Comments Add Comment

कथाः सधैँ यस्तै भइदिइरहे !

जेठको उखर्माउलो घाम । घाम झुपडीबाट परपर सर्दै छ त छाया पिँढीबाट तल झरिसकेको छ । उसले अनुमान लगाई, एक त पक्कै बजिसक्यो, चिर्बिरेका बाउ अघि नै आइसक्नुपर्ने हो ।

नदीको किनारसँगै पूर्वपश्चिम तन्किएको यो सुकुम्बासी टोल भोक, रोग र शोकमा लम्पसार परेको छ । यी बामपुड्के छाप्राभित्र गुम्सिएर बाँच्ने थुप्रै चिर्बिरेका आमाहरू तालु तताएर आफ्ना लोग्नेका रिक्साका बाटो कुरिरहन्छन् । यो छाप्रेबस्ती सधैँ नजिकैको नारायणघाट बजारबाट अति अछुत भएर भोक र खालीपनमा पुस्तौँ बाँचिरहेछ । अधिकांश रोगिया ख्याउटे सिसौका डढेका हाँगाबिँगा जस्ता हातखुट्टा भएका वृद्धहरूको दैनिकी उफ ! यो काल पनि कहिले आउँछ बाट सुरु हुन्छ । पूर्णतः  माटाबाट बनेका जस्ता लाग्ने धुलौटे केटाकेटीहरू टोलका पिँढी र आँगनमा छरिएका छन् ।

चिर्बिरे भैँसीको गोठछेउमा खैनीका डब्बाहरूमा भतेर पकाइरहेको छ । तरकारी छ, दाल छ, अनि ठूलो डब्बामा भात । यो भात यो तिहुन, यो अचार अनि यो दूध । चिर्बिरे सबैथोक ठोट्नेको पातमा मिसाइरहेछ, चिउँडोमा माटोको धुलो छुँदै भात खाइरहेछ । साहिँलीले भोको पेटको अनुभव गरी, भित्र कतै दबिएको थियो । साहिँली हेर्छे,र् नि बरै माटोको डल्लोले पेट भरिँदो हो त सबै गरिबका पेट पुस्टिन्थे होलान् ।’

आमा भात खाऊ न ! छोरो पातमा भात ल्याउँछ, आमा बाटोतर्फ एकोहोरिएकी छे, आउनुपर्ने हो ।र् आमा खाऊ न’ चिर्बिरेको एकोहोरो कर । चुप लाग्, आमा भोकको रिस छोरामा पोख्छे । छोरो कोकोहोलो गर्छ । ‘भोक लाग्यो’… ‘भोक लाग्यो’… ‘भोक लागे मर् ।’

‘बा आए, बा आए ।’ चिर्बिरे रुन्चे स्वरमा उफ्रिन्छ । साहिँलीले देखी । हो, उसको लोग्ने आयो, दुई त पक्कै बज्यो होला । उत्तरबाट दक्षिणतर्फ आएको भिरालो ग्राभेल बाटो । रिक्साको पाइडल नमारी उसको लोग्ने झुपडीतर्फ आइरहेछ । दुवै खुट्टा अगाडिको डन्डीमा छन् । काटिएको पाइन्ट, माथिको जीउ नाङ्गै, चर्को घामले डढेर उसको जीउ हाँडीको पिँध भएको छ । रिक्सा खडाइको झुप्रो अगाडि रोकिन्छ । साहिँली भित्रभित्रै गल्दै छ । चिर्बिरे बाउतर्फ दौडिन्छ । साहिँलीलाई थाहा छ उसको लोग्ने भोकै छ । यो पनि थाहा छ भित्र एक बाल्टी पानी सिवाय कही छैन । लोग्नेलाई ऊ अब मात्र खाली कसौडी देखाउन सक्छे । कसौडी पनि उसको पेटजस्तै रित्तो छ । बा बा छोरो बाउको फाटेको पाइन्टमा झुन्डिन्छ । ऊ वास्ता गर्दैन । भएभरको बलले चापाकल थिच्छ । आँखा चिम्लेर पानी पेटमा धकेल्छ । सुख्खा खाली पेट फुलेर आउँछ । टाउको र ढाड खलखली पखालेपछि खडाइको बारमा आड लागेर भुइँमा थेच्चारिन्छ ।

कालो अनुहार घाम र भोकले झन् कालो भएको छ । साहिँली टोलाउँछे । चिर्बिरेको बाउको ढाड, घरभित्रको हाँडीको पिँध र आफ्नो कर्म एकै लाग्छ साहिँलीलाई । कति गर्दा पनि सेतो भागको छनक देखिँदैन । ऊ सोच्छे- हाँडी त आगोले कालो भयो त लोग्नेको ढाड घामले, तर उसको कर्म ?

‘ओइ दमिनी भात ले त ।’

आँगनमा ठूलो भुमरी घुमिरहन्छ । धुलोमा अगाडिको झुप्रो हराउँछ । भुमरी बिस्तारै उत्तरतिर लाग्छ धुलो र कसिंगर समेटेर । तर साहिँलीमा भित्रभित्रै अर्को भुमरी मडारिएर आउँछ । छोरो बाउको अगाडि उफ्रिरहन्छ । ‘तेरो बाउलाई भोक लाग्यो छिटो गर् न ।’

साहिँलाजस्ता रिक्सावालालाई साहिँली मासु-रक्सी पस्किन्थी । उसले त्यहाँ हुँदा आफ्नो र भैँसीको मासु बराबरजस्तो बेची । साहिँलो खाजा पसलको कम र साहिँलीको बढी ग्राहक थियो

साहिँलीसँग जवाफ छैन । छ त केवल खाली पेट र खाली कसौडी । ‘एउटा गेडो चामल छैन घरमा’ दबेको आवाज । साहिँलो रिसले आगो भयो । उसले मेसो पाएन के गर्ने के नगर्ने, के भन्ने के नभन्ने । एक लपेटा छोराको गालामा चड्काउँछ, ‘पाजी काम पाउँदैन ।’

छोरो रुँदै आमातिर दौडिन्छ । साहिँली तर्सिन्छे । साहिँलो जुरुक्क उठेर कम्मरमा बाँधेको सर्ट लगाउँछ । ‘तेरो बाउचाहिँ बिहानभरि गोरुझैँ लादिन्छ, तँचाहिँ एकसितो भात पकाउन सक्दिनस् । बिहानभरि रिक्सा चलायो एक पैसा कमाइ छैन, घरमा आयो एक सिता भात छैन । स्वास्नी त मेरै भई कर लाग्यो, दुनियाँको पाप पनि मैले स्याहार्न पर्नी । दुनियाँको घरमा भाँडा माझ्न जान्छेस् दुई-चार पैसा माग्न सक्दिनस् । कमसेकम भात त पकाउनु पर्छ ।’

ऊ रिक्सा लिएर उकालो लाग्यो । ‘बेलुका मेरो बाटो नकुर् । आफ्नो सुर गरेर मर् ।’

उसको लोग्ने खाली पेट र खाली रिक्सा लिएर हानियो उत्तरतर्फको मूल बाटोतिर । कालो ढाड कतै नबिलाउन्जेल साहिँली टोलाइरही । चिर्बिरे खपाखप भात खाइरहेछ, चिउँडोले । ऊ हेरिरहन्छे । सोच्छे सबै थोक छोड्न सक्छे यो छोरो किन छोड्न सक्दिन ।

एक संयोग ! साहिँलोसँग उसको भेट । यस्तै कालो ढाड र सेता दात टल्काउँदै आउँथ्यो साहिँलो चोकको खाजा पसलमा रक्सी तान्न । साहिँली त्यहाँ भाँडा माझ्थी । भ्याएसम्म साहिँलाजस्ता रिक्सावालालाई मासु-रक्सी पस्किन्थी । उसले त्यहाँ हुँदा आफ्नो र भैँसीको मासु बराबरजस्तो बेची । साहिँलो खाजा पसलको कम र साहिँलीको बढी ग्राहक थियो । ऊ राम्री थिई । धेरै रिक्सावालाहरू यसै भन्थे ।

एक साँझ साहिँलो निकै ढिलो आयो । केही खाएन । साहिँलीले कर गरी, मात्र हाँसेर टाउको हल्लायो । रात कालो हुँदै गयो, सबै गए, साहिँलो गएन । साहिँली भाँडा माझ्दै थिई । एकाएक साहिँलो ठिङ्ग अगाडि उभियो । बत्तीको टहकमा उसका सेता दातबाहेक केही पनि देखिएन ।

‘साहिली मसँग जान्छेस् ।’

‘कहाँ ।’

‘मेरो घर ।’

‘तिम्रो घर छ र ।’

‘हामी गरिबको जहाँ बस्यो त्यही त हो घर !’

‘तँलाई म बिहा गर्छु ।’

ऊ नाजवाफ भई । ऊ थाकिसकेकी थिई बिहा गर्दागर्दै । कतिसँग जाने । जोसँग गए पनि अन्तिममा यही खाजा पसलमा काम गर्न नआई सुखै छैन । उसले कुनै वास्तै गरिन । भाँडा मस्काइरही । ‘सुत, जाऊ रात छिप्पिइसक्यो ।’ उसले सुनेको नसुन्यै गर्‍यो । एकोहोरो लागिरहृयो । मेरो सानो छोरो पनि छ । भाँडा पखाल्दै भनी । ‘तेरो छोरो मेरो पनि छोरै त हो नि ।’ उसले प्रस्टै भनेकी थिई, साहिँलीले सबै छोड्न सक्छे, छोरो छोड्न सक्दिन ।

कुनचाहिँ होला यसको बाउ । उसको मस्तिष्कमा एकाएक धेरै अनुहार झुल्किन्छन् । तर ती अनुहारका भीडमा साहिँलो भने कतै भेटिँदैन । दोष साहिँलाको पनि देख्दिन ऊ । साँझ पर्‍यो अफिस जानेहरू फर्किसके । नौ बजेदेखि कर्फ्यू लाग्छ । सात बज्यो, आठ बज्यो, साहिँलो आएन ।

अँध्यारोमा कालो छायाँभन्दा केही देखिँदैन । छोरो उफ्रियो । बा आए, बा आए । ‘ओइ साहिँली बाहिर आइजा त ।’ ऊ बाहिर निक्ली । हिँडाइमा फूर्ति छ उसको । साहिँलीले बुझी लोग्ने खुसी छ । टुकीको उज्यालोमा देखी उसको लोग्ने प्लास्टिकको साना-ठूला झोला रिक्साबाट निकाल्दै भुइँमा राख्दै छ । दुईवटा झोला उसले भित्र लगी । एउटा साहिँलोले बोक्छ । झोलामा रक्सीका बोतलहरू छन् । अँध्यारोमा आँखा जुधे, दुवैको सन्तुष्टिको टिठलाग्दो मुस्कान छरियो । छोराको हातमा बिस्कुट राखिदिन्छ । ‘मासु र रक्सी त नल्याएको भए पनि हुन्थ्यो ।’ साहिँलीले मनमनै सोची ।

‘मकै खाँदै गर । म भात पकाउँछु ।’

‘भैहाल्यो पहिला मासु पका ।’ लोग्नेको सासमा रक्सी छ । “कमाउनेले खान्छ त नि  !”

“साहिँली तँलाई थाहा छ आज कति कमाइ भयो ।” लोग्नेको तातो सास उसको कान र गर्धनले अनुभव गर्छ ।

“अहँ”, ऊ लोग्नेतिर फर्कन्छे ।

“ठयाम्मै हजार !”

लोग्नेको रवाफिलो र रक्स्याइलो सास उसको नाकैमा ठोसिन्छ । उसको टाउकोले हजार ठम्याउन निकै बेर लगाउँछ ।

“सधैँ यस्तै कमाइ भए, चिर्बिरेलाई बोर्डिङ पढाउन सकिन्थ्यो होला है । तँ पनि दुनियाँको घरमा जुठाभाँडा माझ्न जानु पर्थेन । तर सधैँ यस्तो कहाँ जुर्छ र ।”

बाहिर निस्पट्ट अँध्यारो छ, कुकुर र स्यालको आवाज मिसिएको छ । बाह्र बज्यो होला । चिर्बिरे टाइ र सर्टमा छ । ठूलो कालो झोला बोकेर साहिँली छोराको पछिपछि दौडिरहन्छे ।

साहिँलीको दिमागमा ती चिसा मुर्दा र उसको लोग्नेको तातो बाफिलो जिउ उस्तै-उस्तै लाग्यो । साहिँलो मुर्दाघरबाट लास बोकेर बेतोडले रिक्सातिर कुदिरहेछ । दुईवटा लास छन् रिक्सामा सेता कपडामा बेरिएका । ऊ रिक्साको पाइडल मार्दै छ, उफ्रिँदै छ खुसीले

“तँलाई थाहा छ आज बिहान मुग्लिन नजिकै बस खसेको ।”

“अँ सुन्या थे ।”

“थाहा छ, २० जना मरेछन् ।”

“बिचरा ।”

“पन्ध्र-सोह्र जनालाई भरतपुर अस्पतालमा ल्याएका थिए । सबै मरे ।”

“बिचरा के लाग्छ र ।”

“दुईवटा लास मैले बोक्न पाएँ घाटसम्म । कताको मलामी कताको के ।”

साहिँली झस्की । हँ ? उसको टाइसर्ट लगाएर झोला बोकेको छोरा हरायो ।

साहिँली फरक्क छोरातर्फ फर्की । “भाग्यले मैले पाएँ ओसार्न, तँछाडमछाड भै’राथ्यो, सधैँ यस्तै कमाइ भइरहे हगि साहिँली । चिर्बिरे… ता… जुठा भाँडा… यो खडाइको झुपडी… ऊ रक्सीको सुरमा बर्बराई रह्यो ।”

साहिँलीको दिमागमा ती चिसा मुर्दा र उसको लोग्नेको तातो बाफिलो जिउ उस्तै-उस्तै लाग्यो । साहिँलो मुर्दाघरबाट लास बोकेर बेतोडले रिक्सातिर कुदिरहेछ । दुईवटा लास छन् रिक्सामा सेता कपडामा बेरिएका । ऊ रिक्साको पाइडल मार्दै छ, उफ्रिँदै छ खुसीले । लासै लासको बीचमा साहिँलो उफ्रिरहेछ, कराइरहेछ । ‘सबै मै बोक्छु, सबै मै बोक्छु ।’ सधैँ यस्तै कमाइ भइदिए, उसको लोग्ने बर्बराइरहन्छ । ढुङ्गामा ठोक्किएको बसबाट उछिट्टएिका क्षतविक्षत लास तिनका आफन्तका रोइकराइ लोग्नेको तातो रक्स्याइलो सास, ऊभित्रको सपना ।

साहिँली त्यसै भित्रभित्रै चिस्सिई । ‘सधैँ यस्तै भइदिए ।’ उसले चिर्बिरेलाई बेस्सरी अठ्याई । ‘सधैँ यस्तै भइदिए ।’ लोटाबाट पानीको ठाडो घाँटी लगाई, अघिको मासु र भात हुँडल्लिएला जस्तो छ । उसलाई घेरिरहेछन् ती लासहरूले । ऊ देख्छे अँध्यारोमा कतै बगरमा उसको लोग्ने लास गनिरहेछ । उसका लोग्नेजस्ता थुप्रै अरुहरू पनि तँछाडमछाड गरिरहेछन् । रिक्सामा कोचिरहेछन्, उफ्रिरहेछन् । लोग्ने एकोहोरो बर्बराइरहन्छ, सधैँ यस्तै भइदिए साहिँली… ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment