Comments Add Comment

५० वर्ष जेठा-कान्छा योजना र कार्यशैली !

हामी यति निराश भइसक्यौँ कि हामीलाई लाग्न थाल्यो- समाजमा राम्रा र क्षमतावान मान्छेहरु नै छैनन् ? आखिर किन हाम्रो समाज पछाडि परिरहेको छ ?

हामी विकास र समृद्धिमा त सैयौँ वर्ष पछाडि पर्‍यौँ, तर हाम्रो समाजमा सबै नराम्रा मानिसहरु मात्रै छैनन् । केही मानिसहरु समाज रुपान्तरणमा साँच्चिकै योगदान गर्नसक्ने क्षमता भएकाहरु पनि यही समाजमा छन् ।

पाल्पाको दुर्गम र अविकसित क्षेत्र भनेर चिनिने झिरुवास अहिले कबुलियती वनको विकासका कारणले त्यहाँका जनताको जीवनस्तर परिवर्तन गर्न मात्र होइन, दुई तीन वर्षको अवधिमा नै उत्कृष्ट पर्यटकीय गन्तब्यको रुपमा रुपान्तरण हुन पुग्यो र अहिले ग्रामीण विकासका अध्येयताहरुलाई अध्ययनको थलो बनेको छ । ईलामको चिया बगानलाई माथ गर्ने अम्रिसो बगान बनेको छ र यो चर्चाको शिखरमा छ । यो ख्यालख्यालमा बनेको होइन । वन अधिकृत नारायणदेव भट्टराई र वन प्राविधिक रामचरण चौधरीको उक्त सपना पूरा गर्ने अठोट र प्रतिवद्धतासहितको खटाइको छोटो समयको परिणाम थियो, त्यो काम ।

यस्तै विभिन्न क्षेत्रमा क्षमतावान र परिवर्तनको अनुभूति दिलाउन सक्ने मान्छेहरु छन् हाम्रो समाजमा । तर, उनीहरु समाज रुपान्तरणको महाअभियानमा सहभागी हुन सकेका छैनन् । कारण विभिन्न छन्, उनीहरु राजनैनिकरुपमा फरक विचार र पृष्ठभूमिका हुन सक्छन् ।

उनीहरुसँग भएको क्षमतालाई प्रोत्साहन र सम्मान गर्दै उनीहरुको योगदानबाट फाइदा लिन सक्ने नेतृत्व तहमा पुगेका मानिसहरुसँग क्षमता छैन । काम गर्ने क्षमता हुँदाहुँदै पनि पदीय हैसियत र स्तरको कारण बञ्चित छन् । काम गर्न अगाडि सर्‍यो भने समाजमा नकारात्मक टिप्पणी र आलोचनाले हतोत्साही बनाउन सिंगो समाज लागिपर्छ ।

अवसर प्रदान गर्दा कामको जस आफूले नपाउने र अर्कोले पाउने चिन्ता हुन्छ । कामको नतिजाभन्दा आफूलाई हुने प्रतिफलप्रति बढी चासो र चिन्ता हुन्छ । यी र यस्तै विभिन्न कारणहरुले गर्दा समाजमा भएका क्षमतावान मानिसहरुबाट समाज र राज्यले नतिजामुखी फाइदा लिन सकेको छैन ।

हामीसँग कार्यक्रम र योजना पनि नभएका होइनन् । सबै राजनैतिक दलका प्रगतिशील घोषणापत्र छन् । संविधान, नीति, नियम, ऐन, कानुन, निर्देशिका सबै छन् । ती सबैमा विकास र समृद्धिका लागि बनाइएका योजना र कार्यान्वयनका विधिविधान छन् ।

स्थानीयदेखि केन्द्र सरकारसम्म तीन तहका अधिकारसम्पन्न सरकारहरु छन् । ती सरकारका कार्यान्वयन निकायमा विभिन्न अंग, कार्यालयहरु र विभिन्न निकायहरु क्रियाशील छन् । नियमितरुपमा सबै कार्यालयहरु खुल्छन् । आवश्यकता भन्दा बढी कर्मचारीहरु पनि कार्यरत छन् तर, कर्मचारिको कामबाट नतिजा निस्कनेभन्दा रोजगारी र जागिर खानुमै केन्द्रित छ । प्रतिफल त परै जाओस्, सेवाग्राहीले मीठो बचन पाए मात्रै खुसी हुनुपर्ने अवस्था छ ।

उदाहरणका लागि एउटा निजी स्तरको बैंकमा हामी सेवाग्राही बनेर जाँदा त्यहाँ रहेका दुई तीनजना कर्मचारीहरुले मात्र पनि सेवाग्राहीरुलाई सन्तुष्ट बनाउँदै छिटो छरितो र सुलभ सेवा प्रदान गरिरहेका हुन्छन् । तर, त्यसको विपरीत कुनै बैंकमा २० औं जना कर्मचारीहरु कार्यरत छन् । तर, उनीहरुलाई फुर्सद छैन । सेवाग्राहीहरु सेवा लिन जाँदा निसास्सिनुपर्ने अवस्था छ ।

हाम्रा योजनाहरु अग्रगामी छन् । तर, योजना र कार्यशैली ५० वर्ष जेठा-कान्छा छन् । यस्तो किसिमको व्यवस्थापकीय क्षमता र कार्यशैलीमा आमूल परिवर्तन नभएसम्म हामीले खोजेको समृद्धि र नतिजामुखी विकास सम्भव देखिँदैन

आखिर चुस्त व्यवस्थापन गर्न सके त थोरै मान्छेबाट पनि धेरै काम लिन सकिँदोरहेछ त । हाम्रो व्यवस्थापकीय क्षमताप्रति हामी संवेदनशील बन्न सकेनौँ । यस्तै हरेक क्षेत्रमा नतिजा शून्य छ, काम परम्परागत छ, खर्च अधीक छ, प्रतिफल छैन ।

हाम्रा योजनाहरु अग्रगामी छन् । तर, योजना र कार्यशैली ५० वर्ष जेठा-कान्छा छन् । यस्तो किसिमको व्यवस्थापकीय क्षमता र कार्यशैलीमा आमूल परिवर्तन नभएसम्म हामीले खोजेको समृद्धि र नतिजामुखी विकास सम्भव देखिँदैन । यसर्थ हामीले नतिजामुखी विकास र समृद्धिको लागि हाम्रो सोँच र व्यवस्थापकीय कार्यशैलीमा सुधार गर्नैपर्छ ।

विशेष गरी अहिले संघीयताको अभ्याससँगै स्थापित स्थानीय र प्रदेश सरकारहरु यसमा निकै गम्भीर हुन जरुरी छ । सरकारले जुनसुकै क्षेत्रका क्षमतावान र नतिजामुखी जनशक्तिहरुलाई अवसर प्रदान गरेर परिवर्तनको अभियानमा जबसम्म सहभागी गराउन सक्दैन, समाजमा प्रतिभा पलायनको खतरा उति नै बढ्दै जान्छ । अवसरको खोजीमा मानिसले कि त देश बाहिरकै सपना देख्न थाल्छ, या त निजी क्षेत्रले उसलाई प्रयोग गरेर व्यवसायिक सफलता प्राप्त गर्दछ ।

हालैमात्र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट निजगढ विमानस्थलमा सरुवा हुनुभएका इञ्जिनियर ओम शर्माले सिद्धबाबा सडकको सन्दर्भमा अत्यन्तै महत्वाकांक्षी डिजाइन प्रस्तुत गर्नुभएको छ, सिद्धबाबाको सडकलाई सुरक्षित बनाउँदै पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने वहाँले योजना, बजेट र समयसीमासहितको बिस्तृत परियोजना समेटिएको कार्यक्रम ५ नं. प्रदेश सरकारमा पेश गरेको कुरा सञ्चार माध्यममा आएका छन् । मात्र तीन अर्ब बजेटमा ड्रागन टनेलसहित सिद्ध लेकसमेत निर्माण गर्न आफू सक्षम रहेको र दुई बर्षभित्र दुवै परियोजना पूरा गर्न सक्ने उहाँले बताउनुभएको छ ।

साँच्चै नै यस्ता क्षमतावान ब्यक्तित्वहरु विकासको मामिलामा सरकारलाई साथ दिन आउँछन् भने उनीहरुको साथ सरकारले किन नलिने ? सिद्धबाबा सडक पाल्पाको पर्यटन विकासमा मात्र होइन, पाल्पाको समग्र विकासको बाधक हो । पाल्पा जिल्लामा खर्चिने दुई बर्षको सबै बजेट यही सडकको लागि मात्र छुट्याएर सुरक्षित सडक निर्माण पश्चात अन्य विकासमा बजेट खर्च गर्न पनि पाल्पाबासीहरुको आपत्ति छैन । पर्यटकीय लुम्बिनी र पोखरा जोड्ने मुख्य राजमार्ग मृत्युमार्गको रुपमा रहिरहनु राष्ट्रकै लागि अभिशाप हो ।

यहाँ कुरा अब जस, अपजस, फाइदा, बेफाइदा, पार्टीभित्र, बाहिर, आफ्नो, अर्काको, सानो ठूलो, केही नभनी समृद्धिको मात्र हो । अब समृद्धिको लागि योगदान गर्न सक्ने ब्यक्तिहरुको रोष्टर तयार गरौँ । हामीले हरेक क्षेत्रमा सुधार गर्नुपर्नेछ । सबै क्षेत्र लथालिङ्ग छ । प्रदेश सरकारले प्रदेशभित्रका क्षमतावान प्रतिभाहरु र स्थानीय सरकारले स्थानीय तहभित्रका प्रतिभाहरुलाई विकास र समृद्धिको योजनामा सहभागी गराऔँ ।

यहाँ मानिसहरु क्षमता र सीप सस्तोमा बेचिरहेका छन् । हामी महंगोमा सपना खरिद गरिरहेका छौँ । हामी सस्तो मूल्यमा हाम्रा बहुमूल्य सपना साकार पार्न सक्छौँ । समाजमा कोहि कृषि क्षेत्रमा अभियान चलाउन सक्ने प्रतिभा होलान् । कोही ईन्जिनियर होलान्, कोही डाक्टर होलान्, कोही पर्यटनका विज्ञ होलान्, कोही सामाजिक अभियन्ता होलान्, यस्ता विज्ञहरुको टिम बनाऔँ । यो टिमलाई पर्याप्त पुग्ने गरी श्रोतसाधन उपलब्ध गराऔँ । ता कि, उसलाई अन्यत्र आँखा लगाउन नपरोस् ।

सरकारभित्र नतिजामुखी परिवर्तनका लागि  काम गर्न सक्ने क्षमतावान जनशक्ति को-को छन् र कति छन् ? पहिचान गरौँ र तत्कालै उनीहरुसँग समृद्धिको सम्वाद सुरु गरौँ

देश विदेशका नमूना र सिक्नुपर्ने स्थानहरुमा अध्ययन अवलोकन गराऔँ र उनीहरुलाई सुतेको समाज ब्यूझ्याउने कार्यमा निरन्तर परिचालन गरौँ । महत्वाकांक्षी योजना बनाउन लगाऔँ ।

कार्यान्वयन हुने मात्र कुरा लेखौँ ।  हजार पृष्ठका दस्तावेजले अहिलेसम्म विकास गर्न सकेनन्, यो कुरालाई मनन गरौँ । काम गर्नका लागि समय सीमा तोकौँ । अभियन्ताहरुको टिमलाई प्रत्यक्ष सरकारको मातहतमा राखौँ । सबै क्षेत्रका विज्ञ अभियन्ताहरु यसमा सहभागी गराऔँ । उनीहरुको कार्यशैली परम्परागत नभई आक्रामकरुपमा हुनेछ, जसबाट छोटो समयमै प्रभावकारी नतिजा सरकारले प्राप्त गर्न सक्नेछ ।

स्वास्थ्य क्षेत्रको विज्ञ अभियन्ताले समग्र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउन के-के गर्नुपर्ने हो, सबै काम गर्न सरकारलाई सहयोग गर्ने, पर्यटन क्षेत्रको विज्ञले पर्यटन विकासका लागि गर्नुपर्ने सबै काम गर्ने, यस्तै हरेक क्षेत्रका विज्ञ अभियन्ताले स्वतःस्फूर्त राष्ट्रनिर्माणका लागि आफ्नो भएभरको शक्ति लगाउने, सरकारहरुले ईमान्दारीपूर्वक महत्वाकांक्षी योजनाहरु कार्यान्वयनमा सहयोग गर्ने, कुनै ऐन कानुन बाधक भए तत्काल परिवर्तन गर्ने, आवश्यक श्रोत साधनको कमी हुन नदिने, निजी क्षेत्रसँग सहकार्य गर्ने, सकारात्मक सोचका साथ काम गर्ने साथै विकास र समृद्धिको अभियानमा सहभागी हुन आम जनतालाई उत्प्रेरित गर्नेखालका नविन र प्रभावकारी कार्यक्रम फरक ढंगले नल्याएसम्म अहिले स्थापित सरकारहरुले पाँच वर्षभित्र जनतालाई देखाउन सकिने र निर्वाचनमा गरेका प्रतिवद्धता अनुरुपका कार्यहरु पूरा हुन सक्ने कदापी देखिँदैन ।

तसर्थ कार्यशैली परिवर्तन गरौँ, व्यवस्थापकीय क्षमतामा सुधार गरौँ । सरकारभित्र नतिजामुखी परिवर्तनका लागि  काम गर्न सक्ने क्षमतावान जनशक्ति को-को छन् र कति छन् ? पहिचान गरौँ र तत्कालै उनीहरुसँग समृद्धिको सम्वाद सुरु गरौँ । परिवर्तनका लागि केही गर्न सकिन्छ कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment