Comments Add Comment

प्रदेश ७ मा बुन्ढुनी पर्व मनाइँदै

१ असोज, डडेल्धुरा । प्रदेश ७ मा हरेक वर्ष असोज संक्रान्तिका दिनलाई बुढी पोल्ने पर्वका रुपमा धुमधामका साथ मनाइने गरिन्छ । यसलाई स्थानीय ‘बुन्ढुनी पर्व’ पनि भनिन्छ ।

प्रत्येक वर्ष असोज संक्रान्तिका दिन पुतनालाई भगवान श्रीकृष्णले मारेको उत्सवका रुपमा बुन्ढुनी पर्व सुदूरपश्चिममा मनाउने गरिन्छ ।

यो पर्वमा गाईबस्तु हेर्ने गोठालाहरुले भाद्र संक्रान्ति अर्थात ओल्के पर्वको दिन सल्ला, बाँस लिङगो आदि रुखहरु काटेर बनाएको बुढीलाई पोल्ने चलन छ ।

द्वापर युगमा राक्षसनी पुतनाले राजा कंशको आदेशले भगवान श्रीकृष्णलाई दूधको रुपमा विष पिलाएर मार्न खोजेको कुरा कृष्णले थाहा पाएर उल्टै पुतनाको वध गरेको खुसीयालीमा सुदूरपश्चिममा यो पर्व मनाउने गरिन्छ ।

पुतना दहनका लागि शनिबार साँझ सबै घरबाट काँस, अमि्रसोलगायत पाँच जातको घाँसले बेरेको राँको बनाएर बुढी पोल्ने ठाउँमा लैजाने गरिन्छ । दोबाटोमा जलाएको पुतना राक्षसनीको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाइदिने चलन छ । बुढी पोल्दा लुतो फाल्ने भन्दै युवाहरु काँक्रो चपाउँदै थुक्ने पनि गर्दछन् र नाम पुकार्दै लुतो लैजा भन्दै नाचगान गर्ने गरिन्छ ।

साँझ आकाशमा तारा चम्केपछि मात्रै राक्षसनी पुतनाको पुत्ला दहन गरिन्छ । यसो गर्दा पशु चौपायमा कुनै रोग नलाग्ने विश्वास रहेको छ । पुत्ला दहन गर्दा ‘बुढीलाई पोल गाईबाच्छा पाल’ भन्ने गरिन्छ ।

यो पर्व डडेल्धुरा लगाएत सुदूरपश्चिमका बैतडी, दार्चुला, बझाङ, अछाम, बाजुरा र भारतको कुमाउ गढवालमा पनि मनाउने चलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment