प्रिय बहिनी करुणा,
म तपाईंको नियमित पाठक हुँ । केही समस्या भएकाले उचित समाधानको आशामा यो पत्र लेखेको हुँ ।
म ४९ वर्षीय पुरुष हुँ । मेरी श्रीमतीको केही वर्षअघि मृत्यु भयो । मेरा ४ छोरा छोरी छन् । जेठो र माइलीको बिहे भइसकेको छ । समाजमा सबैले दिएको सरसल्लाहअनुसार मैले एक वर्षअघि अर्को बिहे गरेँ । उनी ३८ वर्षीया महिला हुन् । मैले दोस्रो बिहे गर्नुको कारण सामाजिक, शारीरिक र भावनात्मक रुपमा सुरक्षित महसुस गर्नु थियो ।
हाल आएर मेरी कान्छी श्रीमतीसँग शारीरिकरूपमा आफू सन्तुष्ट हुन नसकेको र उनलाई पनि सन्तुष्टि दिन नसकेको महसुस भएको छ, जसको प्रत्यक्ष असर मेरो र उनको सम्बन्धमा परेको छ ।
आजभोलि हाम्रो दैनिकजस्तो मनमुटाव भइरहन्छ । यस्तो समस्या उमेरको कारणले आउँछ ? उनी मेरो पहिलेकै श्रीमतीलाई भुल्न नसकेकाले यस्तो भएको आरोप लगाउँछिन् । वास्तवमा मलाई भएको के हो र यसको समाधान के छ ?
५४ वर्षको उमेरमा युवावस्थाको आन्दोलन प्राप्त हुँदैन
हर्मोनहरूमा आएको परिवर्तन, जिम्मेवारीहरूको बोझ, पश्चातापको मनोविज्ञान, मानसिक अन्तरद्वन्द्व, जीवनशैलीजस्ता थुप्रै कारणहरूले मानिसको यौन सन्तुष्टिलाई प्रभाव पारेको हुन्छ । यी सबै पक्षहरू मनोविज्ञानसँग सम्बन्धित विषयहरू हुन र यिनको हल पनि त्यसरी नै खोज्नुपर्ने हुन्छ ।
यौनेच्छा उतरचढाव भइरहने विषयवस्तु हो । केही कामुक मानिसहरूमा हुने यौन उत्तेजनाहरूलाई छोडेर आम मानिसहरूको कुरा गर्ने हो भने यौन इच्छामा उतरचढाव भइरहन्छ । तपाईको दोस्रो विवाहमा सन्तुष्टि कम भेटिने वा असन्तुष्ट रहने कारणहरूमा मानसिक अन्तरद्वन्द्व एक प्रमुख कारणको रूपमा रहेको छ । दोस्रो विवाह त गर्नुभयो तर ती श्रीमती र छोराछोरीसँग आफ्नो निःस्वार्थ सम्बन्ध भएन कि भन्ने कुरा तपाईलाई खट्किरहेको हुनसक्छ । कतै आफूले आफ्नो स्वार्थ मात्र पूरा गरें कि भन्ने मनमा परिरहेको हुनसक्छ ।
तपाईलाई आफ्नीश्रीमती र छोराछोरीप्रति वफादार नभएको र मायालाई सम्मान नगरेको महसुस हुने गर्दछ । कतिपय अवस्थामा दोस्रो विवाह गर्नु कतै गल्ती पो हो कि भन्ने आभास भइरहन्छ ।
हेर्दा सामान्य लागे पनि विभिन्न सोचाइहरू मनमा खेल्ने गर्दछन् । यसरी मनमा कुरा खेलिरहेका बेला तपाईलाई लाग्न सक्छ, पहिलेको श्रीमतीको फोटो भित्तामा राख्ने कि नराख्ने, पहिलेको श्रीमतीले दिएको औठी फुकालेर अहिलेकी श्रीमतीले दिएको औठी लगाउने कि नलगाउने आदिआदि । यस्ता कुराहरूले तपाईको मनोविज्ञानमा प्रतिकूल असर पारिरहेको छ र तपाईलाई यौन सन्तुष्टि प्राप्त गर्नेमा समस्याभएको हुन सक्छ ।
अनुसन्धानहरूले पनि दोस्रो विवाह पहिलेको भन्दा उत्साहित नहुनुको कारण छोराछोरी र पैसालाई प्रमुख रुपमा रहेको देखाएका छन् । त्यसैले तपाईले आफ्ना यस्ता इच्छा, अपेक्षा, बानी, तथा आवश्यकताहरूलाई रूपान्तरण गर्न जरुरी हुन्छ ।
दोस्रो विवाहमा प्रायजसो पहिलेको श्रीमतीसँगको अनुभव अहिलेको श्रीमतीसँग तुलना गर्न पुगिरहेको हुन्छ । महत्वपूर्ण कुराचाहिँ के हो भने हरेक व्यक्ति फरक हुन्छन् र हरेक व्यक्तिसँगको यौन सम्बन्ध फरक किसिमले रमाइलो बनाउन सकिन्छ ।
हर्मोनहरूमा परिवर्तन हुँदा पनि यस्तो समस्या देखिन सक्छ । उमेर बढ्दै जाने क्रममा महिला र पुरुष दुवैमा हर्मोन परिवर्तन हुनु स्वाभाविकै हो । महिलामाआउने परिवर्तन विशेष गरेर मेनोपज अर्थात् महिनावारी रोकिनुअघि योनीका तन्तुहरू पातलो हुने, सुख्खा हुने र चिल्लो पदार्थ निस्कन कम हुनसक्छ, त्यसैले पहिला आनन्दको महसुस गर्ने महिलाले पनि पछि त्यस किसिमको आनन्द नभेटाउने हुन्छ ।
त्यस्तै गरी पुरुषमा पनि हर्मोनको परिवर्तन हुन्छ, टेस्टोसटेरोन हर्मोनले पुरुषको यौन इच्छामा प्रभाव पार्दछ । पुरुष २० देखि ३० वर्षको हुँदा यौन इच्छातीव्र हुने र त्यसपछि कम हुने हुन्छ । १४०८ जना २० देखि ६० वर्ष उमेरका स्वस्थ पुरुषमा गरिएको फ्रेन्च अनुसन्धानअनुसार २५ प्रतिशत पुरुषमा ४० वर्ष उता टेस्टोसटेरोन हर्मोनको कमी हुँदै जान्छ र यसले यौन जीवनमा असर गर्ने कुरा उल्लेख गरिएको छ ।
न्यूयोर्क सिटीको मेडिसिन अफ माउनसिनाइ स्कुलको मानव यौनिकता कार्यक्रमअन्तर्गत राहुल सी सिचाभिले ४५ देखि ७४ वर्षको ७७जना स्वस्थ पुरुषहरूमा गरेको अध्ययनले यौन इच्छा र क्रियाकलापमा टेस्टोसटेरोन हार्मोनको कमीले असर पारे तापनि यौन आनन्दमा यसको कुनै असर नहुने वताएका छन् । तर यी परिवर्तनले कुनै पनि व्यक्तिको पूर्ण यौन जीवनमा बाधा पुर्याउँदैन ।
यौन सम्पर्क र उमेरको केही सम्बन्ध त पक्कै पनि छ तर मानिसहरूले यसलाई कसरी सोचिरहेका छन् भन्ने कुरा महत्वपूर्ण हो । यौन सम्पर्क र यौनजन्य गतिबिधिबाट आनन्द लिने कुरा बुढ्यौलीमा अनि दोस्रो विवाहमा पनि सम्भव छ । फरक कुरा यत्ति हो कि मानिसहरूले हरेक निर्णयसँगै आफूलाई समायोजन गर्दै लगेका छन् कि छैनन् ? मैले पहिला पनि भन्ने गरेको छु, सेक्स मात्र महत्वपूर्ण होइन ।
यससँग जोडिएका धेरै पक्ष छन् । टचिङ, किसिङ, सेन्सिङ, मायामोह भावना साटासाट आदि कुराहरू पनि सेक्सका अभिन्न पक्षहरू हुन् । त्यसैले उमेर बढ्ने क्रमसँगै अनुभवबाट फाइदा लिन सकिने सम्भावना पनि त हुन्छ ।
उमेर बढ्दै जाने कुरा सामान्य हो । यससँगै सेक्सको नियमित रुटिन परिवर्तन गर्नुपर्ने हुनसक्छ । दोस्रो कुरा, उमेरलाई अगाडि जान दिइरहनुहोस् र यौन जीवनलाई आनन्दित बनाउने, लाइट मूडमा रहिरहने, एकअर्कालाई अझ बढी माया गरिरहने, हिँडडुलबाट शारीरिक तथा मानसिक स्वास्थ्यस्थिति तन्दुरुस्त राखिरहने, नयाँनयाँ सोचविचारहरू ल्याउने तथा छलफल गर्ने, सेक्सका कुरा गर्ने रमाइलो कल्पना गर्ने, पर्याप्त समय लिएर डिनर वा मनोरञ्जन दिने ठाउँमा जाने, धेरै लज्जालु नबन्ने र इमान्दार बन्ने गर्नु यौन जीवन फलदायी बनाइरहने उपयुक्त टिप्स हुन् । आफ्नो आशा, सपना, यौन जीवन र आर्थिक कुराहरूको बारेमा नियमित छलफल गर्दा दुईजना मिलेर आफनो जीवनलाई उत्कृष्ट बनाउन सकिन्छ ।
डा. टेसिनाका अनुसार यौन जीवनलाई प्राथमिकता दिनु महत्वपूर्ण पाटो हो । दाम्पत्य जीवनमा यौन क्रियाकलापलाई तल्लो दर्जामा राख्दा अन्य विभिन्न समस्याहरू उत्पन्न हुन सक्छन् । यौन नै यस्तो क्रियाकलाप हुन सक्छ, जसले एक अर्कालाई बुझ्न, भावनात्मक कुराहरूलाई महसुस गर्न र सम्वन्धलाई मजबुत वनाउन मद्यत गर्दछ ।
उमेर ढल्कँदै गएपछि पनि यौनजन्य आनन्द लिन सकिन्छ । यसबेला यौन साथीबीच नजिकको सम्वन्ध सबैभन्दा महत्वपूर्ण कुरा बन्न पुग्छ । सकारात्मक सोचले काम गर्ने बानी बसाल्ने, मानसिक तथा शारीरिक अवस्था तन्दुरुस्त अवस्थामा राख्ने, चिन्ता नलिने र बुढ्यौली र नयाँ विवाहसँगै आफूलाई अनुकूल बनाउँदै लैजाने हो भने यौन आनन्दमा कमी नहुने अध्ययनहरूले देखाएका छन् ।
यति हुँदाहुँदै पनि एउटा अर्को सत्य कुरा के हो भने २२ वर्षको उमेरमा र ५४ वर्षको उमेरमा एउटै आनन्द प्राप्त हुन त सम्भव छैन । यस्तो अपेक्षाबाट केही टाढा रहनु नै राम्रो हुन्छ । तर, अनुभवजन्य कुराहरूले कहिलेकाहीँ बढी र नयाँ प्रकारको आनन्द पनि प्राप्त हुनसक्ला । यस्ता पक्षको खोजी गर्नु राम्रो हुन्छ ।