Comments Add Comment

नारायणी अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

२९ भदौ, वीरगञ्ज । स्वास्थ्य मन्त्रालयले पठाएको एम्बुलेन्स वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा हस्तान्तरण गरिएको छ ।

सांसद प्रदीप यादवले मन्त्रालयको तर्फबाट अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा एनामुल हक र मेट्रोन माधवी चौधरीलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । यादवले अस्पतालको प्रसुती गृह अगाडि एम्बुलेन्सको साँचो मेसु हकलाई हस्तान्तरण गरेका थिए ।

यसअघि नारायणी उपक्षेत्रीय अस्पतालमा तीन वटा एम्बुलेन्स भए पनि एउटा मात्रै सञ्चालनमा थियो । एउटा एम्बुलेन्स मर्मतका लागि ग्यारेजमा रहेको र एउटा मर्मत समेत गर्न नसक्ने अवस्थामा रहेको मेडिकल सुपरिटेन्डेन्ट हकले बताए ।

‘यसअघि हामीसँग तीन वटा एम्बुलेन्स थियो । दुईवटा ग्यारेजमा छ । एउटा ४/५ लाख खर्चमा बन्न सक्ने भएकोले बनाउँन भनेका छौं । एउटा दुर्घटनामा परेको थियो त्यसलाई मर्मत गर्न १२/१३ लाख लाग्ने कुरा आयो, नबनाउने भन्ने निर्णयमा पुगेका छौं’ उनले भने ‘सञ्चालनमा रहेको एम्बुलेन्स पनि जीर्ण अवस्थामा थियो । मन्त्रालयले पठाएर राम्रो भएको छ ।’

यसअघि स्वास्थ्य मन्त्रालयले पर्साको पोखरीया अस्पतालका लागि पनि एउटा एम्बुलेन्स पठाइसकेको छ ।

नारायणी अस्पताललाई राज्यले उपेक्षा गर्‍यो : सांसद यादव

एम्बुलेन्स हस्तान्तरण पछि बोल्दै सांसद यादवले नारायणी उपक्षेत्रिय अस्पताललाई राज्यले सँधै विभेद गर्ने गरेको बताए । ‘वीर अस्पतालसँगै स्थापना भएको नारायणी उपक्षेत्रीय अस्पतालको अवस्था एकदमै दयनीय छ । अस्पतालमा आउँदा जो कसैको आत्मा रुन्छ । विरामीको संख्या बढी हुन्छ बेड कम हुन्छ’ उनले भने ‘अस्पताललाई राज्यले सँधै विभेदको नजरले हेर्ने गरेको छ, उपेक्षा गरेको छ ।’

उनले नारायणी उपक्षेत्रीय अस्पताललाई शिक्षण अस्पताल बनाउन र अस्पतालमा बेड थप्न पहल गर्ने आश्वासन पनि दिए । ‘२ सय २१ थप्दा हुन्छ कि ७ सय पुर्‍याउनुपर्छ । कति बेड थप्दा हुन्छ । बेड थप्न पहल गर्छु’ सांसद यादवले भने ‘त्यति मात्रै होइन, सर्वदलीय छलफल गरेर अस्पतालको उन्नतीका लागि स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री समक्ष प्रस्ताव लिएर डेलिगेसन पनि जान्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment