Comments Add Comment

नेप्से २६ अंकले बढ्दा २ अर्ब १० करोडको सेयर कारोबार

२९ भदौं, काठमाडौं । भदौ महिनाको अन्तिम साताको कारोबारले सेयर लगानीकर्ताहरुमा खुसीयाली छाएको छ । बढ्दा थोरै अंकमा बढ्ने र घट्दा भारी अंकमा गिरावट हुने नेपाली पुँजी बजारमा भदौ महिनाको अन्तिम सातामा देखिएको सुधारले पुँजी बजार लगानीकर्तामा उत्साह देखिएको हो ।

यो सातामा सेयर बजार २५ दशमलव ८६ अंकले वृद्धि भएको छ । साताको पहिलो दिनको तुलनामा २५ दशमलव ८६ अंकले बढेर १ हजार २ सय ४४ दशमलव ८४ अंकमा पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । भदौ महिना सकिन २ दिन बाँकी छ । बाँकी रहेको शनिबार साप्ताहिक बिदा र आइवार समेत सार्वजनिक बिदा परेकाले बिहीबारसम्मको कारोबार नै भदौ महिनाको अन्तिम कारोबार हो ।

२ अर्ब १० करोडको कारोबार

यो सातामा १ सय ८६ कम्पनीको सेयर २३ हजार ६ सय ११ कारोबार भयो । जसअनुसार १ करोड २ लाख ५५ हजार ६ सय ८० कित्ता सेयर खरिद बिक्री भएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार यस साता २ अर्ब १० करोड १५ लाख ६५ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबार रकम गत साताभन्दा २७ दशमलव १७ प्रतिशतले कम हो । गत साता २ अर्ब ८८ करोड ५४ लाख ९० हजार रुपैयाँ बराबरको १ करोड २ लाख ५५ हजार ६ सय ८० कित्ता सेयर किनबेच भएको थियो । त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पहिलो दिनको तुलनामा ६ दशमलव ११ अंकले बढेर २ सय ६४ दशमलव २७ अंकमा पुगेको छ ।

कारोबार रकममा एनआइसी एशिया अगाडि

सातामा सबैभन्दा बढी एनआइसी एसिया बैंकको सेयर कारोबार भएको छ । यस बैंकको सातामा १७ करोड ४५ लाख ६० हजार रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।  कारोबार रकमका आधारमा एनएमबी बैंक, ग्लोबल आइएमई बैंक, कुमारी बैंक र प्रभु बैंक क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थानमा देखिएका छन् ।

सातामा एनएमबी बैंकको १३ करोड ६५ लाख ५० हजार रुपैयाँको कारोबार भएको छ भने ग्लोबल आइएमई बैंकको ९ करोड २७ लाख १० हजार रुपैयाँ सेयर कारोबार भएको छ ।  यसैगरी कुमारी बैंकको ९ करोड १५ लाख ८० लाख रुपैयाँ र प्रभु बैंकको ८ करोड १५ लाख ९० हजार रुपैयाँ सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

कारोबार भएको सेयर संख्याको आधारमा पनि एनआइसी एसिया बैंकको सेयर नै अगाडि रहेको छ । जसको ४ लाख ३९ हजार कित्ता सेयर किनबेच भएको हो ।  कारोबार संख्यामा पनि एनआइसी एसिया बैंकको अग्रस्थानमा रहेको छ, जसको संख्या १ हजार १ सय १४ वटा छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार पाँच दिन नै खुल्ला रहृयो ।

२१ लाख कित्ता सेयर सूचीकृत

यस साता नेपाल स्टक एक्सचेन्ज -नेप्से) मा ४ वटा कम्पनीहरुको २१ लाख २३ हजार २१ दशमलव ९३ कित्ता सेयर सूचिकृत भएका छन् । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ७५ हजार कित्ता सेयर सूचीकृत भएको छ भने राधी विद्युत कम्पनी लिमिटेडको ४ लाख १० हजार ४० कित्ता सेयर सूचीकृत भएको छ ।

यसैगरी कामना सेवा विकास बैंक लिमिटेडको १३ लाख ४ हजार ७०१ दशमलव ९३ कित्ता सेयर र वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडकको २ लाख ३३ हजार २८० कित्ता हकप्रद सेयर समेत नेप्सेमा सूचीकृत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment