Comments Add Comment

संविधान दिवसमा हाफ म्याराथन र मैत्रीपूर्ण टी-२० क्रिकेट हुँदै

२९ भदौ, काठमाडौं । संविधान दिवसको अवसर पारेर राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले असोज २ गते हाफ म्याराथन र मैत्रीपूर्ण टी ट्वान्टी क्रिकेट आयोजना गर्ने भएको छ ।

म्याराथनमा तीन विभागीय टोली नेपाली सेना, नेपाल प्रहरी र नेपाल एपीएफ क्लबका साथै अन्य गरी झण्डै १ सय खेलाडी सहभागी हुने अनुमान गरिएको राखेपले जनाएको छ ।

पुरुषतर्फ मात्र प्रतिस्पर्धा हुने म्याराथनमा पहिलो हुनेले ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार रुपैयाँ पुरस्कार पाउने छन् । चौथो हुनेलाई १० हजार तथा पाँचौं र छैटौं हुनेलाई जनही ५ हजार रुपैयाँ नगद पुरस्कार दिइने राखेपले जनाएको छ ।

म्याराथन त्रिपुरेश्वरस्थित राखेप हाताबाट सुरु भइ त्रिपुरेश्वर चोक, थापाथली, माइतीघर, बबरमहल, मिनभवन, तीनकुने, कोटेश्वर, जडीबुटी, लोकन्थली, कौशलटार, गठ्ठाघर, नयाँ ठिमी, राधेराधे, सिर्जनानगर, सल्लाघारी तीनकुने हुँदै पुनः सोही भएर त्रिपुरेश्वरस्थित राखेप हातामै टुंगिने छ ।

संविधान दिवसकै अवसरमा नेपाल रातो र नेपाल नीलो टिम बनाएर टी- २० मैत्रीपूर्ण क्रिकेट पनि खेलाइने राखेपले जनाएको छ । असोज २ गते नै हुने मैत्रीपूर्ण क्रिकेट कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment