Comments Add Comment

बालश्रमिक नभएको घरमा हरियो झण्डा

२९ भदौ, डोटी । टाढाबाट घर घरमा हरियो झण्डा राखेको देख्नुभयो भने ‘यो कुन पार्टीको झण्डा रहेछ’ भनेर सोच्नु होला तर त्यो झण्डाको संकेत अर्कै हुन्छ ।

डोटीको दिपायल सिलगढी नगरपालिकाले नगरपालिको वडा नंं. ६ बाट बालश्रमिक नभएका घरहरुमा हरियो झण्डा राख्ने अभियान सुरु गरेको छ ।

राष्ट्रिय बाल दिवसको अवसर पारी नगरपालिकाले शुक्रवारदेखि बाल श्रमिक नभएको घरमा हरियो झण्डा राख्ने अभियान सुरु गरेको हो ।

नगरप्रमुख मञ्जु मलासीले नगरको वडा नं. ६ को एक घरमा हरियो झण्डा राख्दै बाल श्रमिक नभएको घरमा हरियो झण्डा राख्ने अभियान सुरु गरेकी हुन ।

एक स्थानीयवासीको घरमा झण्डा राख्दै नगर प्रमुख मलासीले भनिन् ‘यो बालश्रमिक राख्ने परिवारका लागि नैतिक दवाव पनि हो ।’ उनले छिमेकीको घरमा हरियो झण्डा भएपछि आफ्नो घरमा भएका बाल श्रमिक हटाउनु पर्छ भन्ने सोच पलाउने विश्वास गरिन् ।

नगरपालिकाका वडा नं. ४, ६ र ९ मा मात्रै ४३ बाल श्रमिक रहेको नगरपालिकाको प्रारम्भिक अध्ययनले देखाएको भन्दै मलासीले भनिन्, ‘बालश्रमिक भएको घरमा रातो झण्डा राख्ने कि भन्ने पनि छलफल चलिरहेको छ तर पहिलो चरणमा बाल श्रमिक नभएको घरमा हरियो झण्डा राखे बाल श्रमिक राख्नेलाई नैतिक रुपमा सोच्न बाध्य बनाउँछ भन्ने लागेकाले हामीले हरियो झण्डाको अभियान थालेका हौं ।’

उनले यदि हरियो झण्डाको अभियानबाट पनि बाल श्रमिक राख्नेहरुले आफूलाई सुधार नगरे नगरपालिका उनीहरुलाई कानुनी कारवाही गर्ने प्रक्रियामा अगाडि बढ्ने बताइन् ।

हरियो झण्डा राख्ने अभियानका क्रममा नगरपालिकाले नगरका ४, ५ र ६ वडाहरुमा हरियो झण्डा सहितको मोटरसाइकल र्‍याली प्रदर्शन गरेको छ ।

र्‍यालीमा जनप्रतिनिधिहरु, नगरपालिकाका कर्मचारीहरु, नागरिक समाजका अगुवाहरु, सञ्चारकर्मीहरु लगायतको सहभागिता रहेको थियो ।

र्‍यालीले नगर क्षेत्रभित्र हरियो झण्डा राख्ने अभियानको सन्देश दिएको नगरपालिकाका सामाजिक विकास अधिकृत रमेशचन्द्र जोशीले जानकारी दिए । ‘बालमैत्री नगरपालिका घोषणा गर्नका लागि बालश्रम र बालविवाह बाधक बनेको छ,’ जोशीले भने ‘त्यसैले हामीले हरियो झण्डाको अभियान थालनी गरेका हौं ।’

जोशीले नगरपालिकाको कार्यालयले बालश्रमिक भएका घरहरुको अध्ययन गरी यस्तो निर्णय लिएको समेत जानकारी दिए । उनले हाल बाल श्रमिक राख्ने परिवारले आफ्नो घरबाट बालश्रम हटाए त्यस्तो घरमा तत्काल हरियो झण्डा राखिने जानकारी दिए ।

हरियो झण्डा राख्ने अभियानले बालश्रम न्यून गर्ने विश्वास व्यक्त गर्छन पत्रकार मोहन शाही । ‘बिभिन्न दिवसहरुमा गरिने देखावटी गतिबिधिहरुमा मेरो बिमति रहँदै आयो,’ पत्रकार शाहीले भने, ‘यो अभियान भने साँच्चै पनि प्रसंसनीय छ, यो अभियानले बालश्रम न्यून गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’

बालश्रमिक नभएको घरमा हरियो झण्डा राख्ने अभियानको प्रसंसा गर्दै नेपाल पत्रकार महासंघ डोटीका सचिव गणेश जोशी भन्छन् ‘नगर प्रमुखले सृजनात्मक काम गर्नु भएको छ, यस अभियानमा सहयोग गर्नु हाम्रो पनि जिम्मेवारी हो ।’

नगरपालिकाले बालश्रममुक्त नगरपालिका बनाउनका लागि बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । हरियो रङ्गको झण्डामा ‘बालश्रम र बालबिवाह निषेध गरौं’ भन्ने लेखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment