Comments Add Comment

संयुक्त सैन्य अभ्यासबाट किन पछि हट्यो नेपाल ?

२९ भदौ, काठमाडौं । राजधानीबाट प्रकाशित अधिकांश राष्ट्रिय दैनिक पत्रिकाहरुले आज पनि निर्मला हत्या प्रकरणकै विषयलाई प्राथमिकताका साथ उठाएका छन् । पत्रपत्रिकाहरुले अपराध लुकाउन निर्दोषलाई यातना दिएको, एसपी बिष्टसहित तीनको डीएनए परीक्षण शुरु भएकोलगायत शीर्षक दिएर प्रहरी अनुसन्धानमाथि गम्भीर प्रश्न उठाएका छन् ।

देशका विशिष्ट पदमा रहेका व्यक्तिहरु सामान्य रोगको उपचार गर्न पनि विदेश नै धाउने र राज्यकोषको लाखौं रकम खर्च गर्ने परिपाटी अब अन्त्य हुने भएको छ । यो विषयलाई आजका केही दैनिक पत्रिकाहरुले छापेका छन् ।

बिमस्टेक राष्ट्रहरुबीचको सैन्य अभ्यासमा सहभागी हुने सहमति गरेर नेपाल पछि हट्नुको विश्लेषण पनि आजको पत्रिकामा पढ्न सकिन्छ ।

पत्रपत्रिकाहरुको पहिलो पृष्ठमै दशैंमा व्यवसायीले थप गाडी नचलाउने भएको, नेकपाको विवाद मिलाउने जिम्मा अध्यक्षद्वयलाई दिइएको, सुत्केरीले १ वर्षसम्म बेतलबी बिदा पाउने भएको लगायत खबर छापिएका छन् ।

निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा केन्द्रित भएको कान्तिपुर दैनिकले निर्दोषलाई कबुल गराउन यातना दिइएको लेखेको छ ।

‘सय जना दोषी उम्किऊन् तर एउटा निर्दोष नफसोस् अपराध अनुसन्धानमा यही कुरालाई मुख्य ध्यान दिइन्छ’, कान्तिपुरले लेखेको छ, ‘तर निर्मला पन्तको बलात्कारपछि हत्या घटना अनुसन्धानमा भने यसको विपरीत भयो । अनुसन्धानका नाममा प्रहरीले शारीरिक र मानसिक अवस्था ठीक नभएकमा तथा घटनासँग सरोकारै नभएका निर्दोषलाई फसाउन मात्रै खोजेन, विनाकारण हिरा सतमा राखेर यातना समेत दियो ।

कान्तिपुरमा अनुसार मानसिक सन्तुलन ठीक नभएका दिलीप विष्टलाई यातना दिएर अपराध कबुल गराउन लगाएको प्रहरीले चक्रदेव बडुलाई अपराध स्वीकार नगरे गोली ठोक्ने र परिवारका सबैलाई जेल हाल्ने धम्की दिएको थियो ।

कान्तिपुरमै विशिष्ट व्यक्तिले विदेश गएर उपचार गराउँदा लाग्ने खर्च अब सरकारले नबेहोर्ने भएको समाचार पनि छ ।

संसदको स्वास्थ्य शिक्षा समितिले जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफलपछि तयार पारेको परिमार्जित प्रतिवेदनमा विदेशमा उपचार गराएको खर्च राज्यले उपलब्ध नगराउने प्रावधान थपेको हो ।

संसदले असोज २ भित्र विधेयक पारित गरेपछि विदेशमा उपचार गर्नेको खर्च राज्यले बेहोर्न कानुनी रुपमा मिल्दैन ।

०६२–६३ पछि मात्रै विशिष्ट र पहुँचवाला व्यक्तिको औषधेपचारमा करिब ५ अर्ब रुपैयाँ खर्च भएको भन्दै आलोचना भइरहेका बेला यस्तो प्रावधान समेटिएको हो ।

अन्नपूर्णमा बलात्कारीलाई प्रहरीले नै लुकाउने गरेको समाचारसँगै कर्मचारी ट्रेड युनियनको आर्थिक हैसियतको चर्चा पनि छ ।

नयाँ पत्रिकाले बिम्स्टेक सदस्य राष्ट्रबीचको सैन्य अभ्यासबाट नेपाल पछाडि हट्नुको कारण केलाएको छ । नयाँ पत्रिकाको विश्लेषण छ– चीनसँग पारवहन प्रोटोकलमा हस्ताक्षर भएलगत्तै नेपालले संयुक्त सैन्य अभ्यासमा जाने तयारी स्थगित गरेको हो ।

दशैंमा व्यवसायीले थप गाडी नचलाउने भएको अर्को खबर पनि नयाँ पत्रिकाको पहिलो पृष्ठमा छ । गत वैशाखदेखि सिन्डिकेट अन्त्यपछि असन्तुष्ट व्यवसायीले सरकारलाई अप्ठ्यारोमा पार्न दशैंमा थप बस नहाल्ने योजना बनाएका हुन् ।

नागरिकमा निर्मला हत्या प्रकरण छानबिन गर्न एसपी डिल्लीराज बिष्टसहित उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टका भतिजा आयुष बिष्टको डीएनए परीक्षण शुरु भएको समाचार छ ।

नेकपाको विवाद मिलाउने जिम्मा अध्यक्षद्वयलाई दिइएको समाचार गोरखापत्रले छापेको छ भने राजधानीले यातायात व्यवसायी मोलमोलाइमा उत्रेको समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment