Comments Add Comment

आयल निगमको कार्यकारी निर्देशकमा पदपूर्ति गर्न दरखास्त आह्वान

२९ भदौ, काठमाडौं । नेपाल आयल निगमले कार्यकारी निर्देशक पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । सूचनाअनुसार आगामी असोज १२ गतेसम्म योग्यता पुगेका इच्छुक व्यक्तिले आवेदन दिन सक्नेछन् ।

अर्थशास्त्र वा वाणिज्यशास्त्र, व्यवास्थापन, इन्जिनियरिङ विषयमा कम्तिमा पनि स्नातकोत्तर गरेकाले मात्रै यो पदका लागि आवेदन दिनसक्ने निगमले जनाएको छ ।

व्यवस्थापनमा स्नातक गरेर चार्टर्ड एकाउन्टेन्ट गरेको र सरकारी सेवाको अधिकृतस्तरमा रहेर कम्तिमा पनि ५ वर्षको कार्यानुभव भएकाले पनि यो प्रतिस्पर्धामा भाग लिन सक्नेछन् । निगमको कार्यकारी निर्देशक बन्न ३० वर्ष पुरा भएर ६५ वर्ष ननाघेको हुनु पर्नेछ ।

प्रतिस्पर्धामा भाग लिनेले ५ हजार शब्द नबढ्ने गरी निगमका लागि आफ्ना व्यावसायिक योजना र कम्तिमा दुई वटा ‘केश स्टडी’ पनि दरखास्तसँगै सामेल गर्नुपर्नेछ ।

आयल निगममा लामो समयदेखि कार्यकार  निर्देशक छैनन् । जग्गा खरिद काण्डमा मुछिएपछि कार्यकारी निर्देशक गोपालबहादुर खड्का मन्त्रालय तानिएका थिए ।

सरकारले बर्खास्त गरेपनि उनी अदालतको आदेश लिएर पुनः जिम्मेवारीमा फर्किए पनि निगममा काम गर्न पाएनन् । गत जेठमा उनले राजीनामा दिएपछि नयाँ कार्यकारी  निर्देशक नियुक्तिको बाटो खुलेको थियो ।

हाल सुशील भट्टराईले निमित्त कार्यकारी निर्देशकका रुपमा काम गरिरहेका छन् । उनी पनि अब निगमको कार्यकारी निर्देशक पदका दावेदार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment