमेकीहरु उहाँ नाच्न, उफि्रन आएका हुन्, उनीहरुलाई त रमाइलो भैरहेको छ, तपाईहरुले गर्नुपर्‍यो । लासलाई सडाएर, किरा पारेर के फाइदा छ ?’

त्यो मेरो सालो भन्ने तीर्थराज यसअघि वडा नम्बर २ का ५/६ जना बुद्धिजीवीहरु र वडाध्यक्षहरु छलफल गरिरहेका ठाउँबाट रक्सी खाएर अरुलाई धकेल्दै भित्र पसेको रहेछ । तपाईहरु को हो ? खोई निर्मलाको बाबु ? म निर्मलाको मामा हुँ । तपाईहरु मेरी भाञ्जीको लास बेच्ने र पैसा खाने ? भन्दै ऊ भित्र पसेको रहेछ । उसको मुखबाट ह्वास-ह्वास दारु गन्हाइराखेको रहेछ ।

पुलिसलाई फोन गर्ने, लास खोज्न जाने, साइकल खोज्ने सबै काममा सहयोग गरेका २ नम्बर वडाका मेरा छिमेकीहरुलाई मेयरले तल पठाए । त्यहाँ ऊ (तीर्थराज) र मेयरमात्रै भित्र रहे ।

सिँढीमा तीर्थराज मलाई भनेको थियो, ‘भिनाजु, के-के गर्नुपर्छ, मलाई सबै थाहा छ, तपाईले बोल्ने होइन, बसिमात्रै दिनुपर्छ । यसो भन्दै उसले मलाई सिडिओको कोठामा लग्यो ।

लास उठाउनुपर्छ भनेर मलाई फेरि सिडियो, एसपी सबैले भने । उसले -तीर्थराजले) भाञ्जीको लास उठाउनुभएन भने भित्र पनि हाल्न सक्छु भन्यो ।

मैले किन धम्की दिन्छौ ? तिम्रो छोरी हो कि मेरो छोरी ? म उठाउँदिन भनें । म (भासीबाट) आजै आउँदैछु । ऊ (तीर्थ) पनि त आजै आएको, उसलाई केही कुरा थाहा थिएन । तर, उसले ‘मेरी भाञ्जीको लास बेच्ने तपाईहरु को हो’ भनेर छिमेकीहरुलाई भनेेछ । मैले भनें- जे गर्नुहुन्छ, गर्नोस् ।

तीर्थराजका साथी रहेछन् धनगढीका पदमराज भट्ट । मेयरले उनलाई चिनेका रहेछन्, उनैले भनेका रहेछन्, यसो यसो भयो । तीर्थराजलाई मेयरसँग परिचय गराउने कामचाहिँ पदमराज भट्टले गरेको हो भन्ने सुनेको छु ।

सिडियो कार्यालयबाट बाहिर निस्केपछि पत्रकारहरुले भित्र के कुरा भयो भनेर सोध्न आइहाले ।

त्यसपछि हामी दुईतीन घण्टा बाहिर बस्यौं । गेटमा शान्तिपूर्ण आन्दोलन भइरहेको थियो । श्रीमती र सानी छोरी भित्रै थिए । मैले भित्र गएर भाउजूलाई बोलाएर ल्याऊ, सानी छोरीलाई भोक लाग्यो होला, भनेर एकजना आफन्तलाई भन्दा पुलिसले भित्र जान दिएन । त्यसपछि म आफैं भित्र गएँ । प्रहरीले जान दियो ।

त्यहाँ फेरि उनीहरुले लास जिम्मा लिएको कागज बना भने । मैले लास उठाउनेवाला छैन भनें । एसपी डिल्लीराज विष्टले धेरै धम्की दिए । ‘म यहाँको लोकल हुँ, मेरो कति पावर छ ? मैले अहिलेसम्म बल देखाएको छैन’ भनेर डिल्लीराज विष्टले भनेको हो ।

म बाहिर निस्कें । गेटमा आइपुग्दा चन्द्र भन्ने इन्स्पेक्टरले हात समातेर तपाईलाई भित्र बोलाउनुभएको छ भन्यो । मेरा दाइ, फूपूका छोरा त्यहीँ थिए । दाइले मलाई इशारा गरेर मोटरसाइकलमा बस्न भने । मोटरसाइकलमा हालेर लगिहाले । नत्र मलाई त्यहीँ राति थन्न खोजेका थिए ।

भोलिपल्ट बिहान अस्पतालमा लासमा बरफ हाल्यो । तीर्थराज पनि त्यहाँ आयो । म उठाउँछु भाञ्जीको लास, म दास संस्कार गर्छु भन्यो । आमाको एकल महिलाको कागज बनाउँछु भन्यो ।

तीर्थराजले प्रहरीसँग मिलेर लास निकाल्न खोज्यो, स्थानीय महिलाले प्रतिवाद गरे । अन्ततः मेरो सहमतिविना लास उठाइयो ।

मलाई लाससँग बस्न दिएनन्, पुलिससँग बसेको थिएँ । ढुंगामुढा हुन सक्छ भनेर प्रहरीले मलाई आफ्नो गाडीमा बसाए । त्यो (दाह संस्कार) पुलिसले गरेको हो । ४/५ सय पुलिसहरु गएका थिए । स्कटिङ गरेर लगेका थिए ।

बिहानै ५ बजे प्रहरीहरु मलाई लिन घरमा आए । मैले मुख पनि धोएको थिइनँ । हिजो के कागज गर्नुभएको थियो, लास जलाउन हिँड्नोस भने । हामीलाई छिटो ल्याउनू भनेर फोन आइसक्यो भने ।

मैले भनें, सबै छिमेकीलाई भन्छु, १० बज्न सक्छ, मलामी बोलाउनुपरेन ?हिजो १२ बजे राति कापीको पन्नामा तपाईहरुले जबरजस्ती कागज गर्नुभो । छापसाप केही छैन । बिहान ५ बजे लास नउठाए करफ्यु लगाउँछौं, गोली हान्ने आदेश दिन्छौं भन्नुभो ।

लास जलाइसकेपछि निर्मलाका ममीबुबाले १५ लाख रुपैयाँ लिएर सम्झौता गरे भन्ने हल्ला चलाइयो । राति गएर सम्झौता गरेपछि लास उठाइयो भन्ने हल्ला चल्यो । बुबाआमाको सहमतिमै दाहसंस्कार गरेको भनियो ।

तर, न हामीले लास जलाउने सहमति दिएका हौं, न त कसैसँग पैसा नै लिएका हौं । हाम्रो सहमतिविनै दबाव दिएर जलाइएको हो ।

तीर्थराजको पश्चातापः वस्तुस्थिति बुझिनँ, प्रहरी प्रशासनसँग विश्वास टुट्यो

यसैवीच अनलाइनखबरले निर्मला पन्तका मामा पर्ने तीर्थराज भण्डारीसँग पनि सम्पर्क गरेको छ । निर्मलाको शव जलाउन प्रहरी प्रशासनसँग मिलेर किन भूमिका खेलेको भन्ने अनलाइनखबरको जिज्ञासामा उनले भने- म त साक्षी मात्र बसेको हुँ । म त डोटीमा बस्छु । सानो छँदा दिदीको घर गएको थिएँ तर, अर्कै ठाउँमा थियो । त्यहाँको वस्तुगत स्थिति थाहा छैन ।’

सुनौं तीर्थराज भण्डारीका कुरा-

निर्मला पन्तको हत्या भएको घटना भएको तपाईलाई कहिले थाहा भयो ?

म डोटीमा आफ्नै काममा थिएँ । बहिनी कैलाली, धनगढीमा पढ्छिन् । उनले घटना थाहा पाएपछि मलाई खबर गरेकी हुन् । उनीहरु त्यही दिन बिहान महेन्द्रनगर गए । मिति याद भएन तर, घटना भएको दोस्रो हो कि चौथो दिन म पनि त्यहाँ गएँ ।

अनि परिवारले नमान्दा नमान्दै म मामा हुँ, म बुझ्छु शव भनेर अघि सर्नुभएछ, होइन ?

त्यस्तो होइन सर । म यहाँबाट गएको दिन प्रशासनमा निर्मलाका बाबुको प्रतिनिधि भनेर एकदुई जना बसेका थिए । म पनि गएँ । मैले हत्यारालाई कहिले पत्ता लाग्छ ? चाँडोभन्दा चाँडो पत्ता लाग्नुुपर्छ भन्ने कुरा गरेँ ।

दोस्रो दिन अञ्चल अस्पताल अगाडि दाहसंस्कार गर्ने भनेर घर परिवारका मान्छे आउनुभएको थियो । आन्दोलनमा उत्रिएका मान्छेहरुले शव उठाउन दिदैनौं भने । त्यसपछि मैले शव बिगि्रसकेको छ, दाहसंस्कार गर्न पाउनुपर्छ भनेर भनेको हो ।

शव बुझ्न दिदी (निर्मलाकी आमा) लाई दबाव दिनुभएन ?

होइन, होइन । भिनाजु शव बुझ्ने पक्षमा हुनुहुन्नथ्यो । दिदी पनि र मैले पनि शव बुझ्न पाउनुपर्छ भनेका हौं । दिउँसो पत्रकारहरुसँग कुरा गर्दा दुर्गा दिदी र मैले आफ्नो कुरा राखेका छौं । त्यसपछि साँझ निर्मलाका आमा, बाबु, काका आउनुभयो, म पनि प्रशासनमै थिएँ । म त साक्षी मात्र बसेको हुँ ।

त्यहाँ प्रहरी प्रमुख, सिडिओ, जनप्रतिनिधिहरुले पनि हत्याको घटनाको जसरी अनुसन्धान गर्नुपर्ने हो, आन्दोलन गर्दा अनुसन्धान गर्न पाएनौं, शव बुझ्नुस्, हत्यारा पत्ता लाग्छ भन्नुभयो । त्यसैले मैले दाहसंस्कार गर्न पाउनुपर्छ भनेको हुँ ।

तर, निर्मलाका बुबाले त म शव बुझ्ने पक्षमा थिइनँ । तीर्थले म मामा हुँ, मैले बुझ्छु भनेपछि -श्रीमती) दुर्गाले भइगो त भनेपछि दबावमा शव बुझेको भनेका छन् नि ?

त्यस्तो होइन सर । साँझ ४/५ जना आउनुभयो । सीडीओ, एसपीसँग छलफल गरेपछि उहाँहरुले शव बुझ्ने सहमति गर्नुभयो । अनिमात्रै मैले हस्ताक्षर गरेको हुँ ।

तर, अहिलेसम्म हत्यारा पत्ता लागेको छैन । त्यसबेला शव बुझ्न हतारो गरिएछ जस्तो लाग्दैन तपाईलाई ?

त्यसबेला प्रहरी प्रशासनमाथि विश्वास थियो र हत्यारा चाँडै पत्ता लाग्छ भन्ने लागेको थियो । तर, जुनखालको आशा थियो, त्यस अनुसार तदारुकता देखिएन ।

प्रहरीले अभियुक्त भनेर सार्वजनिक गरेकाहरु पनि छुटिसके । स्थानीयले आशंका गरेका एसपीका छोरा र मेयरका भतिज पनि छानविनको दायरामा आएको देखिँदैन । यो घटना के जस्तो लाग्छ ?

म त डोटी बस्छु । सानो छँदा दिदीको घर गएको थिएँ तर, अर्कै ठाउँमा थियो । त्यहाँको बस्तुगत स्थिति थाहा छैन । अहिले एक दिन गएको भरमा के हो भन्न सक्दिनँ । तर, हामीलाई प्रहरी प्रशासनप्रति जुन विश्वास थियो, त्यो चाहिँ रहेन ।

दिदीले तपाईलाई केही भन्नुभएको थियो ?

मेरी छोरी निर्मला बविता बमको घरमा गएर फर्किइनन् । बुझ्न जाँदा पनि झगडा गर्न आए, दैलोमा नछिर् भने, त्यसैले मेरी छोरीको हत्या त्यहीँ भएको हुन सक्छ भन्ने दिदीको आशंका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment