Comments Add Comment

कविताः बा एक विश्वविद्यालय

आठ दशक लामो

आफ्नै जिन्दगीको विश्वविद्यालयमा

बाले परिश्रम र परिश्रम लेख्नुभयो

उति लामो अध्ययन कालभरि

उहाँले मेहनत र  मेहनत पढ्नुभो

 

ठूलो मान्छे होइन

जीवनमा असल बन्नुपर्छ

भन्नकै लागि कहिल्यै भन्नुभएन

बरु त्यसरी नै बाँच्नुभयो

आफ्नो सिङ्गो जीवन

 

इमान जति ठूलो सम्पत्ति

जीवनमा अर्को केही हुँदैन

यत्ति हो उहाँको जीवन दर्शन

 

हरेस र उदासीलाई

बा देख्नै नसक्ने

थकाइ र आलस्यलाई

लाठो लिएर लखेट्ने

ती कहिल्यै ढिम्किएनन्

उहाँका जीवनको हाताभित्र

 

उहाँका आँखामा

हमेसा दुई सपना सजिन्थे

यौटा नैतिकता

अर्को आत्मविश्वास

 

जीवनको पाठयक्रम उहाँले

टुप्पी कसेर घोक्नुभो

प्रत्येक च्याप्टर कण्ठस्थ गर्नुभो

गर्वको कुरा

जिउनुको परीक्षामा बाले

सधैँ उत्कृष्ट अङ्क ल्याएर पास गर्नुभो

 

म एक विद्यार्थी

बाकै विश्वविद्यालयमा अध्ययन गरिरहेछु

आदर्श जीवनको उच्च शिक्षा !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment