Comments Add Comment

एसिया कप आजबाट, कुन टिम कस्तो ?

३० भदौ, काठमाडौं । एसिया कप क्रिकेट भोलिदेखि युएईमा सुरु हँुदैछ । असोज १२ गतेसम्म आयोजना हुने एसिया कप विश्वकपपछि दोस्रो सर्वाधिक रुचाइएको प्रतियोगिता हो ।

६ टिमले प्रतिस्पर्धा गर्ने यो प्रतियोगितामा कुन टिम कस्तो छ ? पछिल्लो समयमा हेर्ने हो भने नतिजामा ठूला टिम मात्रै होइन, एसिया कप छनोटमा च्याम्पियन बनेको हङकङ र करिब एक वर्षअघि मात्रै टेष्ट क्रिकेटको मान्यता पाएको अफगानिस्तान पनि बलियो टिमको रुपमा प्रस्तुत भएका छन् ।

समूह ए – भारत, पाकिस्तान, हङकङ

३१ भदौः हङकङ भर्सेस पाकिस्तान
२ असोजः हङकङ भर्सेस भारत
३ असोजः पाकिस्तान भर्सेस भारत

भारत

एसिया कपमा प्रतिस्पर्धा गर्ने राष्ट्र मध्ये शक्तिशाली टिम हो भारत । ५ पटक एकदिवसीय र एक पटक टी-ट्वान्टी फम्र्याटको एसिया कपको उपाधि उचालेको भारत सर्वाधिक सफल टिम हो ।

भारतलाई क्रिकेटको पावर हाउस मानिन्छ । यो पटकको एसिया कपमा भारतका नियमित कप्तान विराट कोहली भने छैनन् । विराटको स्थानमा भारतको कप्तानी रोहित शर्माले सम्हाल्दैछन् ।

यो पटक भारतको टिम निकै सन्तुलन र बलियो देखिएको छ । कप्तान रोहित शर्मा, पूर्वकप्तान तथा अनुभवी खेलाडी महेन्द्रसिंह धोनी, शिखर धवन, दिनेश कार्तिक, लोकेश राहुल, अम्बती रायुडु, मनिष पाण्डे, केदार जाधाव, हार्दिक पाण्ड्या जस्ता ब्याट्सम्यान रहेका छन् ।

बलिङ पक्ष पनि भारतको निकै बलियो छ । फाष्ट बलर भुवनेश्वर कुमार, जसपि्रत बुम्रा, स्पिनर कुलदीप यादव, अक्षर पटेल, युजवेन्द्र चाहाल लगायतका खेलाडीले बलिङ पक्ष सम्हाल्ने छन् ।

पाकिस्तान

आफ्नै घरेलु मैदानमा क्रिकेट प्रतियोगिता आयोजना गर्न नपाएपनि अन्तर्राष्ट्रिय जगतमा पाकिस्तानको सधै प्रदर्शन उच्च हुने गरेको छ । पछिल्लो पटक सन् २०१७ मा पाकिस्तानले आईसीसी च्याम्पियन्स ट्रफिको फाइनलमा भारतलाई १८० रनको भारी अन्तरले पराजित गर्दै उपाधि उचालेको थियो ।

यो पटक पनि भारत र पाकिस्तान एउटै समूहमा छन् । पाकिस्तानको बलिङ कसिलो हुनको साथै ब्याटिङ पनि उतिकै राम्रो छ । पछिल्लो समयमा पाकिस्तानको ब्याटिङ युवा टिमले धानेको छ ।

फखर जमान, बाबर अजाम, इमाम उलहक, शोइब मालिक, सर्फराज अहमेद जस्ता ब्याट्सम्यानले पाकिस्तानको ब्याटिङ सम्हाल्ने छन् । पाकिस्तानका शादब खानले स्पिन बलिङको लिड गर्ने छन् । १९ वषर्ीय खानले २२ एक दिवसीय खेलबाट ३३ विकेट लिइसकेका छन् । त्यस्तै, मोहम्मद अमिर, हसन अली र नयाँ खेलाडी शाहिन अफ्रिदी पाकिस्तानका राम्रा बलर हुन् ।

हङकङ

हङकङ एसिया कप छनोटको च्याम्पियन बन्दै एसिया कपमा पुगेको हो । खराब सुरुवातको बाबजुत उत्कृष्ट पुनरागमन गर्दै फाइनलमा युएईलाई पराजित गरेको हङकङ उच्च मनोबलमा छ ।

हङकङले एकदिवसीय राष्ट्र नेपाल र युएईलाई उछिन्दै एसिया कप खेल्ने अवसर पाएको हो । हङकङको राम्रो पक्ष भनेकै बलिङ हो । स्पिनर र मिडियम पेसर बलरले हङकङको खेल उकास्ने गरेको छ ।

तानविर अफ्जल, ऐजाज खान, इसान नवाज जस्ता राम्रा बलरले विपक्षीलाई धरापमा पर्ने गरेको छ । ब्याटिङ पक्ष भने हङकङको कप्तान अंशुमान रथ र पूर्वकप्तान बाबर हायतमा निर्भर हुनुपरेको छ ।

समूह बी- श्रीलंका, बंगलादेश, अफगानिस्तान

३० भदौः बंगलादेश भर्सेस श्रीलंका
१ असोजः अफगानिस्तान भर्सेस श्रीलंका
४ असोजः अफगानिस्तान भर्सेस बंगलादेश

श्रीलंका

पछिल्लो समयमा श्रीलंकाका टिममा धेरै खेलाडी हेरफेर भएको छ । टिमको सन्तुलन र खेलाडीमा तालमेल हुन नसक्दा टिममा खेलाडीको आगमनसँगै बाहिरिने भइरहेको छ ।

श्रीलंकाको कुनै बेला बलियो ब्याटिङ मान्थ्ियो तर, पछिल्लो समयमा आरोह अबरोह भइरहेको छ । यद्यपि एसिया कपको लागि यो पटक अपेक्षाकृत रुपमा सन्तुलित टिम बनेको मानिएको छ ।

मुख्य खेलाडी दिनेश चन्डिमाल र विकेट किपर ब्याट्सम्यान दनुश्का गुनाथिलका चोटका कारण खेल्न नसक्ने भएपछि श्रीलंकालाई निकै समस्या भएको छ । करिब एक वर्ष लामो अवधीपछि टिममा फर्किएका लासिथ मालिंगाको उपस्थितिले श्रीलंकालाई केही हदसम्म राहत दिएको छ ।

एन्जेलो मेथेवसको कप्तानीमा एसियाक कप खेल्न लागेको श्रीलंकाका लागि स्पिनर अकिला दनन्जय मुख्य हतियार हुनसक्छ । उनले पछिल्लो खेलमा दक्षिण अफ्रिकाविरुद्ध २९ रन खर्चेर ६ विकेट लिएका थिए ।

बंगलादेश

बंगालदेश क्रिकेटमा उदीयमान टिम हो । बंगालदेशले पछिल्लो समयमा खेलेका १० मध्ये पाँच खेल जितेको छ भने पाँच बटै हारेको छ ।

सेमिफाइनल पुग्ने दाबेबार राष्ट्रको रुपमा मानिएको बंगालदेशको कप्तानीको भूमिका मोर्टाजाले गर्दैछन् । पछिल्लो समयमा बंगलादेशी खेलाडीले ब्याक्तिगत प्रदर्शनमा धेरै सुधार गरेका छन् । सकिब अल हसन, तमिम इक्बल, महमुदुल्लाह, मुश्पिmक्युर रहिम, मुस्ताफिजुर रहमान, लिटोन दास जस्ता अनुभवि खेलाडी बंगलादेशका मुख्य हतियार हुन् ।

अफगानिस्तान

क्रिकेटमा ठूूलो छलाङ मारेको राष्ट्र हो, अफगानिस्तान । यो अर्थमा पनि सफल टिम हो कि उसले उमेर समूहदेखि सिनियर टिमले प्रत्येक विश्वकप र ठूला प्रतियोगिता खेल्दै आएको छ भने त्यहि अनुसार सफलता पनि हात पारेको छ । यसअघि जिम्बाब्वेमा सम्पन्न विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बनेको टिम हो ।

एकपछि अर्को फड्को मार्दै अघि बढेको अफगानिस्तान सन्तुलित टिममै गनिन्छ । अफगानिस्तान अहिले आईसीसीको फुल मेम्बर हो ।

अफगानिस्तानको ब्याटिङ बलिङ दुबै पक्ष बलियो छ । ब्याटिङमा कप्तान अश्गर अफ्गान, मोहम्मद शाहजाद, समिउल्लाह शेनवारी, मोहम्मद नाबी, मुनिर अहमद, जादेब अहमदी, जस्ता अनुभवी ब्याट्सम्यान छन् ।

बलिङतर्फ विश्वका उत्कृष्ट स्पिनर रसिद खान, मुजिब उर रहमान, नजिबुल्लाह जाद्रान जस्ता बलर छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment