Comments Add Comment

दशैंमा ८० प्रतिशत खासीबोका भारतबाटै, अवैध असुलीले मूल्य बढ्ने

२९ भदौ, काठमाडौं । यस वर्ष पनि दशैंका लागि झण्डै ८० प्रतिशत खसीबोका भारतबाटै आउने भएका छन् । आन्तरिक उत्पादन नबढेपछि दशैंका लागि चाहिने खासी बोका भारतकै भर पर्नुपर्ने अवस्था छ । यो समयमा चीनबाट पनि भेडाच्याङ्ग्रा आउने गरेका छन् ।

व्यवसायीहरूका अनुसार दशैंमा खपत हुने मासुका लागि २० प्रतिशत चौपाया मात्रै नेपालका आन्तरिक उत्पादन हुन्छन् । बाँकी सबै भारत र चीनकै भर पर्नु अवस्था छ ।

नेपाल माछामासु व्यवसायी संघका अध्यक्ष रमेश खड्गी दशैंमा ठूलो मात्रामा मासुको माग बढ्ने भएकाले भारतबाट खसीबोका नल्याइ सुखै नहुने बताउँछन् । मुलुकको आन्तरिक उत्पादन कमजोर हुँदा मासुका लागि खपत हुने यस्ता चौपायामा परनिर्भर हुनुपरेको उनको भनाइ छ ।

यसपटक दशैंमा झण्डै ५० हजार भन्दा बढीको संख्यामा खसीबोका तथा भेडाच्याङ्ग्रा आयात गर्ने तयारी छ । गत वर्ष पनि झण्डै दशैंमा झण्डै ४५ हजार खसीबोका आयात भएको व्यवसायी बताउँछन् ।

त्यस्तै, दशैंमा अधिक खपत हुने राँगाभैंसी भने कति आयात हुन्छ, त्यसको आँकडा व्यवसायीसँगै छैन । ‘यो वर्ष गतवर्षभन्दा करिब ५ हजार बढी खसीबोका आयात हुन्छ भन्ने अनुमान छ ,’ संघका अध्यक्ष खड्गीले भने ।

खसीबोका र भेडाच्याङ्ग्रा आयातका लागि अष्टमी/नवमीअघिको एक सातामामात्र झण्डै करोडौं रकम रुपैयाँ बाहिरिने व्यवसायी बताउँछन् । यसअघि फाट्टफुट्ट मात्रामा चौपाया भए पनि घटस्थापनापछि भने चौपायाको आयात ह्वात्तै बढ्छ ।

मासुको अत्यधिक उपभोग गर्ने परम्पराका कारण अन्य समयको तुलनामा दशैंमा मासुका लागि चौपाया आयात अत्यधिक हुन्छ । नेपालमा वाषिर्क ३० अर्ब रुपैयाँ मासु खपत हुन्छ ।

खासगरी उपत्यका मासुका लागि बढी परनिर्भर छ । व्यवसायीका अनुसार दशैंको समयमा मुलुकको आन्तरिक बजारले १० प्रतिशतको हाराहारीमामात्र योगदान गर्छ । पछिल्लो समय आन्तरिक बजार कमजोर बन्दै गएकाले आयात अरू बढ्दै गएको व्यवसायीको अनुभव छ ।

दशैंको समयमा उपत्यकामा मात्रै झण्डै ६५ हजार खसीबोका र भेडाच्याङ्ग्राको माग रहेको अनुमान छ । दशैंमा खपत हुने चौपाया खरिद-विक्री भने व्यावसायीले आफूखुसी गर्दै आएका छन् । यसका लागि हालसम्म कुनै मापदण्ड नै तोकिएको छैन ।

माग अनुसारको आपूर्तिले मूल्य निर्धारण हुँदै आएको महासंघको भनाइ छ । ‘सरकार र व्यवसायी कसैले पनि हालसम्म मूल्य निर्धारणका लागि हालसम्म मापदण्ड बनाएका छैनन,’ एक व्यवसायी भन्छन् । मूल्य निर्धारणको मापदण्ड नहुँदा उपभोक्ताले मासुमा ठगिँदै आएको गुनासो लामो समयदेखि गर्दै आएका छन् ।

व्यवसायीले दशैंमा मनोमानी गर्ने र अस्वस्थ प्रतिस्पर्धाका कारण उपभोक्तालाई मार पर्न नदिन सरकारले पनि खसीबोका र भेडाच्याङ्ग्रा कारोबार गर्ने गरेको छ । यसपटक खाद्य संस्थानले विभिन्न जिल्लाबाट २ हजार खसीबोका र भेडाच्याङ्ग्रा उपत्यका ल्याउने तयारी गरेको छ ।

संस्थानले ती चौपायाको मासु बजार मूल्यभन्दा प्रतिकिलो १० रुपैयाँ सस्तोमा उपभोक्तालाई विक्री गर्ने योजना बनाएको छ ।
अहिले खसीबोकाको मासुको मूल्य प्रतिकिलो १ हजार रुपैयाँ छ । कर बढेको कारण देखाउँदै व्यवसायीले बजार मूल्य दशैंअघि नै बढाइसकेका छन् । अब दशैंमा पनि मूल्य बढ्न सक्ने व्यवसायीले बताए ।

‘बाटा-बाटामा प्रहरी र गुण्डाहरुले अनेक बाहना बनाएर हामी ब्यापारीसँग रकम असुल्दै छन् । प्रहरीहरुले पनि एउटा गाडीबाट कम्तिमा एउटा खसीबोका दशैंका लागि दिन दबाव दिन्छन्,’एक व्यवसायीले भने,’यसरी अनेक बाहनामा दशैंमा अवैध असुली बढिरहेको छ । यसले अन्ततः मासुकै मुल्य बढ्छ ।’

ती व्यपारीका अनुसार दशैंमा मासुको मुल्य अहिलेभन्दा बढ्ने निश्चित जस्तै छ । अहिले ज्युँदो खसीबोकाको मूल्य प्रतिकिलो ५५० देखि ५८० रुपैयाँसम्म छ । यो बढेर दशैंमा ६०० रुपैयाँ नाघ्ने अनुमान व्यवसायीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment