Comments Add Comment

संसारभर क्यान्सरका झण्डै २ करोड बिरामी

२९ भदौ, काठमाडौं । सन् २०१८ मा क्यान्सरका नयाँ रोगीहरुको संख्या बढेर १ करोड ८१ लाख पुगेको छ । क्यान्सरबाट मृत्यु हुनेहरुको संख्या भने ९६ लाख पुगेको विश्व स्वास्थ्य संगठनले अनुमान गरेको छ ।

विश्वका ५ जना पुरुषमध्ये एक जना र ६ जना महिलामध्ये एक जनालाई कुनै न कुनै प्रकारको क्यान्सर हुने बताइएको छ । त्यस्तै, ८ जना पुरुषमध्ये एक जना र ११ जना महिलामध्ये एक जनाको क्यान्सरबाट मृत्यु हुने अनुमान गरिएको छ ।

क्यान्सर लागेको पत्ता लागेपछि ५ वर्षसम्म (जसलाई ५ वर्षे प्रिभिलेन्स अवधि भनिन्छ) जीवित रहने व्यक्तिहरूको संख्या विश्वभरीमा ४ करोड ३८ लाख रहेको विश्व स्वास्थ्य संगठनको अनुमान छ ।

विश्व स्वास्थ्य संगठन अन्तर्गतको निकाय इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर (आइएआरसी) ले १८५ देशमा ३६ प्रकारका क्यान्सरलाई समेटेर क्यान्सरले विश्व समुदायमा पार्ने भारको पछिल्लो अनुमानित आँकडा प्रकाशित गरेको छ ।

प्रभावकारी रोकथाम प्रयासहरूले फोक्सोको क्यान्सर र पाठेघरको क्यान्सर लाग्ने दर घटेका पनि छन् । तर नयाँ तथ्याङ्कले अधिकांश देशहरूमा निदान हुने क्रममा रहेका तथा उपचार आवश्यक भएको क्यान्सरका बिरामीहरूको कुल संख्या बढेको देखाउँछ ।

पुरुष तथा महिलाको विश्वव्यापी तथ्याङ्कलाई जोडर हेर्दा सन् २०१८ मा क्यान्सरका नयाँ बिरामीहरूको कुल संख्यामध्ये लगभग आधा र क्यान्सरको कारणले मृत्यु हुनेहरूको कुल संख्यामध्ये आधाभन्दा बढी एसियामा बसोबास गर्ने मानिसहरू रहेको देखिन्छ ।

फोक्सोको क्यान्सर, महिलामा स्तन क्यान्सर र ठूलो आन्द्राको क्यान्सर संख्याको हिसाबले तीन प्रमुख क्यान्सरहरू हुन् । यी क्यान्सरहरू मृत्युका हिसाबले पनि प्रमुख पाँच क्यान्सर (क्रमश पहिलो, पाचौं र दोस्रो) भित्र पर्दछन् ।

एकसाथ हेर्ने हो भने यी तीन क्यान्सरहरू विश्वभर रहेका क्यान्सरका बिरामीको संख्या र क्यान्सरको कारणले हुने मृत्युको कुल संख्याको एक तिहाईका लागि जिम्मेवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment