Comments Add Comment

चीनको चासो– केरुङ काठमाडौं रेलमार्ग कि एसियन राजमार्ग ?

२९ भदौ, ल्हासा । चीनको केरुङ हुँदै नेपालसम्म आउने भनिएको चिनियाँ रेलले चीन–भारत कनेक्टिभिटीसँग कत्तिको सरोकार राख्छ ? चिनियाँ अधिकारीहरुसँगको अनौपचारिक कुुराकानीबाट के बुझ्न सकिन्छ भने भारतसँग कनेक्सन भएमा मात्रै नेपालमा चिनियाँ रेल आउनसक्छ ।

चिनियाँ राष्ट्रपति सी जिनपङले दक्षिण एसियाली राष्ट्रहरु सडक सञ्जालले जोड्न बेल्ट एण्ड रोड (बीआरआइ) अवधारणा अघि सारेका छन् । चिनियाँ अधिकारीहरुले नेपालमा चिनियाँ रेल छिटो ल्याउन आफूहरु तयार भएको बताए पनि चीनको योजना भने नेपालसम्म रेल ल्याउनेभन्दा पनि हिमालय पार भएर सञ्चालन हुने परियोजना (बीआरआई) मा देखिएको छ ।

चीन, भारत, भुटान, नेपाल र पाकिस्तान हुँदै एक क्षेत्र, एक मार्गअन्र्तगत हिमालय सीमापार सहायता प्रर्वद्धनअन्र्तगत हिमाल जोडिएका देशहरुमा चीनले सडक सञ्जाल विस्तार गर्न चाहेको छ ।

चीनको तिब्बतस्थित लुलाङमा भएको बेल्ट एण्ड रोड फोरम कार्यक्रममा चिनियाँ अधिकारीहरुले चीनको पहिलो प्रथामिकतामा नेपालसम्म चिनियाँ रेलभन्दा पनि एसियन राजमार्गमा रहेको लुकाउन चाहेनन् ।

दक्षिण एसियासम्म सडक सञ्जाल विस्तार गर्ने मुख्य प्रवेशद्वार नेपाल भए पनि चीनको उद्देश्य भारतसम्म आफ्नो व्यापार विस्तारको लागि बीआरआईलाई नै पहिलो प्राथमिकतामा राखेको देखिएको छ । चीनको नजर भारतको उत्तर प्रदेश र विहारमा आफ्नो रेल र सडक सञ्जाल विस्तार गरेर व्यापारिक कारोबार बढाउने योजना छ र त्यसका लागि नेपाल हुँदै भारतमा रेलवे कनेक्टिभिटी चीनको उद्देश्य देखिएको छ ।

नेपाल र पाकिस्तान बीआरआईमा सहमत भए पनि भारत भने अहिलेसम्म त्यसमा सहमत भएको छैन । चीनले भारतको बिहार र उत्तर प्रदेशसम्म एसियाली राजमार्गलाई जोड्न चाहेको छ । भारत यसमा सहमत भएमा मात्रै चिनियाँ रेल चाँडो नेपाल आउनसक्छ ।

तिब्बतको लुलाङमा भएका पर्वतीय सहकार्यका लागि बीआरआई कार्यक्रममा तिब्बती जनकंग्रेसका उपाध्यक्ष एवं विदेश मामिलाका कार्यालय सचिव चु—चुन्हुयाले नेपालमा सडक र रेल सञ्जाल जोड्न आफुहरु तयार भएको बताएका थिए ।

चीनको केरुङ हुँदै नेपालसम्म रेल कहिले आउँछ त ? भन्ने नेपाली सञ्चारकर्मीको प्रश्नमा चु—चुन्हुयाले भन, ‘काम भइरहेको छ, हामी छिट्टो रेल नेपालमा पुर्याउन चाहन्छौं । नेपाललाई चिनियाँ रेल र सडक सञ्जालले जोड्न नेपालतर्फको सडकलाई विस्तार गर्नुपर्नेमा चीनको जोड छ । हामी नेपालसँग सहकार्य गरेर विकास निर्माणमा साझेदार गर्न तयार छौं ।

उनले चीनका लागि नेपालसँग रेलभन्दा पनि दक्षिण एसियाली मार्ग प्राथमिकतामा रहेको बताए ।

दक्षिण एसियासम्म सडक सञ्जाल विस्तार हुने हो भने हिमालयसँग सीमा जोडिएका देशहरुका करिब ५ अर्ब जनसंख्यालाई प्रत्यक्ष फाइदा पुग्ने चीनको दाबी छ । चीनले समुन्द्र भएको देशमा पानीजहाजबाट सञ्जाललाई जोड्न चाहेको छ भने नेपाल जस्ता भूपरिवेष्टित् देशमा भने सिल्क रोडमार्फत सडक र रेल सञ्जाल जोड्न सकिने जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीनको भ्रमणमा समेत नेपालमा रेल जोड्ने विषय गम्भीरतापूर्वक उठेको प्रसंग उठाउँदै चु—चुन्हुयाले चीनको केन्द्रीय सरकारसँगै यो विषयमा गम्भीरतापूर्वक काम अघि बढेको दाबी गरे ।

तिब्बतको लुलाङमा भएको पर्वतीय सहकार्यको लागि बीआरआई कार्यक्रममा नेपालका सभामुख कृष्णबहादुर महरालाई प्रमुख अतिथिका रुपमा बोलाइएको थियो । सभामुख महाराले पनि चीनले नेपालसम्म केरुङ हुँदै रेल ल्याउन तयार भएको बताए ।

सिगात्से हुँदै केरुङसम्म रेल ल्याउन चीनले गृहकार्य गरिरहेको आफूले थाहा पाएको महाराले बताए । यसका लागि नेपालतर्फ पनि थप गृहकार्य गर्नुपर्ने सभामुख महराले बताए ।

तातोपानी नाका प्राथामीकतामा नै देखिएन

तिब्बतको लुलाङमा भएको पर्वतीय सहकार्यको लागि बीआरआई कार्यक्रमको ब्रेकमा नेपाली सञ्चारकर्मीहरुले तिब्बती जनकंग्रेसका उपाध्यक्ष एवं विदेश मामिलाका कार्यालय सचिव चु—चुन्हुयाहसँग प्रश्न गरे— भूकम्पपछि बन्द रहेको तातोपानी नाका कहिले सञ्चालन हुन्छ ?

प्रश्नको जवाफमा उनले यसको लामो प्रक्रिया छ भनेर कुराको बिट मारे । सभामुख महराले तातोपानीमा रहेको मितेरी पुलको ल्हासाबाटै शिलन्यास त गरे तर चिनियाँहरुको प्राथामीकतामा भने तातोपानी नाका नपरेको देखियो ।

आगामी मे महिनादेखि तातोपानी नाका सञ्चालन हुने चर्चाबीच मितेरी पुलको शिलान्यास त भएको छ तर मे महिनासम्ममा मितेरी पुल निर्माण हुन सक्दैन । केही चिनियाँ अधिकारीहरुले तातोपानी नाका सञ्चालन हुनका लागि नेपालतर्फको सडक र अन्य भौतिक पूर्वाधारहरु निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

चिनियाँहरुले लामो प्रक्रियापछि मात्रै तातोपानी नाका सञ्चालन गर्ने बताउनु र नेपालतर्फको सडक र अन्य पूर्वाधारहरु निर्माण नहुनुले पनि चीनलाई नाका सञ्चालन नगर्ने बहानमा सहयोग पुगेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment